• चैत्र २६ २०८१, बुधबार

निम्न र मध्यम आय भएका देश अमेरिकाको खोप वितरणको प्राथमिकतामा

जेष्ठ ६ २०७८, बिहीबार

काठमाडौँ/

अमेरिकाले निम्न र मध्यम आय भएका देशलाई उच्च प्राथमिकतामा राखेर आफूसंग भएको ८ करोड कोरोना खोप वितरण गर्ने बताएको छ। संसारभरिबाट अनुरोध भएर आएपछि आफूसंग भएको खोपका लागि कसलाई प्राथमिकता दिने भनेर अमेरिका दबाबमा थियो। दबाबको बीचबाटै निम्न र माध्यम आय भएका देशलाई खोपको प्राथमिकतामा राख्ने सैद्धान्तिक निष्कर्षमा अमेरिकी अधिकारीहरु पुगेका छन्।

भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै अमेरिकी विदेश मन्त्रालयको ग्लोबल कोभिड रेस्पोन्स एण्ड हेल्थ सेक्युरीका ग्याले इ स्मिथले अमेरिका मध्यम र निम्न आय भएका मुलुकलाई खोप दिने विषयमा केन्द्रित भएको बताएकी छन्। उनले भनेकी छन्, ‘हामीले अहिले खोप वितरणका सम्बन्धमा निर्णय गरिसकेका छैनौं । तर हामीले विश्वको हरेक क्षेत्रलाई नजिकबाट हेरिरहेका छौं ।’

उनले खोपको आपूर्तिका लागि जी-७ मुलुकहरुसँग कुराकानी गरिरहेको समेत बताएकी छन् । पछिल्लो समय नेपाल लगायतका भारतका छिमेकी मुलुकमा बढ्दो संक्रमण र भ्याक्सिनको अभावका सम्बन्धमा अमेरिकाले विशेष चासो दिएको छ । उनले भारतका छिमेकी मुलुकहरुमा बढिरहेको आपतकालिन अवस्थाको बारेमा समेत आफूहरुले नजिकबाट हेरिरहेको बताइन् ।

विश्वको सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुक भारतले आफ्नो उत्पादनलाई घरेलु प्रयोजनका लागि मात्र प्रयोग गरेपछि यतिबेला अमेरिकामाथि संसारभरीबाट दबाव छ । विश्वभरबाट माग बढेपछि अमेरिकाले खोप उत्पादनलाई बढाउने तयारी गरेको छ ।

पहिला आफूसँग रहेको ६ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले दुई दिन अगाडि मात्र थप दुई करोड खोप वितरण गर्ने घोषणा गरेको छ ।अमेरिकी अधिकारीहरुका अनुसार त्यसलाई अझ नबढाएमा विश्वव्यापी रुपमा आएको माग पूरा गर्न सकिंदैन । अमेरिकी राजनीतिज्ञ, नागरिक समाज र मिडियाले त्यहाँको नेतृत्वलाई विश्वव्यापी खोप अभियान संचालन गर्न दवाव दिइरहेका छन् ।