एक प्रजातिको वंशाणु अथवा जीनलाई अर्को पृथक प्रजातिमा स्थानान्तरणगरी विकास गरिएको जीवलाई अनुवंश परिवर्तित जीव भनिन्छ । यसलाई अंग्रेजीमा जिएमओ भनिन्छ । जिएमओको पुरा रुप जेनेटिकल्लि मोडिफाई अर्गानिज्म (Genetically Modified Organism) हो । हिजो आज कृषि व्यवसायमा जिएमओ निक्कै चलन चल्तिको शब्द बनेको छ ।
यो कार्य जेनेटिक इन्जिनियरिङ्ग प्रविधिले गर्ने हो । बिरुवा तथा जीवहरुमा यसको प्रयोग गरिन्छ । कृषिमा ब्याक्टेरियाबाट धेरै किसिमका वंशाणुहरुलाई बालीमा स्थानान्तरणगरी रोग, किरा तथा झारपात नियन्त्रणमा प्रयोग गरिँदै आएको छ । यस प्रविधिले बालीको गुणस्तर तथा खाद्य पोषक तत्वको सुधारमा पनि निक्कै प्रभाव पारेको देखिन्छ ।
यस क्षेत्रका प्राविधिकहरुले धान, मकै, भटमास, कपास, गोलभेंडा, मेवा जस्ता बालीहरुमा जिएमओ प्रविधि अपनाएर रासायनिक पदार्थ वा धातुलाई छुट्ट्याएर हानिकारक पदार्थलाई लाभ गर्ने पदार्थमा परिणतगरी बालीनालीमा निक्कै सुधार ल्याएका छन् । विश्वमा यो प्रविधि लोकप्रिय हुँदै गएको भएपनि नेपालमा भने अणुवंश परिवर्तनगरी नयाँ जीवको विकास तथा बजार निष्काशन गर्ने खालको अध्ययन अनुसन्धान खासै भएको पाइँदैन ।
तर पछिल्लो चरणमा नेपालका कृषि विज्ञहरु भने यसतर्फ आकर्षित भएका छन् । यस प्रविधिलाई उपयुक्त वातावरण बनाई यसका तर्फबाट हुने हानी नोक्सानीलाई निराकरणगरी यसबाट हुने फाइदाहरु लिन सकेको खण्डमा नेपालमा कृषि क्षेत्रले एक नयाँ मोड लिने थियो । नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालयले राष्ट्रिय जैविक सुरक्षा संरचना २०६३ (नेशनल वायोसेफ्टि फ्रेमवर्क) तयार गरेतापनि यस अनुरुप खासै कार्य भएको देखिँदैन ।
त्यसकारण समयमा नै नेपालले पनि आधुनिक जैविक प्रविधिको अनुसन्धान र विकासगर्न आवश्यक छ । साथै यसको उपयोगिताबारे आम कृषकहरुमा छिटो भन्दा छिटो सन्देश पुर्याई यसको नकारात्मक पक्ष हटाएर बढी भन्दा बढी लाभ लिनु आजको आवश्यकता मात्रै होइन यो अपरिहार्यता समेत बनेको छ ।
नाला, बनेपा, काभ्रे
हालः (गोगबुँ, काठमाडौं)