• मंसिर १२ २०८१, बुधबार

जेष्ठ ६ : नेत्रलाल ‘अभागी’का सम्झनामा पोखिएका शब्द

जेष्ठ ६ २०७८, बिहीबार

दङ्गाली कम्युनिस्ट आन्दोलनका धरोहर सहिद नेत्रलाल पौडेललाई आज धेरैले स्मरण गरेका छन् । कम्युनिस्ट आन्दोलनमा लागेर उनले राजनीति, समाज, संस्कृति र अर्थतन्त्र लगायतका समग्र विषयलाई लिएर गरेको संघर्ष र बलिदानीको गौरवमय इतिहासका कारण  उनलाई सम्झने गरिन्छ ।

निरंकुश पञ्चायती व्यवस्था विरुद्ध जनतालाई संगठित गर्दै सामन्त र सुदखोरका विरुद्ध लड्नेक्रममा २०४१ साल जेष्ठ ६ गते उनको रहश्यमय तरिकाले हत्या भएको थियो । हत्या भएपछि पनि धेरै समयपछि मात्र उनको शव जंगलमा फेला परेको जानकारहरु बताउँछन् । आज प्रकासित मिडियाहरुले उनको नेपाली कम्युनिस्ट आन्दोलनमा खेलेको भूमीकालाई लिएर उनका बारेमा सामग्री प्रकाशन गरेका छन् ।

यसैबीच दाङका चर्चित माओवादी नेता नारायणप्रसाद शर्मा र रुकुम घर भइ लामो समयदेखि दाङलाई कर्मथलो बनाई पत्रकारिता पेशामा कृयाशील पत्रकार नरेन्द्र केसीले उनै कम्युनिस्ट क्रान्तिकारी सहिद नेता नेत्रलाल अभागीको बारेमा सामाजिक सञ्जालमा केही सामग्री राखेका छन् ।

माओवादी जनयुद्धमा माथिल्लो तहमा रहेर काम गरेका माओवादी नेता नारायण शर्मा अभागीका बारेमा लेख्छन् ।
‘अघिल्ला अभागीलाई पछिल्ला अभागीको श्रद्धाञ्जली ।
हाम्रा अति आदरणीय क्रान्तिकारी नेता, दङ्गाली वर्ग संघर्षका योद्धा, धेरै दङ्गाली कामरेडहरुका गुरु एवं एक सशक्त राष्ट्रिय राजनीतिक र साहित्यिक व्यक्तित्व क. नेत्रलाल पौडेल ‘अभागी’ म एक वैचारिक अनुयायी, अभागी नामको अनुकर्ता, पुख्र्यौली बन्धु, नाता सम्बन्धले आफन्त, एकदिने शैक्षिक चेलो आदि विविध पक्षका तर्फबाट हार्दिक सम्झना, भावपूर्ण श्रद्धाञ्जली तथा क्रान्तिकारी सलाम ।
साथमा उहाँको यो प्रसिद्ध कविता वाचन, श्रवण, मनन र कार्यान्वयनको लागि आज सर्वाधिक सान्दर्भिक, अत्यावश्यक र महत्वपूर्ण भएकोले प्रस्तुत :
सतिसाल मात्र ठिङ्ग उभिन सक्छ
आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडिमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर, मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडिमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसालमात्र ठिङ्ग उभिन सक्छ ।
यसैबीच पत्रकार नरेन्द्र केसीले पनि क्रान्तिकारी नेता, सहिद, प्रगतिवादी साहित्यकार नेत्रलाल अभागीलाई स्मरण गरेका छन् । अभागीले लेखेको कविता सहित केसीले सामाजिक सञ्जालमा पाठकहरुका लागि सामग्री पस्केका छन् ।
यसरी रुप र रंग मिल्दछ ठ्याम्मै दमन ध्वजको (दमनध्वज बर्दियाका सामन्त)
शान र मान हुबहू मिल्छ नरबहादुर कप्तानको (दाङका लठैत सामन्त)
तुलो छ एकै, तराजु एकै घर्तीगाउँ ओसेको (घर्तीगाउँका सुदखोर)
आँखामा हप्की–दप्कीको भाव नाच्दछ मल्लको (पर्वत जिल्लाका सामन्त)
अश्लील गाली पस्कने मुख गिरिराज बाजेको (प्युठानका सामन्त)

हकार्दाखेरी मुहारमा नाच्ने अदब जंगेको
यो देउता हैन, यो प्रभु हैन, होइन यो मानव
यो भेगभरि रजाइँ गर्ने मानवता दानव
को लड्नसक्छ, को भिड्नसक्छ, लौ बोल्न को सक्छ ?
थुकेको थुक नाघेर पारी, लौ जान को सक्छ ?
स्थानीय अवतार जंगको हो यो, जंगेको शासन
चलाइकन बस्दछ कस्तो गरेर चयन
केसी अगाडी लेख्छन्,‘नेत्रलाल अभागीले २०२७ मा लेखेको खण्डकाव्यको अंश हो यो । उहाँ पार्टी कामको सिलसिलामा रोल्पा बसेको बेला त्यहाँको सामन्तवाद र त्यसविरुद्धको जनताको संघर्ष कथा लेख्ने क्रममा उहाँले यो काव्य लेख्नु भएको हो । तर काव्य २०३६,०३७ मा प्रहरी दमनमा हराएपछि फेला परेको जति मात्र काब्यको रुपमा संकलित छ । यसमा २००७ सालभन्दा अगाडिको नेपाली समाजको चित्रण गरिएको छ ।
यसको मूल कथा सत्य घटनामा आधारित थियो । किउरीका सामन्त नारायण चन्द विरुद्ध त्यहाँका सयौं किसान एकताबद्ध भएर २००४,०५ सालतिर गरेको संघर्षका र कम्युनिष्ट आन्दोलनका प्रथम सहिद कामी बुढाको नेतृत्वमा गरिएको जाली फटाहा र जिम्दार बिरोधी पहिलो सेबोटेज समेटिएको यो महत्वपूर्ण दस्तावेज पनि हो ।
मैले राजनीति शास्त्र स्नातकोत्तर तहमा नेपालका प्रथम कम्युनिष्ट सहिद कामी बुढाको जीवनीबारे थेसिस गर्दा ‘अभागी’को यो काव्यलाई पहिलो आधिकारिक दस्तावेजको रुपमा प्रयोग गरेको छु र त्यसलाई अनुसूचिमा जस्ताका तस्तै पनि राखेको छु । आज जेठ ६ उहाँलाई सम्झने दिन, नेपाली कम्युनिष्ट आन्दोलनका नेता एवं सामन्तवाद विरोधी आन्दोलन अथक यौद्धा नेत्रलाल अभागीप्रति भावपूर्ण श्रद्धाञ्जली ।

नेत्रलालका बारेमा  जानकारी :

नेत्रलाल पौडेल ‘अभागी’ दङ्गाली कम्युनिस्ट आन्दोलनका अगुवा हुन् । राजनीतिको मैदानमा खट्दै गर्दा पञ्चायतकालमै उनी मारिए तर उनको जीवनको सबैभन्दा महत्वपूर्ण पाटो राजनीति हो । यति हुदाँहुदै पनि उनको प्रगतिवादी साहित्यिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेको छ । सहिद नेत्रलाल पौडेलको चर्चित कविता सङ्ग्रह ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ का कविताहरू सामाजिक विषमता, परिवर्तन, प्रकृति, जीवन दर्शन, शत्रुता–मित्रता, विभिन्न चुनौतिहरू, धर्म, संस्कृति, परम्परा आदि विषयसँग सम्बद्ध छन् । हाल नेपाली साहित्यिक जगतमा ‘सतिसाल’ शब्द अलङ्कारको रुपमा समेत विकसित र स्थापित भएको छ ।

नेत्रलाल पौडेलको जन्म वि.सं २००१ पुस २७ गते दाङ जिल्लाको धर्ना गाविस वडा नं २ सिसैपुर गाउँमा भएको हो । उनको राजनीतिक जीवन जम्मा १९ वर्षको छ । त्यसमा पनि ११ वर्षे पूर्ण भूमिगत कठोर राजनीतिक यात्रा उनको राजनीतिक जीवनको उत्कर्षको समय हो । उनी नेपाली वामपन्थी आन्दोलनका एक महत्वपूर्ण व्यक्ति हुन् । उनको राजनीतिक चासोमा वृद्धि वि.सं २०११ सालतिर आफ्नै गाउँमा शिक्षक विद्यार्थीमार्फत् कम्युनिस्ट गतिविधि सञ्चालन भएदेखि सुरु भयो ।

नेत्रलाल अभागीले वि.सं २०२२ सालमा बीए अनर्सको अध्ययन पूरा गरे । वि.सं २०२३ बाट नेत्रलालले राजनीति र शिक्षण पेसालाई एकैसाथ अँगाले । वि.सं २०२३ मा केन्द्रको पुष्पलाल समूह निकट रहेर अर्घाखाँची र गुल्मीको संयुक्त प्रनेकपा जिल्ला कमिटीमा रही काम गर्ने क्रममा उनले वि.सं २०२३ मा नै कम्युनिस्ट पार्टीको गौरवपूर्ण सदस्यता प्राप्त गरे । उनी पार्टी सदस्य बनेपछि त्यहाँ सङ्गठित भएर काम गर्न थाले । यस क्रममा उनले शिक्षण, राजनीति र साहित्य तीनै क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरे ।

वि.संं २०३१ मा भएको चौथो महाधिवेशन पश्चात् नेत्रलाल सुदूरपश्चिमको क्षेत्रीय ब्युरोको सदस्य बने । नेत्रलाल यसरी राजनीतिमा आउने क्रममा वि.सं २०३० श्रावण २५ गतेदेखि पूर्णरूपमा राजनीतिक गतिविधिमा समर्पित हुन भूमिगत जीवनको यात्रा सुरु गरेका थिए । उनी वि.सं २०३६ साउनमा नेकपा (माले)को केन्द्रीय सदस्य बने । वि.सं २०३६ आषाढ ४ गतेदेखि दाङ जिल्लामा सुरु भएको आन्दोलनको नेतृत्व नेत्रलालले गरे । वि.सं २०३६ को दाङको किसान आन्दोलनको नेतृत्व गर्दै नेत्रलालले जमिन्दार, शोषक, सामन्तको भकारी फोडी किसानहरूलाई वितरण गर्न थाले ।

उनको नेतृत्वमा शोषकलाई मोसो दल्ने, हलो–ज्वालीमा नारेर हलगोरु झैँ जोत्ने जस्ता जनकारबाही पनि भए । उनले किसानहरूलाई सङ्गठित गराई मोही बेदखली विरुद्ध, सार्वजनिक जग्गामा जग्गाधनीको हस्तक्षेप विरुद्ध किसान विद्रोह गराए । नेत्रलालले यसरी आन्दोलनमा आफू पनि प्रत्यक्ष सरिक भई र पीडित किसानहरूलाई पनि सहभागी गराई आफू पनि अत्यन्त जनप्रिय बन्दै किसानहरूमा वर्गीय चेतना र राजनीतिक जागरण ल्याउने क्रान्तिकारी भूमिका निर्माण गरे ।

आफ्नो पूरा जीवन पार्टी र समाज परिवर्तनका लागि निर्भिकता र इमान्दारिताका साथ अर्पण गरेका अभागी २०४१ साल जेठ ६ गतेका दिन पार्टी कामका लागि दाङबाट देउखुरी जाँदै गर्दा चैलाही गाविस थरिकोट फेँदी बौराह खोलानजिक सुकेखोलाको किनारमा उनको मृत्यु भएको हल्ला  फैलियो यो । यो मृत्यु थियो वा ‘हत्या’ ? आजसम्म पनि रहश्यमय बनिरहेको छ ।

उनले बाल्यावस्थामै नेपालको राणाविरोधी राजनीतिक गतिविधि र वि.सं १९९७ को सहिद काण्डको घटना विवरण बुझ्ने मौका पाएका थिए । यसबाट उनको बालचेतनामा गहिरो प्रभाव पर्यो, जसले उनलाई परिवर्तन, सङ्घर्ष, समानता, बलिदानजस्ता कुराले भित्री रूपमा कुत्कुत्यायो । तत्कालीन ग्रामीण परिवेश र घरको परम्परावादी जीवन प्रणालीले उनलाई भित्री रूपमा चिन्तित पार्दथ्यो । गाउँमा भएका असमानता, छुवाछुत, ठूलाबडाको दबाब र शोषणजस्ता कुराले उनलाई विद्रोही स्वभावको चेतना जागरणमा प्रेरित गर्यो ।

उनले अनेक सङ्कटमा पनि अध्ययन गर्ने दृढ चाहनाले पढ्दै पढाउँदै, ऋण गर्दै, ऋण तिर्दै बीए अनर्ससम्मको अध्ययन पूरा गरे । अनौपचारिक शिक्षाका रूपमा उनले पाँच, छ वर्षको उमेरदेखि मृत्युपर्यन्त विभिन्न विषयको गहन अध्ययन, मनन र चिन्तन गरे । नेत्रलालले बीए अनर्ससम्मको नेपाली विषय अध्ययनका क्रममा साहित्यको आवश्यक ज्ञान प्राप्त गरेकाले उनको साहित्य लेखन खारिँदै गयो ।

उनले भूपि शेरचन, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र आदिका कविता पढेर त्यसै प्रकारका कविता रचनातर्फ आफूलाई उन्मुख गराए । राजनीतिक गतिविधिमा सहभागी भएपछि विश्व क्रान्तिका रचना पढ्ने र रचना गर्ने, विश्वचर्चित साहित्यकारहरूको कृति अनुवाद गर्ने कामसमेत उनले गरे । उनले साहित्यका मुक्तक, गीत, कविता, कथा, नाटक, समालोचना, अनुवाद आदि क्षेत्रमा कलम चलाए । उनको साहित्य लेखन वि.सं २०१५ देखि मृत्यु पर्यन्तसम्म निरन्तर सक्रिय रह्यो ।

आफ्नो अध्ययनका क्रममा पाएको दुःख र पीडा, पिताको मृत्यु र श्रीमतीको मृत्यु जस्ता समग्र कारणले साहित्यिक रुचि बढ्दै जाँदा उपनामको लहर चलेका समयमा आफ्ना नामका पछाडि ‘अभागी’ उपनाम थपी नेत्रलाल पौडेल ‘अभागी’ लेख्न थालेदेखि उनी नेत्रलाल पौडेल ‘अभागी’का नामले चर्चित बन्न पुगे । उनले साहित्य र राजनीतिका क्षेत्रमा विभिन्न उपनाम राखी योगदान पुर्याए तापनि मूलतः उनी ‘अभागी’ उपनामबाट नै चिनिएको पाइन्छ ।

नेत्रलालको जीवन हुर्काइ र साहित्यिक लेखनमा वि.सं २००७ सालको क्रान्ति, वि.सं २०१५ सालको निर्वाचन, वि.सं २०११ सालको दाङको कम्युनिस्ट गतिविधि, पारिवारिक पृष्ठभूमि, आर्थिक अभाव, अध्ययनका समयमा विभिन्न गतिविधिमा भएको संलग्नता, प्रगतिवादी साहित्यकारहरूसँग भेटघाट आदिले प्रभाव पारे । यी प्रभावले गर्दा नै उनी साहित्यिक क्षेत्रमा प्रवेश गरे । उनले जीवन भोगाइका क्रममा आर्जित समग्र ज्ञान र अनुभवलाई साहित्यिक रचनामा प्रस्तुत गरेका छन् ।

उनका चर्चित साहित्यिक कृर्तिहरुमा नर्कको कथा खण्डकाव्य, गंगा–चिनी महाकाव्य, सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कविता सङ्ग्रह, कविता सङ्ग्रह रहेका छन् । सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कविता सङ्ग्रहका कविताहरू सामाजिक विषमता, परिवर्तन, प्रकृति, जीवनदर्शन, शत्रुतामित्रता, विभिन्न चुनौतिहरू, धर्म, संस्कृति, परम्परा आदि विषयसँग सम्बद्ध छन् । कवि ‘अभागी’ले रचना गरेका प्रस्तुत सङ्ग्रहका कविताहरूमा प्रयुक्त बिम्बहरूले सहज र स्वतःस्फूर्त रूपमा बाह्य र आन्तरिक लय र अर्थगत चमत्कारका साथै कविताको सौन्दर्य बढाएका छन् ।

प्रस्तुत सङ्ग्रहका कविताहरूमा कवितालाई सौन्दर्यपूर्ण, आकर्षक, लयात्मक र प्रभावकारी बनाउन अनुप्रास, उपमा, रूपक, सन्देह, विषम, रूपकातिशयोक्ति आदि शब्दालङ्कार र अर्थालङ्कारको प्रयोग भएको छ । यसैगरी वि.सं २०६२ सालमा प्रगतिशील लेखक संघ नेपाल, दाङ शाखाद्वारा प्रकाशन भएको कविता सङ्ग्रह ‘वर्ग प्रेम’ हो । यस कविता सङ्ग्रहमा कविका प्रारम्भिक चरणदेखिका कविताहरू सङ्कलन गरिएका छन् ।

यस सङ्ग्रहमा कविता विधाका साथमा सवाई, जनवादी गीतहरु, गाउँखाने कथा, विभिन्न संवादात्मक गीतिशैलीका प्रश्नोत्तरमूलक ढाँचाका रचनाहरू सङ्गृहीत छन् । अन्धकार युगलाई उज्यालोमा बदल्ने अभियानमा लाग्दै गर्दा मारिएका कम्युनिस्ट नेता नेत्रलाल अभागीप्रति हाम्रो पनि श्रद्धासुमन ।

स्रोत : विकिपिडिया, नारायण शर्मा र नरेन्द्र केसीको फेसबुक ।