मलाई ऊ त्यो अग्लो टावरको सुनको गजुर चाहिँदैन
त्यो सेतो दरबार हेरेर के गरुँ ?
पसिनाले भिजेको जीउ छिर्न समेत पाइँदैन
ढुङ्गाले चिरेका पैताला
पैतालाको चिरामा पुरिएका ढुङ्गा
माटोले गालेका पाखुरा
पाखुराले गालेको माटो
मैले हिँडेको बाटो
आज गलेको छ
कोभिडले शरीर ढलेको छ ।
यता दुख्छ, उता दुख्छ
ओठ मुख सुक्छ श्वास रुक्छ
एक आङ पल्टाउने मलाई जमिन भए पुग्छ
छाती भतभती पोल्छ
मेरो मन बोल्छ
कि त मुख सिलाइदिनुहोस्
मन्त्रीज्यू,
अस्पत्तालमा मलाई तीन हातको ओछ्यान मिलाइदिनुहोस्
दुई पाइलो क्षेत्रफलमा अटाएकै थिएँ
गगनचुम्बी महलको धुरी हेर्ने अग्लो धुरी
मैले कहिले पनि मागेको छैन
खटाएकै थिएँ
भोग विलासमा रमाउने बेड बिस्तरा
मैले अहिले पनि मागेको छैन
बरु खलखली बगाएको पसिनाको थोपा
सरकारी खातामा पठाएकै थिएँ
मेरो छिमेकी,
भव्य वायुमण्डलभित्र चुर्लुम्म डुबेर
एक फोक्सो अक्सिजनको अभावले गयो ।
एक घुट्की श्वास पिउँदै सुत्न
विशाल विश्वको सतह
मलाई साँघुरो भयो ।
परिवारको माझमा म एक्लो छु
परमाणु बम मान्छेकै इसारामा
विश्व ध्वस्त पार्न तयार छ
तर म निर्धो छु
मन्त्रीज्यू,
सत्ताको लुछाचुँडी एकैछिन बन्द गर्नुहोस्
एक नजर यता घुमाइदिनुहोस्
मन्त्रीज्यू,
अस्पत्तालमा तीन हातको ओछ्यान मिलाई दिनुहोस् ।
२०७८ वैसाख १४ गते, दाङ ।