काठमाडौं । बहुमतको सरकार गठनको लागि दिइएको समय सकिन केही घण्टा बाँकी हुँदा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका १९ जना सांसदबीच भक्तपुरमा छलफल जारी छ ।
आफ्नो सांसदलाई अन्यत्रबाट कुनै दवाव नरहोस् भन्ने हेतुले अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले आफ्नो १९ जना सांसदलाई लिएर छलफल गरेको जसपाका एक नेताले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ९ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरुलाई आह्वान गरेकी छिन् ।
हाल प्रतिनिधिसभामा कायम सांसद सङ्ख्या दुई सय ७१ मध्ये नेकपा एमालेसँग अहिलेसम्म १२१ सांसद छन् ।
नयाँ सत्ता समीकरणका लागि एक सय ३६ सांसद आवश्यक पर्छ । कांग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८ र जसपाकासँग ३२ सांसद छन् । तर, जसपाका १९ जना सांसदले साथ नदिँदा बहुमत नपुगने निश्चित छ ।