काठमाडौं । विश्व स्वास्थ्य संगठनले भारतमा पाइएको कोरोनाभाइरसको नयाँ भेरियन्ट अधिक संक्रामक रहेको भन्दै विश्वव्यापी रुपमा चेतावनी जारी गरेको छ । भारतमा नयाँ भेरियन्ट फैलिएको छ ।
सो संगठनको कोभिड–१९ प्रमुख मारिया वेन केरखोवका अनुसार यो भेरियन्ट अधिक संक्रामक छ र भ्याक्सिनलाई पनि यसले बढी असर पुर्याउँछ । मारियाले अघि भनिन्, ‘हामी आधिकारिक रुपमा यसलाई विश्वस्तरमा चिन्तित बनाउने खालको भेरियन्ट घोषणा गर्दछौं ।’ उनका अनुसार यस भेरियन्टको अधिक जानकारी मंगलबार उपलब्ध गराइनेछ ।
डब्ल्यूएचओले भनेको छ नयाँ भेरियन्टको वंशावलीको डिसेम्बरको अन्तिममा भारतमा पहिलो पटक पत्ता लागेको थियो जबकि यसको एक सुरुवाती रुप अक्टुबर २०२० मा पाइएको थियो । यो भेरियन्ट धेरै देशहरुमा फैलिसकेको छ । संक्रामक नयाँ भेरियन्टलाई रोक्ने उद्देश्यले धेरै देशहरुले भारतबाट हुने उडान रोकिसकेका छन् ।
भारत अहिले कोरोना संक्रमणबाट अति नै प्रभावित छ । नयाँ संक्रमित विरामीहरुको संख्या र मृत्युदर बढिरहेको छ । यी बिरामीहरुलाई धेरै नै अक्सिजन चाहिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । बिरामीहरुको संख्या बढेपछि अस्पतालमा बेड र अक्सिजन अभाव भएको छ ।
यसैबीच डब्ल्यूएचओले कोरोनाका कारण संकटमा परेको भारतका लागि ‘टुगेदर फर इन्डिया’ अभियान शुरु गर्ने घोषणा गरेको छ । यो अभियानको उद्देश्य भारतमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मीका लागि, सुरक्षाका सामग्री खरिद गर्नका लागि आवश्यक कोष जम्मा गर्नु हो ।