• मंसिर ११ २०८१, मंगलवार

काठमाडौँको मौसम र मौलाकाली संक्षिप्त अध्ययन

बैशाख १४ २०७८, मंगलवार

एउटा अनुभव, एक दशक बितेको छैन, ७२ को भूकम्प भन्दा २ वर्षअघिको कुरा हो, यही ०७७ चैत १३ गते शुक्रबारको, विश्वलाई चकित बनाउँदै एक नम्बर दर्जा ओगट्न पुगेको  काठमाडौँको मौसमभन्दा कम थिएन, राजधानी चिसाम्मे थियो, वर्षभरिकै चिसो दिन, तुवाँलोले भरिएको, पुसको सुरु । थोरै सयम तराईतिर पस्ने जमर्काे गरियो । मित्र डा. सुरज पोखरेल, भोजराज सापकोटा, शोभा पौडेल, शोभाखर आदि सहयात्रीहरु तयार भए यस पुनित कार्यमा साथ दिन ।

मेलम्चीको आशै आशा र प्रदूषण बोकेको सहर काठमाडौंलाई छोडी थानकोट काट्यौं हामीले । बाटामा साहुनीहरुलाई दक्षिणा बुझाउँदै चितवनको भरतपुर पुग्यौं हामी । जाडै रहेछ त्यहाँ पनि । आजैदेखि मौसम बिग्रिएको छ सर, चितवनका साथीहरुले थपे । भोलिपल्ट विहानै स्थानीय मित्र मेघनाथ तिमल्सिनासँग सम्पर्क गरेँ । विहानै उनी आइपुगे । ‘दुई पाँग्रे खटाराको व्यवस्था गरेको छु’ । मेघनाथजी देवघाटतिर जाने होइन त ?
मेरो आग्रहलाई स्वीकार गरे उनले । झण्डै आधा घन्टापछि हामी भत्कनै लागेको देवघाटको झोलुङे पुल पारि पुगिहाल्यौं । अघि देवताहरुले तपस्थली बनाएको देवघाट क्षेत्रको चर्चा जति गरे पनि कम हुन्छ । विष्णु प्रिया कालीगण्डकी र शिव प्रिया त्रिशुलीको संगम क्षेत्र देवघाटमा यथा तथा स्नान, तर्पण, पितृ स्मरणको कार्य सम्पन्न भयो । नदी किनारैमा बोटेहरु बसेका थिए । हामीले बोटेहरुलाई सोध्यौं । पारि पुर्याईदिने  हो ? हुन्छ हजूर, आज बोहनी भएकै छैन, कृपया हाम्रो डुंगामा चढिदिनुस्न ।

हामी दुई भाइ डुंगामा चढ्यौं । डुंगा चढ्नु अघि नै पैसाको मोलमोलाई भैसकेको थियो । जनही रु तीस । डुंगाले नदी पूरा गर्न लाग्दा बोटेलाई सोधें मैले । गहिराइ कति होला वावु यहाँ, बोटेको जवाफ यस्तो थियो । ‘हिउँद छ हजूर अहिले पनि एक सय बीस फिट भन्दा बढी नै होला ।’
बस् डुंगा सयर सकियो । बजारमा पुगेर नास्ता पानी खायौं । केहीवेर हामी हल्लियौं बजारतिर । मध्याह्न भए पनि घामको तेज थिएन । नारायणी पुल पारी गैंडाकोट पुग्यौं हामी । उक्लने होइन त मौलाकाली ? मेरो जिज्ञासामा मित्र मेघनाथजीले साथ दिए ।

पूर्वपश्चिम राजमार्ग भुकृटीचोकबाट हामी उत्तर लाग्यौं । दिव्यधाम सडकको पिछा गर्दै । शिलान्यास चोक पुगेर पश्चिमतिर लाग्यौं । मिलनचोक पुगियो । अब त सवारी साधन यत्ति नै, हामीले हाम्रो वाइकलाई पार्किङ चौरतिर राख्यौं । अब सुरु हुन्छ उकाली । फूल, प्रसाद  लिएर जानुहोस् भन्दै बहिनीहरु कराउँदै थिए ।

मिलनचोकबाट हामी बाघखोर पुग्यौं । यो मुख्य प्रवेशद्वार हो मौलाकालिका मन्दिर जाने । यहाँ गणेश र कृष्ण मन्दिरहरु छन् । दुवैलाई प्रणाम गर्दै हामी उकाली चढ्न तम्तयार भयौं । झण्डै तीन किमि उकाली चढ्नु पर्छ यहाँबाट । न्वारनदेखिको वल लगाउनुपर्ने देखियो । केहीवेरमै हामी फेदी खोला पुग्यौं । फेदिखोलाबाट मोहन चौतारी पुग्दा शरीर पूरै गलिसकेको थियो । बाहिर मौसम चिसो भए पनि मुटु ढ्वाक ढ्वाक गर्दै थियो । शरीर पसिना पसिना भैसकेको थियो । भित्री कपडा लगभग भिजिसकेका थिए पसिनाले हामी राकियौं केहीबेर थकाइ मार्न ।
सुस्केरा हाल्दै उकाली लाग्यौं । सिँढीहरु कति छन्, कति पूरा भए सोधेका थिएनौं, १८८४ वटा रहेछन् । केही बस्दै केही हिँड्दै यात्रा तय हुँदै थियो । एक बोतल पानी लिएको त्यो पनि भारी भौहाल्यो । मेरो अवस्था देखेर मित्र मेघनाथजीले त्यो बोतल उनैले बोक्ने इच्छा व्यक्त गरे । मैले बोतल हस्तान्तरण गरेँ भारी भएर ।

केही वेरपछि हामी रिजाल चौतारी, खगेश्वर चौतारी पुग्यौं । सुन्दर र हरियाली वन पाखाहरुमा शीतल छहारी पाउँदा मन प्रफुल्लित थियो तर ढक्क मुटु फुलेको जस्तोे, लामो लामो श्वासप्रश्वास बढ्न थाल्यो । सिँढीमै थचक्क बसें म । अझै माथि जानु छ, महत विसौनी आइपुग्यो । फलामको डंडी समात्तै म सिँढी उक्लन लागें । घुम्ती सिँढीहरु र दायाँबाँया बस्ने चौताराहरु छन् त्यहाँ । पानीका धाराहरु छन् । यात्रुलाई असजिलो नहोस् भन्ने, त्यहाँ सुरम्य संसार छ ।

एक छत्र रजाइँ गर्ने मौका प्राप्तिका लागि अहिले जस्तो पशुपतिमा सुनको जलहरी, अनि लाखबत्ती पनि अर्पण गरिएको थिएन । ठेस् नलागी आत्था राम कसले भन्छ र, देश विधर्मी भएर के गर्नु, गुहार्ने ठाउँ मन्दिरै हो सबैले । ऊ हेलप्याड, देख्नुभयो सर, गएको दसैंमा यसै हेलिप्याडमा हेलिकप्टर राखी मन्त्रिपरिषदका अध्यक्षले मौलाकाली दर्शन गरेका थिए । देवीसँग उनले वरदान मागेका थिए, संविधानसभा निर्वाचन सम्पन्न गर्न सकौं भनेर, मैले थपें, हो, त्यो कुरा तर संविधानसभाले संविधान पो दिने हो कि होइन । होइन राष्ट्रपतिले पनि यहाँ आएर यसो उद्घाटन गरेर गएका छन् क्या । ठूला आएपछि गाउँ ठूलो हुन्छ क्या, उकालीको हल्का गफमा मैले थपें ‘देवी  अझैं ठूली छन् क्या, देवीको उपासना गर्नाले जे माग्यो त्यो पूरा हुन्छ क्या’ ।

सुस्केरा लामो लामो थियो हामी दुवैको । देउराली देवीस्थान पुगियो त्यहाँबाट अलिमाथि दूर संचारको टेलिफोन टावर छ । सँगै ढोकामा प्रवेश गर्दा मन हर्षले विभोर भए । दायाँ बायाँको दृश्य पुष्प वाटिकाहरु हेरुँ हेरुँ लागिरह्यो । फेरि सिँढी उकाली लाग्दै हामी दुई घण्टामा मन्दिर प्रांगणमा प्रवेश  गर्यौं । तलतिरको सुन्दर हराभरा संसारले हामीलाई मन प्रफुल्लित बनाइहाल्यो ।  भगवतीको दर्शन गर्नासाथ त्यहाँको अध्ययन सुरु भयो । हिमवत् खण्डका रुपमा परिचित नेपाल राष्ट्रको मध्य भूभाग, ऋषिमुनिहरुको तपोभूमि देवघाटक्षेत्र परिसर नवलपरासी जिल्ला, गैंडाकोट त्यतिबेलाको गाविस अन्तर्गत पूर्व पश्चिम राजमार्ग नारायणी पुलबाट उत्तरतिर करीब चार किमि टाढा समुद्र सतहदेखि ५६१ मि पहाडी बनेको धुरीमा रहेको सुप्रसिद्ध तीर्थस्थल, शक्ति प्रवल मौलाकालिका देवीको मन्दिर चित्ताकर्षकको छ ।

करिब ५०० वर्ष पहिला वि.सं. पन्ध्रौं शताब्दीतिर पाल्पाका राजा मणिमुकुन्दसेनको राज्यकालमा तत्कालिन सैनिक टुकडीले आप्mनो व्यारेकमा काठको मौलो गाडी शिला स्थापना गरी पूजा अर्चना गर्दै आएको र ती राजाको अन्त्यपछि स्थानीय पिनाली र सुनारी मगरले पूजा चलाएको किवदन्तीहरु भेटिए त्यहाँ पुग्दा ।

पछि स्थानीय गाउँलेहरुले आलोपालो पूजा चलाउँदै आए । पहिला त्यहाँ ठूला सालको रुख थियो रे । अहिले पनि घनाजंगल सालकै छ । सालको रुख सँगै जोडिएको मन्दिरमा ऐतिहासिक संरचनाहरु छरपष्ट भएका छन् । कालान्तरमा गाउँका आदिवासीहरु बसाइँ सरे । मन्दिरको पूजा पाठ रोकियो । वि.सं. २०३२ मा गैंडाकोट निवासी काशीनाथ पौडेलले सपनामा मौलाकालिको दर्शन पाएछन् । यसपछि स्थानीय व्यक्ति कुमान सिंह गुरुङले सो स्थलमा खनेर हेर्दा धमिराले खाएको काठको मौलो देखेछन् । गोलाकार शिलाहरु पनि भेटिएछन् । घण्टी पनि भेटिएछ । अब यस्तो दृश्य देखेपछि स्थानीय वासिन्दाहरुले त्यहाँको सानो मन्दिर निर्माण गरेछन् । र वडादसैं, चैत्रदसैं आदि पर्वमा पूजाआजा सुरु भएछ । वि.सं. २०३७ श्री कृष्णजन्माष्टमीको समय पारी अखण्ड भजन किर्तन सम्पन्न गरेर धार्मिक सेवासमितिको तय पनि भएछ ।

वि.सं. २०३२ पछि निरन्तर ब्राह्मण पुजारीको व्यवस्था भएछ । वि.सं. २०४३ देखि हप्ताको दुई दिन शनिबार र मंगलबार पूजा गर्ने व्यवस्था सुरु भएछ । वि.सं. २०४४ देखि आवासीय पुजारीले दैनिक पूजा संचालन गर्ने भएछन् । वि.सं. २०६४ देखि आवासीय दुई पुजारीले नित्य पूजा संचालन गर्न थालेछन् । सात्विक पूजा संचालन हुने सो स्थानमा देवी मन्दिर भए पनि काटमार वली पूजा हुँदोरहेनछ ।

वि.सं. २०३२ मा बनेको सानो कच्ची मन्दिर वर्षाको कारण भत्किएछ । वि.सं. २०४२ मा एक टिनको छानो भएको सानो मन्दिर बनाइएछ । भक्तजनहरुको भीडभाडदेखि २०५१ सालमा प्रहरी तालिम केन्द्र भरतपुर चितवनको समेत अग्रसरता, श्रद्धालु जनता, संघसंस्था, उद्योगी व्यवसायीहरुको सक्रियतामा तीन ढोका भएको तीन तले पक्की मण्डप शैलीको मन्दिर निर्मणा भएछ । २०५३ को चैत्रमा समुद्घाटन समेत सम्पन्न भएछ ।

देउराली भन्ज्याङ सिंढीमार्गमा देउरालीदेवीको खुला मन्दिर रहेको छ । मौलाकालीका मन्दिर परिसरमा हवन कुण्ड, भैरवको मन्दिर, शिवमठ, तुलसीमठ, मूल प्रवेश ढोकामा गणेश र सरस्वतीका मूर्तिहरु राखिएका रहेछन् । वाह्य पर्यटकहरुको सुविधाका लागि अलि तल हेलिप्याडको व्यवस्था छ देउराली डाँडामा । वि.सं. २०४२ अघि यहाँ भौतिक संरचना भएको पाइँदैन । मन्दिर परिसरमा छाताजस्तै फैलिएको  डमराहीका बुटाहरु थिए रे । भक्तजनहरु यही डुमरीका बुटामुनि बसी रात बिताउँथे रे । पानीको सुविधा थिएन । वर्तमान अवस्थाका पानी सुविधा, सिंढी मार्गमा ठाउँ ठाउँमा धाराहरुको व्यवस्था छ । चौतारी, विश्रामस्थल, विजुली, पानी टंकी सार्वजनिक शौचालय, एटेच बाथरुमासहित बस्ने कोठाहरुको राम्रो प्रबन्ध छ । एकै पटक १५० जना जति बस्न सक्ने कोठाहरुको व्यवस्था छ ।

सामान ढुवानी कार्यमा नेपाल प्रहरीले ठूलो सहयोग गरेको रहेछ । देवघाट क्षेत्र विकास समिति, नेपाल प्रहरी, सैनिक र सर्वसाधारणको सहकार्यमा धेरै विकास निर्माण भएको देखियो । दैनिक आम्दानीको लगबुक राखेको पाइयो । अहिले अफसिजनमा पनि मासिक तीन चार लाख आम्दानी हुने गरेको लगबुक देखाउँदै थिए पंक्तिकारलाई समितिकै साथीले । शक्तिस्वरुपा मौलाकालिका भगवतीको पूजा अर्चना, उपासना गर्नाले आत्मसन्तुष्टि, आत्म आनन्दको अनुभूति हुनेगर्छ । दुःख, आपत आइलाग्दैन । संकट नाशिनी देवीको चर्चा कालिका पुराण, दुर्गा शप्तशती, देवी भागवत आदिमा प्रसस्त चर्चा भएको छ । सहन शक्ति बढाउने देवी अष्टभुजा देवीको चर्चा अघि गुरु शंकाराचार्यले पनि गरेका थिए ।

नेपाल लगायत छिमेकी राष्ट्र भारतबाट यहाँ आउनेहरुको भीड देखिन्छ । भाकल पूरा गरिदिने देवी भनेर देवी पीठहरुको दर्शन गर्ने चलन यत्रतत्र रहेको छ । शक्ति, भक्तिले सम्पन्न देवीको दर्शन गर्न सेना, प्रहरी, सर्वसाधारण, राष्ट्रसेवक, युवायुवती, बाल वृद्धजन सबै किसिमका व्यक्तिहरु पुग्ने गर्छन् । हराएका मानिस भेटिने, परीक्षा उत्तीर्ण हुने, व्यापार, व्यवसाय फस्टाउने उद्देश्यले पनि त्यहाँ जानेहरुको भीड देखिने गर्छ । सन्तान प्राप्तिको इच्छा गर्नेहरु, रुप, लावण्य प्राप्तिका लागि मनरोग निवृत्तिका लागि पनि देवी उपासना गर्नेहरुको घुइँचो लाग्ने गरेको छ । साधु सन्तहरुको पनि उपस्थिति रहेको त्यस क्षेत्रमा भारतीय योग गुरु रामदेव महाराज पनि पुगेका थिए ।

उनैले २०६४ साल असोज १० गते वृहस्पतिबार उनै देवीको पूजा अर्चना गरेर शक्ति स्वरुपा मौलाकालिका देवी रहेको सार्वजनिक घोषणा गरेका थिए । वि.सं. २०६७ मा कात्तिक २७ गते ताइवानबाट आएका पाचौँ अवतारी लामा गुरु रानग टुल्कु रिन्चेन रिम्पोचेबाट पूजा अर्चना भएको थियो । ध्यानमा बस्दा देवीको प्रत्यक्ष दर्शन पाएको उनले बताएका थिए । २०६७ मार्ग १४ मा हाम्रा राष्ट्रपतिले देवीको दर्शन गरेका थिए । नव निर्मित हवन कुण्डको प्रतिष्ठा, अनावरण, उद्घाटन गरेका थिए । चितवनको राष्ट्रिय निकुन्ज सौराहा, टाइगरटप आदिको अवलोकन, वनजंगलको हराभर क्षेत्रको अवलोकन, तराईका समथर फाँटहरुको दृश्यावलोकन, मन्दिर, शिखरको थप विशेषता रहेको छ । लेखक, स्रष्टा, पत्रकारहरुको ओइरो लाग्ने सो क्षेत्र निकै हराभरा देखिन्छ ।

मन्दिरका भावी योजनाहरु पनि अगवत ग¥यौं हामीले । मन्दिरभित्र भुइँ र वाहिर वरण्डा एवं पेटीमा मार्वल राख्ने देखि केही तल सार्वजनिक शौचालय, वीच बाटोमा पुष्पवाटिकाहरुको निर्माण, सिंढी मार्गको दुईतिर पक्की नाली निर्माण, धार्मिक वन सिमाना परिक्रमा निर्माण, वन विहार मार्गको निर्माण, हावापानी सुहाउँदो आयमुलक जडीबुटी खेतीको व्यवस्था, फूल बगैंचाको निर्माण, विवाह आदि कार्यका लागि यज्ञमण्डपको निर्माण भजन किर्तन हल, भवन निर्माण, प्रतीक्षालय निर्माण यस्ता धेरै र ठूला गुरुयोजना पनि तय भएको स्थानीय समितिका साथीले बताए । उही सिंढीहरु छिचल्दै गर्दा प्राकृतिक छटाहरुमा रम्दा पनि एकातिर हर्षित थियो भने शरीर भने पूरै थाकेकाले खल्याङखुट्टी गर्दै विस्तारै विस्तारै ओराली लाग्यौं हामी । दक्षिणतिरको समथर छटा, पूर्वतिर बग्दै गरेकी नारायणी, उत्तरतिरको सुरम्य क्षेत्र देवघाटको अवलोकन गर्दै, फोटो खिच्दै हामी दुई तल झर्यौं । झण्डै डेढघण्टाको समयपछि हामीले पैदल यात्रालाई पूरा  गर्यौं ।

देवीको दर्शन संस्मरमणलाई लिपिबद्ध गर्ने मेरो योजना अनुसार लेखन कार्य केही पछि मात्र भयो । देवीको प्रसाद र शुभेच्छा आम रेडियोका श्रोता, लेखनीका पाठक, टि भि च्यानलका दर्शकहरुलाई पनि । मित्र मेघनाथजीलाई भरतपुरमा विदाइ सकेर म भने राजधानी फिर्ताको तनावाना बुन्न थालें, पहिलोगएका साथीहरु लिई उही मुगलिङ्ग नारायणघाटको खण्डहर, विग्रेको बाटो पार गर्दै काठमाडौं पुग्यौं, घन्टौं जाममा रोकिंदै ।

कति सम्झना पुरानो गर्ने, कृष्णप्रसाद भट्टराई बग्रिए रे, तीस वर्षपछि मेलम्ची उठाएर काठमाडौँमा,  पंक्ति तयार गर्दा रेडियो भट्याउँदै थियो, आजै आइतबारदेखि विहान ८ बजेदेखि नै घरघरमा पानी छोड्ने रे, पाउँनेले पाउँछन् कि पाउँदैनन् थाहा छैन, महाँकाल चौरको ५ मिनेट पैदल  आफू बसेको ठाउँमा पानी नझरेको ३ महिना भयो, आजै पानी अउँछ भनिएको दिन पनि छिमेकीको घरको बोरिँगबाट केही काम चलाइयो, धारामा पानी झरेन, कसैको घरमा झरेको भए कति दिगो हुन्छ त्यो पनि थाहा छैन, अझ नबीन्द्रराज जोशी बग्रिए त हुन्थ्यो नि, किनभने चुनाव प्रसारमा नबीन्द्र र भट्टराईसँग सँगै हिँडेको देखेको थिएँ मैले, अन्तरघात भएर पो भट्टराई चिप्लिए त, कलेजकै मित्र पनि थिए नबीन्द्र तर उनलाई र अर्का मित्रसेन दाहाललाई दैवले बस्नै दिएन यहाँ, लानु पर्ने कति थिए, तर के गर्ने दैवभन्दा बलिया भएपछि ।