काठमाडौँ/
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीसँग सांसदहरुसँग विश्वासको मत माग्ने नैतिकता नभएको बताएका छन्। संसद विघटन गरेर सांसद मारेका ओलीले देशमा यो समस्या थोपरेको हुनाले सांसदहरुसँग विश्वासको मत माग्ने नैतिकता सकिएको उनले बताएका हुन्।
प्रधानमन्त्री ओलीले संसद्को जारी बिशेष बैठकमा आफ्नो सरकार जोगाउन सांसदहरुसँग आफूलाई विश्वासको मत मागेपछि संसदमा बोल्दै ओलीको प्रतिउत्तरमा प्रचण्डले सो कुरा बताएका हुन्।
कोरोना भाइरसले मानिसहरुलाई आक्रान्त बनाएजस्तै ओलीले देशलाई आक्रान्त बनाएको आरोप लगाउदै त्यै ओलीले आक्रान्त बनाएको अवस्थाबाट देश अहिले गुज्रिरहेको धारणा प्रचण्डले व्यक्त गरे। वाम एकताको बनेको पहिलो दिनबाट नै ओली त्यो एकता खतम गर्न लागेको बताउदै उनले वाम एकताबाट ओलीलाई नै ऐतिहासिक अवसर आएको तर उनले त्यो अवसर चिन्न नसकेर अहिले यो अवस्था सिर्जना गरेको बताए।
देशम कोभिड फैलाउनमा पनि ओली नै जिम्मेवार भएको बताउदै प्रचण्डले प्रधानमन्त्रीको पदबाट कहिले ठुला ठुला जुलुस गरेर त कहिले रथयात्रा गरेर उनले महामारी बढाएको दोषारोपण गरे। मनमा एउटा कुरा राखेर मुखबाट अर्कै कुरा गर्ने व्यक्ति ओली भएको एउटै पार्टीमा बस्दा आफूले अनुभव गरेको समेत प्रचण्डले बताए।