काठमाण्डौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल (नेपाल-खनाल) पक्षको राजनीतिक विवादले राष्ट्रिय राजनीतिमा उछाल ल्याएको छ । राजनीतिक विवादले एमाले फुटको सम्मुखमा पुगेको छ । अध्यक्ष ओली र वरिष्ठ नेताद्वय नेपाल-खनालबीचको विवादले विभाजनतर्फ उन्मुख एमालेको समाधानको उपाय भने निस्किन सकेको छैन । तथापि विवाद समाधानका लागि पार्टीभित्र छलफल तथा भेटवार्ता भने नभएका होइनन् ।
पार्टीका नेता तथा कार्यकताहरूलाई जानकारी दिएर वा नदिएर ओली र नेपालले भेटवार्ता पनि गरेका थिए । तर, उनीहरूबीचको पटक-पटकको भेटवार्ताले कुनै निष्कर्षमा भने पुर्याउन सकेको छैन । पार्टीका अधिकांश नेता, कार्यकताहरूलाई थाहै नदिएर बैशाख ८ गते मेरियट होटलमा ओली र नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तालाई लिएर कतिपय नेता, कार्यकर्ता पार्टी एकता जोगिनेमा आशावादी थिए । तर, उनीहरूको आशालाई निराशामा परिणत गरिदियो, -‘ओली र नेपालको भेटवार्ताले ।’
यो भेटवार्ताले ओली र नेपालबीचको लामो समयको संवादहीनतालाई संवादमा परिणतमात्रै गरिदियो । त्यसबाहेक गाँठी कुरा केही हुन सकेन । मात्रै नेता, कार्यकर्ताको उपेक्षामाथि उपेक्षा भयो । मेरियट होटलमा भएको भेटवार्ता पश्चात् नेपाल जनकपुर गएका थिए । जनकपुरमा उनले ओलीसँगको भेटवार्तामा कुनै सहमति नभएको बताएका थिए । बरु थप तिक्तता बढेको बताए । भेटका क्रममा ओलीले धरहराभन्दा अग्लो दम्भ देखाएको नेपालले बताएका थिए ।
उनले भने, –‘त्यसो त उहाँ हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो । धरहरा हेरेर आफ्नो दम्भ हेराउँदै हुनुहुन्थ्यो । उहाँको दम्भको कुनै अर्थ छैन ।’ नेपाल जनकपुर पुगेर ओलीको आलोचना गर्दैगर्दा बालुवाटारमा ओलीले नेपालमाथि कडा एक्सन लिने तयारी गरिरहेका थिए । आफूले लिएको एक्सनको तयारी पनि ओलीले पूरा गरेका थिए । उनले लिएको एक्सनअनुसार नै बैशाख १० गते बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो । उक्त बैठकले माधवकुमार नेपालसहित ३० जना सांसदलाई कारबाही गर्ने तयारी पनि नगरेको होइन् । तर, आफूनिकट नेताहरूले संसदीय जोड–घटाउ देखाएपछि ओली कारबाही प्रकरणलाई लिएर पछि हच्किएका थिए । तथापि ओलीले नेपाल पक्षका सांसदहरूलाई जुनसुकै समयमा कारबाही गर्न सक्ने प्रष्ट छ । यस विषयमा नेपालपक्ष पनि जानकार नै छ ।
आफूहरूलाई कारबाही गर्ने थाहा पाएका नेपाल पक्षका सांसदहरूले पनि उपाय अवलम्बन गरेका छन् । प्रधानमन्त्री ओलीले २७ गते विश्वासको मत लिँदैछन् । आफूहरूलाई कारबाही गरेरै छोड्ने ओलीलाई विश्वासको मत नदिँने पक्षमा नेपाल पक्षका सांसदहरू उभिएका छन् । उनीहरूले यो सन्देश बालुवाटारसम्म पुर्याइसकेका छन् । बालुवाटारमा ओलीले यो सन्देश प्राप्त गरेपछि उनी पक्षका नेताहरू झस्किएका छन् ।
ओलीले विश्वासको मत लिनका लागि हरहमेशा कोसिस गरिरहेको उनीनिकट नेताहरूले बताएका छन् । यदि विश्वासको मत नपाए के गर्ने ? यसको तयारी पनि गरिरहेका छन् । माधव नेपाल पक्षसँग लचिलो हुनुपर्ने ओली पक्षका दोस्रो तहका नेताहरूले आवाज उठाउँदै आएका छन् । तर, ओली भने नेपालसँग रत्तिभर नझुक्ने रणनीतिमा छन् । यद्यपि प्रधानमन्त्री पद सुरक्षाका लागि नेपाल पक्षसँग ओलीले सहमति गर्नसक्ने एमाले वृत्तमा उत्तिकै चर्चा छ । तर, पछिल्लो समय माधवकुमार नेपाल पक्षलाई सकेसम्म फुटाउने रणनीतिमा ओली छन् ।
नेपाल पक्षलाई फुटाएर तितरवितर बनाएपछि विपक्षी दललाई रणमुल्लमा राख्ने उनले औपचारिक निर्णयसमेत गरेका छन् । बालुवाटारमा गत चैत ७ गते बसेको संसदीय दलको बैठकमा नेपाल समूहका ३८ जना सांसदहरूले असहमति पत्र बुझाउँदासम्म पनि त्यसको ठाडै अस्वीकारेका थिए । ओलीले नेपाल पक्षका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन् । तर, छुट्टाछुट्टै नभेटने भनेर नेपालले अडान राखेपछि सामूहिक भेटवार्ता हुँदै आएको छ । केही दिनअघि ओलीले एमालेको पुरानो मुख्यालय धुम्बाराहीमा नेपाल पक्षका शीर्ष नेताहरूसँग भेट गरेका थिए । सरकारी निवास बालुवाटारमै भेटवार्ता गर्न चाहने ओली पुरानो मुख्यालय पुगेर लचिलो बनेर नेपालसँग सहमति गर्ने उनको सोचसम्म नभएपछि नेपाल केही लचिलो बनेका छन् ।
एक्लै नभेट्ने अडान राखेका नेपालले ओलीलाई गोप्य भेटवार्ता गरेर थप लचिलो बनेको नेता, कार्यकर्तालाई सन्देश दिएका छन् । बैशाख ८ गते नेपाल पछि हटेर ओलीसँग मेरियट होटलमा गोप्य वार्ता गर्न समेत तयार भए । तथापि उक्त भेटवार्ताले कुनै सहमतिको टुंगोमा समेत पुर्याउन भने सकेन । बरु यस भेटवर्ता पश्चात् ओली र नेपालबीच थप भेटवार्ता, छलफल गर्ने माहोल तयार गरेको छ । यही माहोलका बीचबाट सहमतिको प्रयासका लागि सार्वजनिक रुपमै गोप्य भेटघाट भएका छन् । गोप्य तथा सार्वजनिक भेटघाट गर्नका लागि ओली र नेपालका दूतहरूले अहम् भूमिका निर्वाह गर्दै आएका छन् ।
उनीहरूले सके भेटवार्ता नसके टेलिफोन संवाद पनि गराइ राखेका छन् । गोप्य भेटवार्ता र टेलिफोन वार्ताकै सन्दर्भमा नेपालले बिहीबार (हिजो) राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । तर, राष्ट्रपतिसँगको भेटवार्तामा के निर्णय गरिएको छ ? त्यो ओली र नेपाल दुवै पक्षले गोप्य राखेका छन् । नेपाल निकट स्रोतका अनुसार भण्डारीसँगको भेटवार्तामा उनलाई साँची राखेर सहमति भएको छ । उक्त समहमति सकारात्मकतिर उन्मुख भएको स्रोतको दाबी छ । तर, यो कुरालाई भने ओली पक्षका नेताहरूले अस्वीकार गरेका छन् । बरु राष्ट्रपति भण्डारीले ओली र नेपाललाई छुट्टाछुट्टै भेटेको बालुवाटार स्रोत बताउँछ । ओली र नेपालबीचको भेटवार्ताले कुनै निष्कर्ष ननिकालेपछि नेपालको पक्षमा रहेका कुनै पनि सांसदले पार्टीको निर्णयविरुद्ध अगाडि बढ्न नसक्ने ओली पक्षले बताउँदै आएको छ ।
यस्तो अवस्थामा भने उनीहरूलाई ओलीले एक्लाएक्लै संवाद गरेका छन् । तथापि पार्टीको निर्णय बेगर कतै जान नहुने भन्दै नेपाललाई आफ्नै नेताहरुको दबाब पनि कायमै छ । यसैबीच नेपाल पक्षका सांसदहरूले बालुवाटार स्रोतलाई आफूहरूले सामूहिक राजीनामा दिने बताइ सकेका छन् । तर, यस विषयमा ओली कुनै टसमस भएका छैनन्, बरु नेपाल पक्षले सके विश्वासको मत दिन्छ, नभए एमाले राजनीतिक वृत्त फरक चक्रमा घुम्छ । तथापि उनको यस्तो हुने बताए पनि ओलीले विश्वासको मत लिन र एमालेको एकता कायमै राख्ने कोसिस भने जारी राखेका छन् । यसका लागि उनले एमाले नेताहरूसँग छलफल तीब्र पारेका छन् ।
नेताहरुसँग भेटवार्ता, छलफल पनि गर्ने र टेलिफोन संवाद पनि गर्ने गरेको स्रोतले बताउँदै आएको छ । अर्कोतर्फ फरक राजनीतिक निर्णय पनि गर्ने ओलीको पुरानै प्रवृत्ति यतिबेला पनि देखा परेको छ । यसो हुँदा पनि ओलीले बिहीबार रातिसम्म नेपाल पक्षका नेता घनश्याम भुसाल र योगश भट्टराईसँग भेटवार्ता गरेका छन् । तथापि उनीहरूसँगको भेटमा कुनै सहमति भने नभएको बताइएको छ । पार्टी एकताका लागि नेपाल ओली पक्षसँग लचिलो हुँदा पनि कुनै भद्र सहमति हुनसक्छ भन्ने आकलन गरिएको छ । तर, आजसम्मका ओली र नेपालबीचको भेटवार्ता असहमति उन्मुख हुनुले नेकपा (एमाले) कुनमा मोडमा पुग्छ । त्यसको निर्क्यौल भने बैशाख २७ गतेले गर्नेछ । बैशाख २७ गते ओलीले विशेष संसद अधिवेशनबाट विश्वासको मत लिनेछन् ।