काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बर्खास्त गरेकी छिन् । यसैबीच गण्डकी प्रदेशमा सीता पौडेल प्रदेश प्रमुख नियुक्त भएकी छिन् भने सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बर्खास्ती र नयाँ नियुक्ति गरेकी हुन् । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकले पौडेल र यादवको नाम सिफारिस गरेको थियो ।
गण्डकी र सुदूर पश्चिममा माओवादी निकट प्रदेश प्रमुखहरु रहेकोमा उनीहरुलाई हटाएर एमाले निकटलाई ल्याइएको हो । नवनियुक्त प्रदेश प्रमुखको सपथग्रहण शीलतनिवासमा आजै हुने कार्यक्रम छ ।