• मंसिर १२ २०८१, बुधबार

सरकारले गर्यो स्वास्थ्यकर्मीलाई लामो विदा नदिने निर्णय

बैशाख १४ २०७८, मंगलवार

काठमाडौं । सरकारले कोरोनाका विरामीको उपचारमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोरोनाको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने बिरामीको उचित तथा प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिव स्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि पत्राचार गर्ने गरेको छ । यस्तै कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ । यस्तै अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ । स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय सरकारले स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली पनि लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुमध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको हो ।

यस्तै उपलब्ध स्वास्थ्य शैया, जनशक्ति, कोभिड-१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरी लगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय पनि मन्त्रालयले जनाएको छ । तर आकस्मिक उपचार भने सुनिस्चित गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै बैठकले सघन उपचार तथा आकस्मिक उपचार सम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।