काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनका बारेमा छलफल गर्न बैठक राखेका छन् । प्रधानमन्त्री केपी ओलीले हिजो सदनमा बहुमत सिद्ध गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेसँगै देउवाले सरकार गठनको तयारी गरेका हुन् ।
देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् । देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सभापति देउवाले आज बैठक राखेको बताए । प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उनको पक्षमा ९३ मतमात्रै आएको थियो । विश्वासको मत नपाएपछि स्वतः प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।
ओलीलाई बहुमत पुर्याउन १३६ सांसद चाहिन्थ्यो । १२१ सांसद भएको नेकपा एमालेका सबै सांसदले ओलीलाई मत दिएनन् । नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसद प्रतिनिधि सभा बैठकमै अनुपस्थित थिए ।
ओलीको विपक्षमा १२४ मत आएको थियो भने जसपाको महन्थ ठाकुर पक्षका १५ जना तटस्थ बसेका थिए । ओलीले विश्वासको मत गुमाएलगत्तै सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेलुकी दलहरूलाई तीन दिनको समय दिएर धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेकी थिइन् । संविधानको उक्त धाराअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न सक्छन् ।