पोखरा । गण्डकी प्रदेशमा अक्सिजन ग्यासको दैनिक उत्पादन सन्तोषजनक रहेको बताइएको छ । जसका कारण मागको तुलनामा उत्पादन बढी नै रहेकाले अहिलेसम्म खास समस्या नदेखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अक्सिजन उत्पादन गर्ने निजी क्षेत्रका दुई ठूला उद्योग पछिल्ला दिनमा चौबिसै घण्टा सञ्चालन हुँदै आएका छन् । सरकारी र निजी क्षेत्र गरी प्रदेशमा दैनिक एक हजार पाँचसय सिलिन्डरको हाराहारीमा अक्सिजन ग्यास उत्पादन गर्ने क्षमता छ ।
पोखरा अक्सिजन प्रालिले प्रतिघण्टा ३० सिलिण्डर र कालीगण्डकी अक्सिजन प्रा.लिले प्रतिघण्टा २० सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता राख्छन् । चौबिसै घण्टा सञ्चालन हुँदा यी दुवै उद्योगले प्रतिदिन एक हजार दुई सय सिलिन्डर ग्यास उत्पादन गर्न सक्छन् । यद्यपि उक्त क्षमतामा उद्योग सञ्चालन गरिरहन सम्भव नहुने सञ्चालकहरु बताउँछन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार प्रदेशका आठ जिल्लाका सरकारी अस्पतालमा पनि अक्सिज ग्यास उत्पादन हुँदै आएको छ । दैनिक रुपमा मुस्ताङमा १५, पर्वतमा ३०, स्याङ्जा १०, लमजुङ १८, नवलपरासी १८, गोरखा १८, बागलुङ ३० र म्याग्दी जिल्ला अस्पतालमा १८ सिलिन्डर अक्सिजन ग्यास उत्पादन हुने गरेको उनको भनाइ छ । यस्तै पोखराका केही अस्पतालले पनि अक्सिजन ग्यास उत्पादन गर्दै आएका छन् ।
जसअनुसार फेवासिटीले दैनिक ३०, मणिपालले ४०, गण्डकी मेडिकल कलेजले २२, मातृशिशु मितेरी अस्पतालले १०, फिस्टेलले ३० सिलिन्डर अक्सिजन उत्पादन गर्छन् । हालसम्म प्रदेशमा अक्सिजनको मागलाई आन्तरिक उत्पादनबाटै जेनतेन धानेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पनि प्रदेशमा अक्सिजनको अभाव नरहेको जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा दैनिक एक हजार ४८९ सिलिण्डर अक्सिजन ग्यास उत्पादन गर्ने क्षमता छ भने दैनिक ८४६ सिलिण्डरमात्र खपत हुने गरेको छ । प्रदेशमा ५ हजार ६३२ वटा सिलिण्डर छन् । निर्देशनालयका अनुसार प्रदेशका ११ वटै जिल्लामा आवश्यकता अनुरुप अक्सिजन आपूर्ति भइरहेको छ ।
गण्डकीका लमजुङ, तनहुँ र मनाङबाहेक ८ वटा जिल्लाका अस्पतालले आफ्नै अक्सिजन प्लान्टबाट ग्यास उत्पादन गरेका छन् भने ती अस्पताल अक्सिजन ग्यासमा लगभग आत्मनिर्भर छन् । गण्डकी प्रदेशमा रहेका निजी क्षेत्रका दुवै कम्पनीमा सशस्त्र प्रहरी बल तैनाथ गरी बिरामीको चाप अनुसार अस्पतालहरुलाई अक्सिजन वितरण गर्न थालिएको छ ।
कोभिड संक्रमण दर बढेसँगै जताततै अक्सिजनको अभाव हुन थालेपछि दुवै उद्योगलाई चौबिसै घण्टा सञ्चालन गरी पूर्ण क्षमताअनुसार ग्यास उत्पादन भइरहेको सम्बन्धित उद्योगका प्रतिनिधि बताउँछन् ।
कालीगण्डकी अक्सिजन प्रालिका निर्देशक केशरीप्रसाद तिवारीका अनुसार अहिले कम्पनीले ठुलो खालका ६०० सिलिण्डर ग्यास दैनिक उत्पादन गर्दै आएको छ ।