• मंसिर ११ २०८१, मंगलवार

केपी ओली आजै राति पुन : प्रम नियुक्त हुँदै

बैशाख ३० २०७८, बिहीबार

काठमाडौं । बैशाख २७ गते विश्वास गुमाएका केपी ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । कांग्रेस–माओवादी–जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।

राष्ट्रपति विद्या भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । यो समयसीमा सकिन एकाध घण्टामात्र बाँकी छ । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन् ।

माधव नेपाल समूहले सामूहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो । विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

यसबीचमा जसपाका अध्यक्ष महन्थ ठाकुरको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको थियो । कांग्रेस र माओवादीका नेताहरुले महन्थको नाम अगाडि सारेको अवस्थामा चाहिँ बहुमत जुट्न सक्ने सम्भावना पनि थियो तर, यसका लागि कांग्रेस–माओवादीका नेताहरु तयार भएनन् । विपक्षी दलहरुले बहुमतको सरकार गठनका लागि माग दाबी नगर्ने भएका छन् । नेपाली कांग्रेस माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले बहुमत जुटाउन नसकेपछि सरकारका लागि दाबी पेस नगर्ने निष्कर्ष निकालेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बहुमतको सरकारका लागि दाबी नगर्ने भएको छ । देउवाले पार्टी पदाधिकारी बैठक राखेर बहुमत जुट्न नसकेको बारे बिफ्रिङ गरेका थिए । माओवादी केन्द्र स्थायी समिति बैठकले पनि सरकार बहुमतको सरकार गठनको सम्भावना सकिएको निष्कर्ष निकालेको थियो ।