काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने आज (विहीबार)को समय दिएकी थिइन् ।
विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष आज बहुमत पुर्याएर नयाँ सरकारका लागि राष्ट्रपतिसामू दाबी पेश गर्ने कसरतमा छन् । यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका नेता माधव नेपाल लगायतसँग संवाद जारी राखेको पाइन्छ । कांग्रेस, जसपा र एमालेको नेपाल पक्षभित्र यस विषयमा आन्तरिक छलफल पनि जारी छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो विपक्षी गठबन्धनमा बहुमत पुग्न नदिने रणनीतिमा लागेपछि संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टीको एकीकृत नीति बनाउन छलफलमा जुटेका छन् । यता नेपाल पक्ष पनि सांसद पदबाट राजीनामा दिने अन्तिम तयारीमा छ ।
जसपाको ठाकुर–महतो पक्षलाई नयाँ सरकार निर्माणमा सहमत गराउन नसके नेपाल पक्षको राजीनामाको सहारामा बहुमत पुर्याउने विपक्षीको रणनीति देखिन्छ । बिहीबार राति ९ बजेसम्म वैकल्पिक गठबन्धन सरकारको दाबी नपुगे राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको हैसियतले संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्ति गर्नेछिन् ।
देउवाकै नेतृत्वमा बहुमत पुर्याउन बिहीबार साँझसम्म प्रयत्न गरिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । उनले भने, ‘छलफल सकारात्मक ढंगले नै अगाडि बढिरहेको छ । अन्तिम बेलासम्म जे पनि हुनसक्छ । हामीले विभिन्न माध्यमबाट सबै पक्षसँग कुराकानी गरिरहेका छौं ।’ आज विपक्षी दलबीच निर्णायक वार्ताको तयारी भइरहेको उनको भनाइ छ ।