काठमाडौं । कोभिड-१९ को दोस्रो लहरसँगै चितवनको पर्यटकीय राजधानी सौराहा सुनसान हुन पुगेको छ । एक वर्ष अघि कोरोनाकै पहिलो लहरले थिलोथिलो हुन पुगेको सौराहाको यस पटकको दोस्रो लहरले त झन् थला पर्ने संकेत देखिएको छ । पहिलो लहरपछि तङ्ग्रिन थालेको चितवनको पर्यटन पूर्ववत् अवस्थामा आउनु त कहाँ हो कहाँ आउनका लागि बनेको बाटो समेत् अबरुद्ध हुन गएको छ ।
दोस्रो लहर सुरू भएपछि निराश हुन पुगेका व्यवसायीहरु अहिले घर न घाटको अवस्थामा छन् । व्यवसायले लय समात्न पाएकै छैन । क्षेत्रीय होटल सङ्घ पनि कोरोनाको प्रभावलाई व्यवस्थापन गर्न लागि परिरहेको छ । तर यो पनि उसको पहल र पकडमा छैन । पूर्ववत् अवस्थामा नआएकै बेला एकाएक होटल व्यवसाय बन्द हुँदा सबैमा निरासा छाएको देखिन्छ ।
यो बीचमा होटल व्यवस्थापनले बिदामा राखिएका मजदुर फिर्ता बोलाएको, मर्मतसम्भार गरेर होटललाई थप सुविधा सम्पन्न बनाइएर सेवा शुरु गरिसकेको थियो । तर ठीक यसै बेला कोरोनाको दोस्रो लहरले व्यवसाय नै ठप्प बनाउन पुगेको छ ।
अबका दिनमा समस्या नआउने अनुमानसहित व्यवसायीले ऋण थपेर होटलमा लगानीसमेत बढाएका बेला फेरि दोस्रो लहर देखिएपछि व्यवसायीमाथि ठूलो सङ्कट आइपरेको छ । अधिकांश होटलले ऋण लिएर मात्र बैंकको व्याज तिर्न सकेका छन् ।
अहिले होटल न त बुकिङ अवस्थामा छन्, न त दैनिक ग्राहक पाउने अवस्थामा नै । होटलमा काम गर्न भनी बोलाइएका मजदुरहरुलाई घर फर्काउने अवस्थामा रहेका छन् । स्थानीय व्यापारीहरुका अनुसार कोभिड संक्रमणका कारण त्यहाँ दैनिक ८० देखि ८५ लाख रूपैयाँ नोक्सानी भैरहेको छ ।
अघिल्लो वर्षको चैतदेखि होटल बन्द थिए । त्यसभन्दा पहिले ८० देखि ८५ प्रतिशत बुकिङ हुने गर्दथे । अग्रिम बुकिङ त हुने गर्दथ्यो नै दैनिक यात्रुहरुको चाप पनि निकै परिरहन्थ्यो । अहिले त एकाएक होटल व्यवसाय चौपट हुन पुगेको छ ।
दैनिक कुनै कार्यक्रम छैनन् । चितवनका सफारीमा लैजाने हात्ती पनि पाल्न नसकेर बेचिएको खबर आइरहेका छन् । हिजो आजका धेरै कार्यक्रम बनेका छैनन् । पूर्व निर्धारित कार्यक्रम सबै रद्द गरिएका छन् । सौराहा सुनसान हुँदै गएको छ । त्यहाँ सम्साँझै होटलका ढोका बन्द गरिन्छन् । रातमा सुन्दर रानी झैं सिंगारिने सौराह अहिले खाली देखिएको छ । विरुप हुन पुगेको छ ।
कोरोना सङ्क्रमण पनि घट्दै जाने र लगानी पनि उठ्दै जाने सोचका साथ व्यवसाय उद्धार गर्ने हिसाबले व्यवसायीहरुले लगानी बढाएका थिए । तर बुकिङ भएका कार्यक्रम पनि रद्द हुन थालेपछि उनीहरु थप निरास हुन पुगेका छन् ।
व्यवसायीका अनुसार हाल सौराहामा ११५ होटल सञ्चालनमा रहेका छन् । यी सबै होटलमा एकै दिनमा ६ हजारभन्दा बढी यात्रुहरु बस्न सक्ने क्षमता रहेको छ । सौराहाको पर्यटन व्यवसायमा हालसम्म ३३ अर्ब रूपैयाँभन्दा बढी लगानी भैसकेको छ । सौराहा आफैमा आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहिआएको छ ।