• मंसिर १० २०८१, सोमबार

मन्त्री छान्न बालुवाटारमा छलफल चलाउँदै ओली

बैशाख ३१ २०७८, शुक्रबार

काठमाडौं । पुनः नियुक्त भएका प्रधानमन्त्री केपी ओलीले नयाँ मन्त्रीबारे छलफल गर्न आफू निकट नेतालाई बोलाएका छन् । तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिन लागेका ओलीले क–कसलाई मन्त्री बनाउने भन्नेबारे आफू निकट नेतासँग बालुवाटारमा छलफल गर्न लागेको स्रोतले बतायो ।

बिहीबार प्रधानमन्त्रीमा पुनः नियुक्त भएका ओलीले आज राष्ट्रपति निवासमा प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम छ । आजै ओलीले सानो आकारमा मन्त्रिपरिषद पनि बनाउने छन् । प्रधानमन्त्रीमा ओलीले सपथ लिएसँगै मन्त्रीहरूलाई पनि सपथ खुवाउने तयारी छ ।

त्यसैका लागि ओलीले बालुवाटारमा नेताहरूसँग परामर्श गर्न लागेको एमालेका एक स्थायी कमिटी सदस्यले बताए ।
‘उहाँले एक्लै सपथ लिने कुरै हुँदैन । आज सानो आकारमा मात्रै मन्त्रीमण्डल बनाउनु हुन्छ होला,’ उनले भने, ‘कसलाई मन्त्री बनाउने भन्नेबारे उहाँले अहिले छलफल गर्दै हुनुहुन्छ । केही साथीहरूको नाम उहाँले सोचिराख्नुभएकै होला ।’ ओलीले पुरानै मन्त्रीलाई निरन्तरता दिन्छन् कि नयाँ नियुक्त गर्छन् भन्नेबारे अहिले टुंगो लागिसकेको छैन ।