• चैत्र २६ २०८१, बुधबार

गंगानदीमा ७१ बेवारिसे शव भेटिए

बैशाख २९ २०७८, बुधबार

नयाँदिल्ली । पछिल्ला दिनहरुमा भारतमा बग्ने गंगानदीले बगाएका बेवारिसे शव भारतका विभिन्न स्थानमा भेटिन थालेको छन् । पहिचान नखुलेका र कहाँबाट आए भन्नेसमेत यकिन नभएका यस्ता शवहरु भारतको उत्तरप्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेका हुन् ।

आमरूपमा गंगामा मृत चौपायाहरु भेटिनु सामान्य जस्तै थियो । तर कोरोना महामारीको बीचमा यति धेरै बेवारिसे शव भेटिनुलाई भने चिन्ताको विषय मानिएको छ । पछिल्लो पटक भारत बिहारमा अवस्थित गंगानदीको किनारमा बेवारिसे ७१ शव भेटिएका छन् । यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगानदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए ।

पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शवहरु बक्सर जिल्ला प्रशासनले पोष्टमार्टमपछि खाल्डोमा गाडेको छ । तिनको डिएनएको नमूना भने सुरक्षित राखिएको छ । ती शव कसका हुन् र कहाँबाट यति धेरै जम्मा भए भन्ने खुलेको छैन । अहिले वर्षाको बेला नभएको र नदीमा जलसतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरु बताउँछन् । कतिपयले भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव जलाउने दाउराको मूल्य महँगो भएकाले निजलाई त्यत्तिकै फालिदिएको हुनसक्ने अनुमानसमेत गरेका छन् ।

बक्सर जिल्लाका एसपी निरजकुमार सिंहका अनुसार शवहरु सडेका थिए । शवको अवस्था अत्यन्त खराब भएकाले घाटमै पोष्टमार्टम गरिएको थियो ।

मोदी सरकारका जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतले गंगा नदीमा शव फ्याँक्नुलाई दुर्भाग्यपूर्ण भनेका छन् । गंगा नदीको निर्मलता र अविरलताका लागि मोदी सरकार प्रतिबद्ध रहेको बताउँदै उनले राज्य सरकारलाई यस घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न पनि भनेका छन् ।