• मंसिर १२ २०८१, बुधबार

एनआईसी एसिया बैंकलाई चर्को ब्याज लिएकोबारे राष्ट्र बैंकद्वारा जवाफ माग 

बैशाख २२ २०७८, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीलाई महामारीमा पनि एनआईसी एसिया बैंकले चर्को ब्याज लिएको बारे जवाफ माग गरेको छ ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ले बैंकलाई पत्र काटिएको पुष्टि गरे । उनका अनुसार अचाक्ली ब्याज लिएर महामारीमा पनि ग्राहकलाई समस्यामा पारेको भन्ने विषयबाहिर आएपछि जवाफ माग गरिएको हो । बैंकले जवाफ भने फर्काएको छैन ।

‘यो सुपरीवेक्षण विभागले गर्ने कुरा हो, जवाफ माग गरेर पत्र काटिएको छ’ नियमन विभागका प्रमुख समेत रहेका प्रवक्ता ढकालले भने, ‘हिजो मात्रै पत्र काटिएको छ, आज वा भोलिसम्ममा जवाफ आउँला ।’ बैंकको जवाफपछि मात्रै के गर्ने भनेर सुपरीवेक्षण विभागले निर्णय गर्नेछ ।

एनआईसी एसिया बैंकले पछिल्लो समय अत्यधिक ब्याजदर लिने गरेको गुनासो बढेको छ ।