• मंसिर ११ २०८१, मंगलवार

कोरोनाको खोप चाँडो उपलब्ध गराउन राष्ट्रसँघलाई उप-प्रधानमन्त्री पोखरेलको ताकेता

बैशाख २४ २०७८, शुक्रबार

काठमाडौँ /

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाउने कोभिड-१९ विरुद्धको खोप सक्दो छिट्टो उपलब्ध गराइदिन संयुक्त राष्टसँघलाई उप-प्रधानमन्त्री ईश्वर पोखरेलले अनुरोध गरेका छन्। नेपालस्थित संयुक्त राष्ट्रसँघीय आवासीय संयोजक सारा वेस्लो न्यान्तीसँग शुक्रबार भएको टेलिफोन संवादमा पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट नेपालले पाउने कोभ्याक्स अन्तर्गतको खोप सक्दो छिट्टो ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्।

‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले पाउने कोभ्याक्स अन्तर्गतको खोपमा संयुक्त राष्ट्रसँघको सहजीकरणको अपेक्षा गरेको छु’,उप-प्रधानमन्त्री पोखरेलले भने, ‘यसका साथै भेन्टिलेटर,पीपीई,अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेण्ट्रेटर, मोबाइल अक्सिजन प्लाण्ट, औषधी, खोप र खोपसँघ सम्बन्धित सामग्री, अस्थाई अस्पताल स्थापनाका लागि आवश्यक पुर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका बिषयमा नेपालले सहयोगको अपेक्षा गरेको छ।’ नेपालीहरुलाई खोप सुविधा उपलब्ध गराउन नेपाल सरकारले कुटनीतिक पहल गरिरहेको उप-प्रधानमन्त्री पोखरेलले जानकारी दिए।

कोभ्याक्स अन्तर्गत नेपालले २०प्रतिशत  जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म ३ लाख ४८ हजार डोजमात्र प्राप्त गरेको छ। ने पाल सरकारले खरिद गरेको २० लाख मध्ये १० लाख डोज नेपाल आइसकेको छ भने अरु १० लाख खोप आउन अझैं बाँकी छ।

यसैगरी भारत सरकारबाट १० लाख डोज,भारतीय सेना मार्फत नेपाली सेनालाई १ लाख डोज र चीनबाट ८ लाख डोज खोप नेपालले प्राप्त गरेको छ।