सोचे थे होला कसैकसैले
जलजला सुगम थलो
बुझेथे होला महलबाटै
त्यो भोगबिलासको केन्द्र हो
चाह राखे थे होला कसैले
म जलजलामा शान देखाउँछु
म जलजलामा
मेरो टोपी टल्काउँछु
सोचे जस्तो होइन जलजला
रोजेजस्तो छैन जलजला
महलका रानीहरुका लागि
चाहेजस्तो छैन जलजला
ऐसका भोगीहरुका लागि !
जलजला पीडाको शीर हो
रक्तभेलबाट ठडिएको अभेद्य किल्ला हो
आँशुका धाराबाट साचिएको खम्बा हो
मुक्तिसंग्रामका योद्धाहरुले बचाएको मस्तुल हो
जसको छातीभरि
रक्त जडित लाली फक्रेको छ
बुकीका पत्रपत्रमा
रगतका छिर्काहरु छन्
जहाँ सुनिलको नसा जडित छन्
जहाँ दीर्घको प्राणवायु बहेको छ
जहाँ कुमारी र सुनसराको दृष्टि बाँचेको छ
जलजला बृद्ध वरदानको अस्थिपञ्जरले
कहिल्यै नढल्ने गरी उभिएको छ
आगो सल्काइएको घरभित्र
तड्पी तड्पी ढलेका
थवाङका स्वरहरुको प्रवाह छ
जलजला सजिलै टिप्न सकिने फूल होइन
सजिलै पस्न सक्ने रङ्गशाला होइन
सजिलै गाउन सकिने
दोहोरी गीतको भाका पनि होइन
यो त पसिनाको धाराले
आलो रगतका नदीहरुले
टल्काइएको लाल तारा हो
त्यो त विचारको लेप लगाएर
अथक यात्रीहरुले पाइला चाल्ने
निरन्तर उकालीको यात्रा हो
यो रगतको भेटी चढाएर
आस्थाको मञ्जिल चुम्न सक्ने
लालस्तम्भ हो
नेपाली क्रान्तिको लाल एन्डिज हो जलाजला !
(स्रोत : कवि भीम कुमाखीको ‘मन्जिल चुम्ने यात्रा’)