यतिबेला विश्व मानव समुदाय नोबेल कोरोना भाइरस (कोभिड–१९) को संकटसँग सिंगौरी खेलिरहेको छ । चिनको वुहान प्रान्तबाट फैलिएको यो भाइरसले विश्वका अधिकांश मुलुकमा पहिलो चरणमै उच्च मानवीय क्षति र अर्थतन्त्रमा चरम संकट पैदा गरेको थियो । कोभिड–१९ को पहिलो भेरियन्टले नेपाललाई त्यति निरासाजनक अवस्थामा पुर्याएन । अहिले कोभिड–१९ को दोस्रो भेरियन्टले भारत र हाम्रो देशलाई पनि त्रासदी अवस्थामा पुर्याएको छ । कोरोना भाइरसको प्रभाव बारे सामाजिक सञ्जालमा भाइरल भएका तस्विरहरु देख्दा जो कोहिको मन मस्तिष्कले गम्भीर भएर सोच्न बाध्य बनाएको छ ।
भारतमा बढ्दो संक्रमण र हाम्रो देशको सँगको खुल्ला सीमा नाकाको कारणले नेपालमा पनि कोरोना संक्रमणको दर दिनानुदिन आकाशिँदो अवस्थामा छ । पछिल्लो समय नेपालमा कोरेनाको कारणले मृत्यु हुने नेपालीको संख्या पनि निकै उच्च रुपले वृद्धि हुँदैछ । मृत्यु र संक्रमणको संख्याको डरलाग्दो तथ्यांकको असरले मानिसहरुमा मनोवैज्ञानिक त्रास देखापरिरहेको छ । आफ्नै घर छिमेकमा मृत्युु भएका खबरले मानिसको मनोबल निकै कमजोर हुँदै गइरहेको छ ।
कोरोनाको कारणले मृत्यु हुनेको मृत्युदर १५ भएपनि सामाजिक सञ्जालमा भाइरल समाचार तस्विर र अन्य सामाग्रीहरुले गर्दा मानिसहरु डर, त्रास, र कमजोर मनोबलका साथ बाँचिरहेका छन् । अस्पतालहरुमा अक्सिजनको चरम अभाव छ । संक्रमित नागरिकहरुले बेड सम्म पाउने अवस्था छैन । यस्तो लाग्छ, स्वास्थ्य सामाग्रीको अभावले नागरिकहरु मृत्यु कुरेर बसिरहेका छन् ।
यस्तो अवस्थामा पनि राज्य गैरजिम्मेवार बनिरहेको छ । राज्यले समयमै कोरोनाको जोखिम न्यूनीकरण गर्न युद्धस्तरमा काम गर्न सकेको भए आज यो अवस्था सिर्जना हुने थिएन । कोरोना जोखिम कायमै रहेको थियो तर आफ्नो कुर्सी र सत्ता संकटमा परेको बेला हजारौं नागरिकहरुलाई सहभागी बनाएर बिरोध प्रदर्शन, शक्ति प्रदर्शनको नाममा राज्यका मालिकहरुले संक्रमणलाई झन व्यापक बनाए ।
कोरोनाले निम्त्याएको भयानक अवस्था, अर्थतन्त्रमा पारिरहेको चरम संकटका विषयमा आम नागरिकहरु राज्यको निकम्मा र गैरजिम्मेवारिपनका विरुद्ध भौतिक रुपमा उपस्थित भएर बिरोध गर्न सम्भब नभएपनि समाजिक सञ्जाल र डिजिटल मिडियामा बढ्दो निराशा, आवेग र विद्रोहका शब्दहरुको मिसाइल र तोप पड्काइरहेका छन् । नागरिकहरु अस्पतालमा अक्सिजन माग गरिरहेका बेला राज्य संसदमा विश्वासको मत खोजिरहेको छ ।
नागरिकहरु अस्पतालका शैयामा छटपटाइरहेका बेला राज्य ‘हुन्छ भन्नेमा यति मत, हुन्न भन्नेमा यति’ भन्दै संसदीय सत्ता लुछाचुँडीमा पौडी खेलिरहेको छ । संक्रमित नागरिकहरुले सर्वसुलभ रुपमा एम्बुलेन्स सेवा नपाएर ट्याक्टरमा बिरामी बोकिरहेका बेला राज्यका मालिकहरु हेलिकप्टर सवारगरी उम्मेद्वारी दिन उडिरहेका छन् । कोभिड–१९ संक्रमितमध्य धनाढ्यहरु हेलिकप्टरमा महंगा अस्पतालमा अत्याधुनिक सुविधा सम्पन्न आइसियुमा उपचार गराइरहेका छन् भने आम श्रमजीवी, मजदुर, किसान र गरिब जनताहरु सिटामोल पनि पाइरहेका छैनन् । ठूलाठूला होर्डिङ बोर्डमा नयाँ युगको सुरुवात लेखेका संसदवादीहरु यतिबेला नागरिकलाई अत्यावश्यक स्वास्थ्य सामाग्री सिटामोल, जीवनजल, संक्रमितलाई सामान्य बेडसम्म उपलब्ध गराउन सकेका छैनन् । यो अवस्थामा नागरिकहरु नयाँ युगको सुरुवातको होर्डिङ बोर्डलाई नयाँ युगको संकट र मृत्युु ठानिरहेका छन् ।
संकट व्यवस्थाको उपज :
यो संकट पूँजीवादी संसदीय व्यवस्था र राजनीतिक संकटले निम्त्याएको संकट हो । यो व्यवस्था आफ्नो र व्यक्तिको फाइदाको लागि जे पनि गर्ने व्यवस्था हो । यो व्यवस्थामा पर्यावरणको रक्षा, व्यवस्थापन, शान्ति, समृद्धि, स्वाधीनता, जनमत, प्रजातान्त्रिक अधिकार, मानव अधिकार लगायतका थुप्रै शब्दहरु जनतालाई भ्रम दिने शब्दावली हुन् । दलाल पूँजीवादी संसदीय व्यवस्थाको विरुद्ध आम जनमासको गुनासो, पीडा, आक्रोश सर्वत्र सुन्निरहेका छन् । नेपालका आम शोसित पीडित श्रमजीवी जनताहरु विद्यमान व्यवस्थालाई परिवर्तन गर्न खोजिरहेका छन् ।
आम श्रमजीवी जनता, मजदुर, किसान, सुकुम्बासी उत्पीडित जाति, समुदाय, बुद्धिजीवी युवा, विद्यार्थी, लेखक श्रमजीवी पत्रकार र सम्पूर्ण मेहनतकस जनताहरु यो संकटको विकल्पको रुपमा वैज्ञानिक समाजवादी व्यवस्थाको यात्रामा दौड्न चाहिरहेका छन् । दस वर्षे महान जनयुद्ध र त्यसको जगमा प्राप्त उपलब्धिहरु गुम्दा ‘जुन जोगी आएपनि कानै चिरिएका’ भन्ने नमिठो वाक्य सुन्नु परिरहेको छ र त्यसको जवाफ दिन वैज्ञानिक समाजवादका यात्रीहरुलाई मुस्किल परिरेहेको अवस्था छ । आन्दोलनलाई सम्झौतामा टुङ्ग्याउनु र केही मुठ्ठीभर नेतृत्वहरु मन्त्री, सांसद र प्रधानमन्त्री बन्ने र जनतालाई धुलोपिठो सहित सडकमै छोड्ने प्रवृत्तिले आम जनतामा बारम्बार धोका भएको अवस्था छ ।
विजयको सन्निकट पुगेको आन्दोलनलाई मुख्य नेतृत्वको वैचारिक पतनले गर्दा विसर्जन विघटन हुँदै प्रतिक्रान्तिमा परिणत भए । दस वर्षे जनयुद्ध विजयको सन्निकट थियो तर प्रचण्ड–बाबुरामको धोका र गद्धारीले नेपालमा प्रतिक्रान्ति भयो । जनयुद्धका उपलब्धिहरु जनमुक्ति सेना र जनअदालत भंग गरिए, जमिनदारका कब्जा भएका घरजग्गा फिर्ता गरिए, जनकम्युनहरु विघटन गरिए र जनतामा माओवादीप्रतिको आशा निराशामा परिणत भयो ।
विचारमा पतन भएका कारण अहिले बाबुरामको अन्तै विलय नै भैसक्यो । उनी कम्युनिस्ट आन्दोलन छोडेर भागेका भगौडा र क्रान्तिविरोधी नै भइसके । उनको नयाँ शक्ति जसपामा गएर विलिन भयो । प्रचण्डहरु कहिले कांग्रेसको लठ्ठी त कहिले एमालेको लठ्ठीको सहारामा बाँचिरहेका छन् । पूर्व सुप्रिमो प्रचण्ड लगायतको झुण्ड विदेशी प्रतिक्रियावादी र साम्राज्यवादीहरुको वफादार नोकर भएर कुकरले हड्डीको आश गरे झैं संसदमा नाङ्गो नाँच नाच्ने समूहमा परिणत भएको छ ।
नेपालमा दलाल पूँजीवादीहरुले दिएको सुखी नेपाली, समृद्ध नेपालको नारा दुःखी नेपाली, कंगाल नेपालमा परिणत भएको छ । चरम भ्रष्टाचार, कमिसनखोर, राष्ट्रघात, जनघात, महंगी, कालोबजारी, जनविरोधी हर्कत नै दलाल पूँजीवादका सफलता सावित भएका छन् । लाखौं युवाहरु सस्तो मुल्यमा आफ्नो श्रम विदेशी भूमिमा बेच्न बाध्य पारिएका छन् । देशमा रोजगारको अवस्था सिर्जना गर्न नसक्दा आफ्नै भूमी कब्जा गर्ने साम्राज्यवादी मुलुकको सेवा गरिरहेका छन् । दैनिक युवाहरुको लास बाकसमा लपेटिएर आउँछ । लाखौं बालबालिकाहरु आधाभूत शिक्षाबाट बञ्चित छन् । लाखौं दिदीबहिनिहरु अरबमा बेचिएका छन् र लुटिएका छन् र मारिएका छन् ।
देशमा आत्महत्या गर्नेको संख्या वर्षेनी बढिरहेको छ । गोर्खा भर्तिकेन्द्र मार्फत वर्षौंदेखि युवाहरुलाई भारत र बेलायत जस्ता मुलुकहरुमा बेचिएको छ । किसान, मजदुर आम श्रमजीवी जनतलाई छाक टार्न मुस्किल छ । करिब ७० लाख मानिसहरू गरिवीको रेखामुनी छन् । बोक्सी र छुवाछुतको नाममा अमानवीय शोषण, उत्पीडन र दमन भएको छ । दिनदहाडै ससाना छोरीहरु बलात्कृत भएका छन् । हत्या, हिंसा र आतंकले सीमा नाघेको छ । राज्य नै हत्या र हिंसामा खुलेआम उत्रिएको छ । एउटै देशमा दुई किसिमको शिक्षा प्रदान गरिएको छ ।
धनी धनाढ्यका छोराछोरीहरु महंगा बोर्डिङ् स्कूलमा पढिरहेका छन् भने गरिबका छोराछोरीहरु सरकारी स्कूलमा पढिरहेका छन् । शासकहरु आफ्नो सत्ता टिकाउन, विदेशीलाई रिझाउन विभिन्न सन्धि साझौता गरिरहेका छन् । नदिनाला, खनिजका खानीहरु बेचिरहेका छन् । लिपुलेक, कालापानी, लिम्पियाधुरा माथी विदेशी हस्तक्षेप कायमै छ । नेपालसँग कुनै सरोकार नराखी साम्राज्यवादले सीमानाका हाम्रो भूमीमा एकलौटी बाटो निर्माण कार्य सुचारु गर्दासम्म राज्य थाहा नपाएजस्तो गर्छ । भारतबाट आयत हुने तरकारीको गुणस्तरसम्म जाच्न नसक्ने राज्यलाइ के भन्ने ?
तसर्थ यी सबै संकटले क्रान्ति र विद्रोह जन्माउँदै छ । जनताहरु जित्न अघि बढ्दैछन् । शासकहरुले खतराको घण्टी बजेको महसुस गर्न थालिसकेका छन् । त्यसैले विप्लवले भने झैं ‘क्रान्ति आवेगमा होइन, विवेक र योजनामा अघि बढ्छ’ । हामी क्रान्तिकारीहरु पूर्ण विवेक र योजनामा अघि बढी यो संकटको विकल्पमा निसर्तरुपमा वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिको दिशामा अघि बढ्नु पर्छ । शोषण, उत्पीडन असमानता र वर्गको अन्त्यगरी आम श्रमिक वर्गको सत्ता निर्माण, समानतामूलक र समृद्ध, शान्त, स्वाधिन मुलुक निर्माण गर्ने काममा अघि बढौं ।
वैज्ञानिक समाजवाद बारे पूँजीवादले छरेको भ्रमका विरुद्ध सर्वहारा वर्गको पहिलो सत्ता पेरिस कम्युन, लेनिनले अक्टोबर क्रान्ति सम्पन्न गरेर निर्माण गरेको सोभियत संघ, छिमेकी मुलुक चिनमा माओले विजय हासिल गरेको चिनियाँ क्रान्ति, भारतमा भाकपाले गरेको विद्रोह, निरन्तरको संघर्ष, विश्व क्रान्तिका नायक चे ग्वेभाराको बलिदानीपूर्ण संघर्ष, भियतनाम, उत्तर कोरिया लगायत अन्य मुलुकमा चलेका समाजवादी क्रान्ति नै हाम्रा आदर्श प्रेरणा श्रोत हुन् । पूँजीवादीहरु वैज्ञानिक समाजवादलाई काल्पनिक कुरा हो भनेर भ्रम छर्छन् तर त्यो सत्य होइन ।
सत्य यो हो कि वैज्ञानिक समाजवाद सर्वहारा वर्गलाई सत्ताको मालिक बनाउने र आजको मानव समाजको प्रतिनिधित्व गर्ने उच्चतम व्यवस्था हो । वैज्ञानिक समाजवाद नै मानव जातिलाई वर्ग, जात राष्ट्र र धर्मबिहीन बनाउने, हर प्रकारका शोषण दमन र उत्पीडनबाट मुक्त गर्दै स्वतन्त्र, शान्त, समान, वैज्ञानिक र समृद्ध दुनियाँमा पुर्याउने मानव सभ्यता हो । तसर्थ दलाल पूँजिवादको अन्त्य गरी वैज्ञानिक राज्यसत्ता स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध होऔं ।