काठमाडौं /
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत गुमाएका छन् । उनले विश्वासको मत गुमाएसँगै सरकार कामचलाउमा परिणत भएको छ भने प्रधानमन्त्री ओली अपदस्थ भएका छन् ।
योसँगै नयाँ सरकार गठन गर्ने ढोका खुलेको छ । यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गतेभित्रै सरकार गठन गर्न राजनीतिक दलहरूलाई आह्वान गरकी छन् । उनले गरेको यो आह्वानसँगै नेकपा (एमाले) बाहेकका अन्य दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव–संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई समूह नयाँ सरकार गठबन्धनका लागि गृहकार्य गरिरहेको छ ।
सरकार गठनकै विषयलाई लिएर मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र र संघीय परिषद् अध्यक्ष बाबुरामसँग छलफल गरेका छन् । छलफलमा बहुमतको सरकार गठनका लागि दावी पेश गर्ने निर्णय गरिएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
नयाँ सरकार गठबन्धनका लागि निर्णायक मानिएको जसपा दुई समूहमा विभाजित छ । जसपा विभाजन भएसँगै सरकार गठन प्रक्रियामा बाधा हुँदै आएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले ओली सरकार बाहेक वैकल्पिक सरकारमा संलग्न नहुने बताउँदै आएको छ । तर, अर्का अध्यक्ष उपेन्द्र र संघीय परिषद् अध्यक्ष बाबुराम समूह नयाँ सरकार गठनका लागि काँग्रेस र माओवादी केन्द्रसँगै गठबन्धन गर्ने पक्षमा उभिएको छ ।
तर, अब बन्ने सरकारका लागि एमाले नेपाल–खनाल समूह निर्णायक बन्ने देखिएको छ । बिहीबार बन्ने नयाँ सरकारमा सामेल हुने या नहुने आजसम्म यो समूहले कुनै आधिकारिक निर्णय गरेको छैन । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिने दिन नेता घनश्याम भुसालसहित माधवकुमार नेपाल–झलनाथ खनाल समूहका २८ जना सांसदले संसद् बैठको बहिष्कार गरेर अनुपस्थित भएका थिए ।
उक्त समूहका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका थिए । तर, विश्वासको मतका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन सुरु हुनुअघि राजीनामा नदिने र संसद् बैठकमा पनि उपस्थित नहुने निर्णय गरेका थिए । सोही निर्णयअनुसार उनीहरू संसद बैठकमा उपस्थित भएनन् ।
ओलीले गत सोमबार विश्वासको मत गुमाएपछि सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठन गर्न दलहरूदाई आह्वान गरिसकेकी छन् । सोहीअनुसार दलहरू सरकार गठन प्रक्रियाका लागि आन्तरिक गृहकार्यमा सक्रिय भएका छन् ।
यसका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत विपक्षी दलहरू छलफलको क्रममै छन् । तथापि जसपा महन्थ ठाकुर र राजेन्द्र महतोको समूहले भने साथ नदिने पक्का भएपछि विपक्षी दललाई बहुमत जुटाउन निकै कठिन हुने सम्भावना देखिएको छ । त्यसैले माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदलाई समेत साथमा लैजाने कि भन्ने चर्चा पनि उत्तिकै चलेको छ ।
त्यतिमात्रै होइन, नेपाल–खनाल समूहका सबै सांसदहरूले राजीनामा दिएमा संसद्को कुल सदस्य संख्या घट्ने र विपक्षीलाई बहुमत पुर्याउन नदिने अडकलसमेत गरिएको छ । तर, यस विषयलाई लिएर सो समूहले हालसम्म कुनै पनि आधिकारिक निर्णय गरेको छैन ।
एमाले प्रभावशाली नेता एवम् पूर्वमन्त्रीसमेत रहेका घनश्याम भुषालका अनुसार, –‘सरकारमा जाने या नजाने विषय ठूलो विषय हुँदै होइन तर हामी हाम्रा मागहरू यथाशीघ्र सम्बोधन गराउने पक्षमा छौँ र यदि यसो नभए विकल्प छँदैछन् ।’
नेता भुषालको यो भनाइलाई मध्येनजर गर्ने हो भने नेपाल–खनाल समूह सत्तामा जान सक्ने सम्भावनाको नजिक रहेको बुझिन्छ । यदि आफ्ना माग सम्बोधन भए सत्तामा सामेल नहुने र नभएको खण्डमा सत्तामा जान सक्ने संकेत देखिन्छ । तर, ओलीले नेपाल–खनाल समूहको माग सम्बोधन गर्न सक्ने सम्भावना भने कम देखिएको छ ।
यो कुरा भुषालले आफ्नो सामाजिक सञ्जालमार्फत पनि व्यक्त गरेका छन् । ‘आज हामीविरुद्ध गरिएका गालीग्लौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधि सभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।’
उनीले लेखेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।’
‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । उनले भनेका छन् । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’
भुषालले सामाजिक सञ्जालमा गरेको यो टिप्पणीले ओली र नेपाल–खनाल समूहले आआफ्ना अडान नछोड्ने पक्षमा देखिएका छन् । यसरी हेर्दा, दुवै समूह टसमस देखिदैनन् । यसर्थ भोलि बन्ने नयाँ सरकारलाई नेपाल–खनाल समूहले प्रत्यक्ष वा परोक्ष समर्थन गर्ने आकलन गर्न सकिन्छ ।