काठमाडौँ /
राष्ट्रिय सभा निर्वाचनमा आफूलाई सहयोग गर्न राम बहादुर थापा ‘बादल’ ले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग सहयोग मागेका छन्। माधव नेपालको निवास कोटेश्वर पुगेर बादलले नेपालसँग सहयोग मागेका हुन्।बादलले सहयोग मागे पनि नेपालले भने कुनै जवाफ दिएका छैनन्।
आफूहरूले बादललाई सहयोग गर्न नसक्ने नेपाल पक्षका एक नेताले बताए।’ बादल जीले तपाईंहरूको समूहको भोट चाहियो भनेर भन्नुभएको हो। तर बादललाई नेपालले कुनै जवाफ दिनुभएको छैन, ‘उनले भने, ‘किनकी उहाँ हाम्रो उम्मेदवार होइन। त्यसैले भोट हाल्छौं भनेर वचन दिने कुरै भएन।’ जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ।
२०७४ मा एमाले-माओवादी गठबन्धनबाट निर्वाचन लडेका बादलको कार्यकाल ६ वर्षको थियो। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले-माओवादी एकता भंग गरिदिएसँगै बादल एमाले प्रवेश गरेका हुन्। बादल एमाले बनेपछि उनको पूर्व पार्टी माओवादीले कारबाही गरेको हो।
अहिले बादल एमालेको तर्फबाट उम्मेदवार बनेका छन् भने विपक्षी (कांग्रेस-माओवादी) गठबन्धनको तर्फबाट खिमलाल देवकोटा उम्मेदवार बनेका छन्।एमाले पृष्ठभूमिका देवकोटालाई माधव नेपाल पक्षको समर्थन छ।