• मंसिर १४ २०८१, शुक्रबार

पार्टीको आन्तरिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री ओलीद्वारा विज्ञप्ति जारी 

बैशाख २६ २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएको राजनीतिक घटनाक्रमबारे आइतबार एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका बेला अध्यक्ष ओलीले प्रेस विज्ञप्ति जारी गरेर नेपाल पक्षलाई लक्षित गर्दै पार्टीलाई मजबुत पार्ने र पार्टी एकताका पक्षमा रहन आग्रह गरेका छन् । 

‘जनताको आशा भरोसा र विश्वासको केन्द्र यो पार्टी– नेकपा (एमाले)लाई अझ सुदृढ र एकतावद्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमुख दायित्व आजको पुस्ताको हो । कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्श्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन,’ अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आफ्नै पार्टीको नेतृत्वमा बनेका सरकार ढाल्न लाग्नु हानिकारक रहेको भन्दै अध्यक्ष ओलीले भनेका छन्,‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन् ।’

‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालि छाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन् । के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ?’ प्रश्न गर्दै अध्यक्ष ओलीले भनेका छन्,‘सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न नहुनेमा विश्वस्त रहेको भन्दै अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘भ्रम फैलाइए जस्तो र हल्ला चलाइए जस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन । म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।’

उनले राणा शासनको अन्धकार युगमा सुन्दर भविष्य र संकल्पका साथ स्थापित, संगिठत र सक्रिय भई अघि बढेको बामपन्थी आन्दोलन धेरै शहीदको बलिदान, धेरै अग्रजका मार्गदर्शन र योगदानबाट आज यस ठाउँमा आइपुगेको बताएका छन् ।

प्रेस वक्तव्य :