काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन उचित नभएकोले सोमबारको बैठकमा अनुपस्थित भएको स्पष्टीकरण दिएका छन् ।
सोमबार साँझ प्रेस विज्ञप्ती जारी गरेर बरिष्ठ नेता नेपालले राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादालगायत कुनैपनि दृष्टिबाट प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन उचित नभएकाले बैठकमा अनुपस्थित भएको स्पष्टीकरण दिएका हुन् । ‘उहाँका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तब्य हुनेभएकोले सोही अनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौं ।’जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।