• मंसिर १४ २०८१, शुक्रबार

ओली र नेपाल पक्षका नेताहरूको भेटवार्ता निष्कर्षहीन

बैशाख २५ २०७८, शनिबार

काठमाडौं/

नेकपा (एमाले)को दुई पक्षीय राजनीतिक विवादले पार्टी फुटको सम्मुखमा पुगेको छ । फुटबाट जोगाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू अन्तिम प्रयास गरिरहेका छन् ।

बैशाख ८ गते प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा यी दुई नेताबीच लामो समयदेखिको संवादहीनबाहेक गाँठी कुरा केही हुन सकेन । यद्यपि उनीहरूको भेटले एमाले नेता, कार्यकर्ताको अपेक्षामाथि उपेक्षामात्रै भयो । त्यसयता यी दुई पक्षीय नेताहरूबीच भेटवार्ता हुँदै आएको छ । तर, उनीहरूको भेटवार्ताले पार्टीको विवाद टुंगो लगाउने सन्दर्भमा कुनै औपचारिक निर्णय भने लिन सकेको छैन ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिने भएका छन् । यसका लागि उनले नेपाल पक्षका नेताहरूसँग भेटवार्ता गरिरहेको बालुवाटार स्रोत बताउँछ । उनी पक्षका प्रत्येक नेतालाई ओलीले छुट्टाछुट्टै भेटवार्ता गर्दै आएका छन् । तथापि ओलीले नेपाल पक्षका नेताहरूसँग गरेको भेटवार्ताले आजसम्म कुनै सार्थकता भने पाउन सकेको छैन ।
ओलीले नेपाल पक्षका नेताहरूलाई बारम्बार भेटेर आफ्नो पक्षमा लाग्न आग्रह गरेको नेपाल पक्षका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार, –‘पार्टी भित्रको विवादीत गाँठो फुकाउने विषयमा छलफल गर्नुको साटो ओलीले आफ्नो पक्षमा लाग्न आग्रह गर्नुले आजसम्म कुनै निष्कर्षमा पुग्न सकिएको छैन । तर, यतिबेला पार्टी एकता गुमराहमा पर्ने देखिएकोले दुवैपक्ष आपसमा छलफल गरिरहेका छौं ।’

यसअघि ओलीले नेपाल पक्षका नेताहरू एकएक जनालाई भेटेर आफ्नो पक्षमा लाग्न आग्रह गरेका थिए । तर, तीन दिनयता दुवै पक्षले विभिन्न चरणमा भेटवार्ता गर्दै आएको छ । ओलीले शुक्रबार गोकर्ण विष्टलाई सरकारी निवास बालुवाटारमै बोलाएर छलफल गरेका छन् । छलफल झन्डै एकडेढ घण्टा लामो भएको बालुवाटार स्रोतले बतायो । उनीहरूबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल भएको थियो । विष्टले ओलीसँग भेटवार्ता गरे लगत्तै वरिष्ठ नेता नेपाललाई जानकारी गराएका थिए ।

त्यस्तै अर्का नेता घनश्याम भुसाल र योगेश भट्टराईसँग बिहीबार ओलीले बालुवाटारमै बोलाएर लामो समय छलफल गरेका थिए । उक्त छलफलमा पार्टी भित्रको विवाद समाधनका बारेमा ओलीले कुनै प्रस्ताव नल्याएको बताइएको छ । समसामयिक राजनीतिक विषयमा छलफल भए पनि पार्टी भित्रको राजनीतिक विवाद समाधानको विषयमा कुनै छलफल नै नभएको नेपाल पक्षका नेताले बताए ।

नेपाल पक्षले ओलीसँग विगत केही महिना यता २०७५ जेठ २ गतेको अवस्थामै फर्कनुपर्ने अडान राख्दै आएको छ । त्यो अडान भने ओली कुनै हालतमा मान्न तयार छैनन् । उनले यो कुरा नमानेपछि ओली र नेपाल पक्षका नेताहरू आपसमा छलफलमा जुटेका छन् ।

तथापि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेललाई पार्टी विवाद समाधानका लागि परिचालित गरेका छन् । गत शुक्रबार नेपाल पक्षका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डेले उनीहरूसँग भेट पनि गरेका छन् । भेटका क्रममा पार्टीभित्र बल्झिएको विवाद समाधानका विषय थप छलफल भएको उनीहरूले बताएका छन् ।

नेपाल पक्षका नेताहरू यतिबेला पार्टीको विवाद मिलाउन निकै लचिलो भएर प्रस्तुत भएका छन् । दुवै पक्षका दोस्रो तहका नेताहरू आपसमा भेटवार्ता र छलफल गरिरहेका छन् । भेटवार्ता र छलफलका क्रममा कुनै पनि निष्कर्ष ननिस्किएको बताइएको छ । तर, प्रधानमन्त्रीले विश्वासको मत लिने दिन नजिकिदै गर्दा एमाले भित्रको राजनीतिक विवाद मथ्थर हुँदै गएको छ ।

पार्टीका दुवै पक्षीय नेताहरू जतिसक्यो भेटवार्तालाई गति दिने ध्याउन्नमा छन् भने विवाद समाधान गर्ने पक्षमा अहोरात्र खटिरहेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि अब बाँकी दुई दिनमात्रै बाँकी छ । यसबीचमा पार्टीका नेताहरू गम्भीर छलफलमा जुट्ने नेता महेश बस्नेतले बताए । बस्नेतका अनुसार, –‘पार्टी भित्रको विवाद समाधानका लागि दुवै पक्षका नेताहरू प्रयासरत हुनुहुन्छ तर, हालसम्म कुनै निष्कर्ष निस्किएको छैन र चाँडै निस्किने आशा गर्न सकिन्छ ।’

पछिल्लो समय नेपालपक्ष हदैसम्म लचिलो भएपछि प्रधानमन्त्री ओलीले पार्टीको विवाद मिलाउने, जेठ २ गते राष्ट्रियसभा उपनिर्वाचनमा जित्ने र बैशाख २७ गते विशेष संसदको अधिवेशनबाट विश्वासको मत लिनका लागि तयारी तीव्र पारेका छन् । ओलीले आफ्ना यी स्वार्थसिद्धका लागि आफ्ना नेताहरूसँग छलफल र भेटवार्तालाई गति दिएपछि नेपाल कडा रूपमा प्रस्तुत हुँदै आएको एक नेताले बताए । तर, पार्टी फुटको संघारमा पुगेको बेला नेपाललाई कडा नहुन नेताहरूले आग्रह गर्दै आएका छन् । तथापि नेपाल पक्षका नेताहरू भने लचिलो बनेका छन् ।

आसन्न जेठ २ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि नेपाल पक्षले विपक्षी दलहरूसँग मिलेर आफ्नो तर्फबाट डा.खिमलाल देवकोटाको उम्मेदवारी दर्ता गराएको छ । शुक्रबार नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा)बाट देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल पक्षसँग कुरा नमिलेपछि एमालेले गृहमन्त्री रामबहादुर थापाको उम्मेदवारी दर्ता गराएको छ । यदि पार्टी भित्रको विवाद समाधान भएको खण्डमा उम्मेदवारी फिर्ता लिएर पनि जानसक्ने सम्भावना रहेको दुवै पक्षका नेताहरूले बताएका छन् ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाल पक्षले विपक्षी दलहरूसँग कार्यगत एकता गरेको छ । यस्तो बेलामा नेपाल पक्षले ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा अनिर्णित बनेको छ । नेपाल पक्षकै केही नेताहरूले ओलीलाई विश्वासको मत दिनुपर्ने प्रस्ताव गरेका छन् भने अधिकांश नेताले दिन नहुने बताउँदै आएका छन् । ओलीले आफूहरूलाई जतिबेला पनि कारबाही गर्ने भएकाले विश्वासको मत दिनुको साटो बरु सामूहिक राजीनामा दिएर जानुपर्ने प्रस्ताव समेत राखेका छन् ।

बैशाख ८ गते मेरियट होटलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली ओली र वरिष्ठ नेता नेपालकुमार नेपालबीचको भेटवार्ता भएको थियो । उक्त भेट पश्चात् नेपाल पक्षका नेताहरूसँग ओलीले एक्लाएक्लै एवम् सामूहिक रूपमा भेटवार्ता गर्दै आएका छन् । नेपाल पक्षका नेताहरूले पनि ओली पक्षका नेताहरूसँग आपसमा भेटवार्ता गर्दै आएका छन् । तर, यी दुवै पक्षको भेटवार्ताले पार्टी भित्रको राजनीतिक विवाद समाधानका लागि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।