काठमाडौं । बामगती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा (एमाले)कै दुई जना उम्मेद्वार भिड्ने भएका छन् ।
प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षको उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ हुनेछन् । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र एमाले माधवकुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) पक्षसहित विपक्षी गठबन्धनका साझा उम्मेद्वार डा.खिमलाल देवकोटा हुनेछन् । डा.देवकोटा एमाले नेपाल–खनाल पक्षका हुन् ।
ओली पक्षका उम्मेद्वार बादलविरुद्ध विपक्षी दलहरू काँग्रेस र माओवादी केन्द्रसँग मिलेर एमाले नेपाल–खनाल पक्षले आफ्ना नेता देवकोटालाई उम्मेद्वार बनाएपछि एउटै पार्टीभित्र कडा टक्कर हुने निश्चित छ ।
उम्मेद्वारद्वय बादल र डा.देवकोटाबीच टक्कर हुने निश्चित भए पनि बामती प्रदेशको मतदाता संख्या भने यस्तो छः
प्रदेश सभा सदस्यको अंकगणितः
आसन्न जेठ ६ गते हुने उक्त सभाको उपनिर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने छन् ।
तथापि बागमती प्रदेशमा प्रदेश सभा सदस्य १ सय २० जना छन् । जसअन्तर्गत एमालेका ५७ जना प्रदेश सभा सदस्य रहेका छन् । ५७ मध्ये २२ जना प्रदेश सभा सदस्य नेपाल–खनाल पक्षका छन् भने माओवादी केन्द्रका २३ र काँग्रेसका २२ जना प्रदेश सभा सदस्य छन् ।
विवेकशील साझाका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेककिपा)का २ र जनता समाजवादी पार्टी (जसपा)को १ जना प्रदेश सभा सदस्य छन् ।
प्रदेश सभा संसदीय अंकगणितअनुसार एमालेका उम्मेद्वार बादलको पक्षमा ३५ जना प्रदेश सभा सदस्य छन् । विपक्षी गठबन्धन काँग्रेस, माओवादी केन्द्र, एमाले नेपाल–खनालपक्ष र जसपा सहितका ६८ जना प्रदेश सभा सदस्य देवकोटाको पक्षमा हुनेछन् ।
यी बाहेक विवेकशील साझाका ३, राप्रपा र नेमकिपाका २/२ जना गरी ७ जनाले कसको पक्षमा उभिने हुन्, टुंगो भने लागेको छैन ।
स्थानीय तहको मतदाता संख्याः
स्थानीय तहमा एमालेका मतदाता अर्थात् प्रमुख र उपप्रमुख १ सय ३३ जना छन् । काँग्रेसका ६७, माओवादी केन्द्रका ३३ र जसपाका १ जना छन् । यीमध्ये मतदान गर्न भने २ सय ३९ जनाले पाउने छन् ।
जसअन्तर्गत एमालेका १ सय ३३ जना छन् । विपक्षी गठबन्धनको मतदाता संख्या भने १ सय १ मात्रै रहेको छ । बाँकी पार्टीका मतदाताले कता भोट गर्छन्, उनीहरूले आजसम्म टुंगो लगाएका छैनन् ।
तथापि स्थानीय तहमा एमालेका १ सय ३३ जनामध्ये नेपाल–खनाल पक्षका कति छन्, प्रष्ट खुलेका छैनन् । एमाले नेपाल–खनालपक्ष विपक्षी दलहरूसँग गठबन्धन गरेको हुनाले मत घट्न सक्ने आकलन गरिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐनः
उक्त ऐनअनुसार प्रदेश सभा सदस्यको मत संख्या ४८ हुन्छ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतसंख्या १८ हुन्छ । यसअनुसार प्रदेश सभा सदस्य ५७ जना भएमा एमालेको जम्मा मत संख्या २ हजार ७ सय ३६ हुन्छ । यसमध्ये नेपाल पक्षका २२ प्रदेश सभा सदस्यले मतदान गरेनन् भने एमाले अध्यक्ष ओली पक्षसँग ३५ प्रदेश सभा सदस्यको १ हजार ६ सय ८० मतसंख्या हुन आउँछ ।
एमाले नेपाल–खनाल पक्षका २२ जना प्रदेश सभा सदस्यको १ हजार ५६ मतसंख्या कम हुनेछ । काँग्रेसका २२ प्रदेश सभा सदस्यबाट १ हजार ५६, माओवादी केन्द्रको २३ प्रदेश सभा सदस्यमध्ये १ हजार १ सय ४ र जसपाको एक जना सांसदबाट ४८ मत संख्या हुन्छ । विवेकशील साझाको १ सय ४४, राप्रपा र नेमकिपाको ९६÷९६ र जसपाको ४८ हुन आउँछ ।
त्यस्तै स्थानीय तहतमा भने नेकपा (एमाले)को २ हजार ३ सय ९४, नेपाली काँग्रेसको १ हजार २ सय ६, नेकपा माओवादी केन्द्रको ५ सय ९६, राप्रपा र नेमकिपाको ३६÷३६ र जसपाको १८ हुन्छ ।
अंकगणितीय हिसाबले बादल कि डा.देवकोटा बलियो ?
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल दुवै पक्षको प्रदेश र स्थानीय तहको मतसंख्या जोड्दा जम्मा ५ हजार १ सय ३० हुन आउँछ । काँग्रेसको २ हजार २ सय ६२, माओवादी केन्द्रको १ हजार ७ सय, विवेकशील साझाको १ सय ४४, राप्रपा र नेमकिपाको १ सय ३२÷१ सय ३२ र जसपाको ६६ मतसंख्या हुन्छ ।
यसरी जोड घटाउ गर्दा एमाले उम्मेद्वार बादलसँग ५ हजार १ सय ३० मतसंख्या हुन्छ । विपक्षी गठबन्धन काँग्रेस, माओवादी केन्द्र र जसपासँग भने जम्मा ४ हजार २८ मतसंख्या हुन्छ । विवेकशील साझा, राप्रपा र नेमकिपा विपक्षी गठबन्धनमा थपिन पुगे ४ हजार ३ सय ८८ मतसंख्या हुन्छ ।
तथापि अहिलेसम्मको आकलनअनुसार राप्रपा र नेमकिपा एमालेनिकट देखिन्छन् । यसर्थ यो मत एमालेमा जोडियो भने ५ हजार ३ सय ९४ मतसंख्या हुन आउँछ र विपक्षी गबठन्धनको मतसंख्या स्वतः घट्न आउँछ ।
तर, विवेकशील साझाको मत विपक्षी गठबन्धनमा रहने देखिन्छ । यसर्थ यस्तो अवस्थामा भने ४ हजार १ सय ७० मतसंख्या पुग्न जान्छ । यतिसम्मको अंकगणितीय जोड घटाउ हुँदा पनि एमाले उम्मेद्वार बादल नै बलिया देखिन्छन् ।
तथापि एमाले नेपाल–खनाल पक्षका २२ जना प्रदेश सभा सदस्यको मतसंख्या १ हजार ५६ मात्रै थपिदा डा.देवकोटाको पक्षमा ५ हजार २ सय २६ मत हुन आउँछ । यसो हुँदा एमालेको मतभार घटेर ४ हजार ३ सय ३८ हुन्छ ।
मतसंख्या यति भए एमाले नेपाल–खनाल पक्षका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान नगरे पनि डा.देवकोटा नै बलियो देखिन्छन् । उनीले नै आसन्न जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा बाजी मार्न सक्नेछन् ।