काठमाडौँ । चिनियाँ ठेकेदारले ल्याएको माथिल्लो त्रिशुली थ्री बी (३७ मेगावाट) को आवश्यक सामान सामान चीनकै केरुङ नाकमा डेढ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । १४ महिनापछि आयोजनाको काम सुरु भए पनि निर्माण सामग्री र निर्माण उपकरण चीनमै रोकिएको आयोजनाका प्रबन्ध सञ्चालक मोहन गौतमले बताएका हुन । विद्युत् गृह, सर्ज ट्यांक, सुरुङ निर्माणका लागि नभई नहुने विभिन्न सामान ल्याउनका लागि आयोजनाले सम्बद्ध निकायलाई विगत देखि नै आग्रह गर्दे आएको आयोजनाले बताएको छ ।
२०७६ मा चिनियाँ नयाँ वर्ष मनाउन घर गएका चिनियाँ कामदार कोभिड १९ का कारण फर्कन नसक्दा १४ महिनादेखि काम ठप्प रहेकोमा केही समय अघि मात्रै पुनः सञ्चालनमा आएको हो । निर्माण सामग्री र उपकरण नै नभएपछि आयोजना सम्पन्न हुने अवधिलाई प्रभावित पार्न सक्ने आकलन गरिएको छ ।
केरुङमै अडकेका ती सामान चिनियाँ ट्रकमा रहेका छन् । आयोजनाको निर्माण व्यवसायी सुता एएनएचई ग्रुप कम्पनी लिमिटेडले २०२० अप्रिल ३० र जुन ३ मा पत्र पठाई रसुवागढीस्थित नेपाल–चीन सीमा नाका बन्द रहेका कारण केरुङमा लामो समयदेखि अड्कएकाले ती उपकरण आयोजनास्थल ल्याउने व्यवस्थाका लागि नेपाल सरकारसँग समन्वय गर्न अनुरोध गरेको थियो ।
केरुङमा अड्केका सामानहरुमा वेट स्प्रे, स्टील टेम्प्लेट, ग्यास ट्याक, ड्राइङ ओभन, स्टील स्ट्राण्ड, सिमेन्ट स्प्रेइङ मेसिन एसोसोरिज, हाइड्रोलिक डाउनहोल ड्रिल लगायत दुई दर्जनभन्दा बढी छन् । यो आयोजना गत वर्षको फागुनमा सक्ने लक्ष्य थियो । कोभिड-१९ का कारण लगातार १४ महिना काम हुन सकेन । नेपाल चीन सीमानाका बन्द भएपछि चिनियाँ कामदार अझसम्म पनि नेपाल फर्केका छैनन ।
यो आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण सुरु गरिएको हो । आयोजनाको निर्माण अवधि लम्बिए पनि यसको लागतमा खासै फरक नपर्ने आकलन गरिएको छ । लागत पहिले नै निर्धारण गरेर सबै निर्माणको ठेक्का दिएको कारण लागत नबढ्ने भएको हो । यसको अनुमानित लागत तीन करोड १८ लाख अमेरिकी डलर र एक अर्ब ९१ करोड ४६ लाख नेपाली रुपैयाँ रहेको छ । इपीसी मोडेलमा चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रो मेकानिकल र हाइड्रोमेकानिकल तर्फका सबै संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा संचालन गर्नुपर्ने व्यवस्था रहेको छ ।
आयोजनाको ३ दलशमव ८ किलोमिटर मुख्य सुरुङमध्ये १ दशलमव ८ किलोमिटर मात्रै खनिएको छ । हालसम्म आयोजना निर्माण कार्य ४७ प्रतिशत मात्रै सम्पन्न भएको छ । आयोजनाका प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०-३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने व्यवस्था रहेको छ ।