• मंसिर १४ २०८१, शुक्रबार

ओलीले बोलाएको बैठकमा नेपाल समूह माथिको कारवाही फिर्ताबारे छलफल

बैशाख २३ २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार विहान बोलाएको आकस्मिक स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको छ ।

अध्यक्ष ओलीले पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निष्काशन गरिएको पत्र पठाएका थिए ।

अध्यक्ष ओलीले ७ चैतमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेर कारबाहीको निर्णय गरेको थियो । 

ओलीले नेता नेपाल समूहका ३० सांसदलाई स्पष्टीकरण सोधेका छन् । तर २७ वैशाखमा विश्वासको मत लिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकाले नेताहरुलाई थप कारबाही भन्दा यसअघि भएको कारबाही फिर्ता गर्नेबारे बिहीबार बालुवाटारमा आयोजित बैठकमा छलफल भएको हो । आज बसेको बैठकले स्पष्टीकरण सोधिएका चार नेतासहित ३० सांसदलाई तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।