काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिरुपमा घट्न थालेको छ । पछिल्ला तीन दिनमा कोरोना संक्रमितको संख्या ओह्रालो लागेको छ भने संक्रमण दर पनि घटेको पाइएको छ । पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ६८ जना संक्रमित थपिएका छन्, यो संख्या शनिबार भन्दा कम हो ।
शनिबार ८ हजार एक सय ६४ जनामा संक्रमण देखिएको थियो । त्यसभन्दा अघि गत शुक्रबार नयाँ संक्रमितको संख्या ८ हजार पाँच सय २० थियो । पछिल्लो समय कोरोना संक्रमितहरू निको हुने संख्या बढ्दै छ । आइतबार ६ हजार ६ सय ४८ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार पाँच हजार ४ सय ५५ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए भने शुक्रबार छ हजार १ सय ६५ कोरोना संक्रमित निको भएका थिए । आइतबार १९ हजार पाँच सय ३९ जनाको पिसिआर परीक्षण र तीन सय ४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
शनिबार १८ हजार पाँच सय ४८ परीक्षण गर्दा संक्रमितको संख्या ८ हजार १ सय ६७ थियो । यसअघि सिसिएमसीको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि बितेका दुई साता निकै कठिनपूर्ण रहेको भए पनि अब बिस्तारै अवस्थामा सुधार आउने बताएका थिए ।
विज्ञहरूले भने दुईचार दिनको तथ्यांक हेरेर नेपालमा कोरोना भाइरसको दोस्रो लहर ‘पिक’ मा पुगेर पनि ओह्रालो लागेको निष्कर्ष निकाल्नु हतार हुने भए पनि यो सकारात्मक संकेत भएको बताए ।
संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन भन्छन्,‘राम्रो संकेत देखिएको छ तर अझै एकदुई दिनको प्याट्रन हेर्नुपर्ने हुन्छ ।’
अहिले मानिसहरू घरबाहिर निस्कन नपाएकाले संक्रमण घटेको हुन सक्ने डाक्टर पुनले बताए । छिमेकी भारतमा पनि पछिल्लो साता कोरोनाको दैनिक संक्रमण ओह्रालो लागेको छ । कोरोना भाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला सात दिनमा संक्रमितको संख्या अघिल्लो साताभन्दा घटेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार यो अवधिमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ । त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत थियो ।
मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो । यसले भारतमा कोरोनाको दोस्रो लहर पिकमा पुगेर झर्न लागेको हो कि भन्न देखिन्छ यद्यपी मृत्युदर भने अहिले पनि दैनिक चार हजारको हाराहारीमा चलिरहेको छ ।
भारतमा अहिलेसम्म २ करोड ४६ लाख मानिसमा कोरोना संक्रमण भएको छ । तीमध्ये २ लाख ७० हजारले ज्यान गुमाएका छन् भने ३६ लाख अहिले सक्रिय संक्रमित छन् ।