• मंसिर १७ २०८१, सोमबार

सिंहले गर्जेरै १० किलोमिटर शासन गर्छ

बैशाख १४ २०७८, मंगलवार

सिंह निकै गहिरो गरी गर्जन सक्ने प्राणी हो । यसको गर्जनमा आवाज र कम्पनको अनौठो मिश्रण हुन्छ । गहिरो गरी कम्पनसहित आवाज निकाल्ने भएकाले आवाजसँगै निस्किएको कम्पनको तरङ्ग एकपछि अर्को गरी फैलिइरहन्छ । कम्पन र आवाजको यही अनौठो मिश्रणले १० किलोमिटरसम्म गहिरो तरङ्ग पैदा गरिरहन्छ ।

अरु जनावरको आवाज खण्डखण्डमा र टुक्राटुक्रामा आउँछ । यिनको आवाजको तरंग निकै कम हुन्छ । तर सिंहको आवाज भने लामो गुफाबाट निस्केको र गुञ्जनसहितको हुन्छ । यो आफैमा साङ्केतिक र अद्वितीय हुन्छ । यो आवाजका राजर्षि सन्देश हुन्छ :

१) पहिलो त उनीहरुले आफ्नो आवाज सुनिने ठाउँ वा दुरीसम्म आफ्नो इलाका भएको सन्देश दिन चाहन्छन् । यो आवाज प्रायः भाले सिंहको हुन्छ ।

२) अर्को यस्तै आवाज पोथी सिंहको पनि आउँछ, तर केही कम हुन्छ । यो आफ्नो बच्चासँग भेट्नका लागि हुन्छ ।

३) यो आवाजले आफ्ना प्रतिद्वन्द्वी सिंह र तिनका बथानलाई निरन्तर खबरदारी पनि गरिरहन्छ । यो उनीहरुको राज्य हो, त्यहाँ अरुहरुलाई प्रवेश अनुमति नभएको जनाउ पनि हो ।

४) भाले सिंहको गर्जन आफैमा परिवारको गौरव र स्वाभिमान रक्षाको संकेत पनि हो । यसले सिंहको आफ्नो बथान कोही भन्दा कमी छैन, यसको आफ्नो ठूलो राज्य छ भन्ने अभिव्यक्ति पनि हो ।

५) जबसम्म भाले सिंह यसरी गर्जन सक्छ र परिवारलाई डोरयाउन सक्छ, त्यतिबेलासम्म उसको नेतृत्व अरु भाले सिंहको चुनौतीविहीन हुन्छ । उसको राज चलिरहन्छ । तर सिंहको बथानमा एकभन्दा धेरै भाले सिंहहरु एकै साथ रहेका पनि हुन्छन् । देख्दा सामुहिक देखिए पनि तिनमा मुली भने एउटा नै हुन्छ ।

old tiger

जब सिंह गर्जन्छन्, तिनको गर्जन लामो हुन्छ र तिनले गहिरो तरङ्ग पैदा गर्दछन् । यो आखिरमा सञ्चार आदान प्रदानका लागि हो । तर यसका बहुआयामिक पक्षहरु छन् । यसमा सिंहको बथान, राज, सन्तान, चाहना, चिन्ता, खबरदारी, चुनौती आदि सबै एकै पटक अभिव्यक्त भएका हुन्छन् ।

एक श्रृङ्खलामा अभिव्यक्त हुने यो गर्जनले मानिसलगायत १० किलोमिटर भित्र रहेका जनावरको मुटुमा कम्पन ल्याइदिन्छ । भूकम्पको तरङ्गले प्राणीको स्वचालित अङ्गहरुमा धक्का पुर्याए झैं सिंहको गर्जनले पनि प्राणीको स्वचालित अङ्ग र त्यसमा पनि मुटुमा कम्पन ल्याइदिन्छ ।