एक पटक भगवान श्री रामलाई राजा विभीषणको संझना आयो । श्री रामले सोच्नु भयो कि विभीषणले धर्मपूर्वक शासन गरिरहेका छन् कि छैनन् । कतै देवताविरोधी व्यवहार त गरिरहेका छैनन् ? यदि त्यसो भएमा राजाको विनाश अवश्य हुनेछ । मैले विभीषणलाई लङ्काको राज्य दिएर आएको थिएँ । अब गएर उनलाई सम्हाल्नु पर्र्छ । कहीं राज्यको मदमा उनले अर्धाचरण त गरिरहेको छैनन् । अतएव म स्वयम् लङ्कामा गएर विभीषणलाई भेटने छु । उनैको हित हुने उपदेश दिनेछु । यसले गर्दा उनको राज्य अनन्त कालसम्म टिकिरहने छ ।
भगवान श्री रामले यस्तै विचार गरिरहेका समयमा त्यहाँ भरतजी आइपुग्नु भयो । भरतले श्री रामलाई यसरी सोचमग्न देखेर नम्रतापूर्वक सोधनी गर्दा श्री रामले भन्नु भयो- ‘भाइ ! तिमीसँग मेरो कुनै कुरा पनि गोपनीय छैन । तिमी र लक्ष्मण मेरो प्राण नै हो । मैले निश्चय गरिरहेको छु कि म लङ्कामा गएर विभीषणसँग भेट्ने छु । उनले कसरी शासन गरिरहेका छन्, शासन पद्धति हेर्ने छु । उनलाई कर्तब्यबोध गराई उपदेश पनि दिनेछु ।’
भरतले लङ्का देखेका थिएनन् । त्यसैले उनले श्री रामसँग जाने इच्छा प्रकट गरे । तब श्री रामले स्वीकार गरे अनि लक्ष्मणलाई राज्यको सारा राज्यभार सुम्पेर दुबै भाइ पुष्पक बिमान चढेर लङ्का प्रस्थान गरे । पहिला भरतका दुई पुत्रहरुको राजधानीमा गएर उनीहरुसँग भेटेर उनीहरुको कार्यको निरीक्षण गरे । त्यसपछि लक्ष्मणका पुत्रहरुको राजधानीमा गए र त्यहाँ श्री राम र भरत ६ दिनसम्म बसेर सबै कुराको देखभाल गरे ।
यसपछि यी दुबै दाजुभाइ भरद्वाज र अगि ऋषिको आश्रममा गए । फेरि अगाडि गएर श्री रामले बिमानबाटै भरतलाई ती सबै स्थान देखाउन थाले । उनले सीताको हरण भएको स्थान, जरायुको मृत्यु भएको स्थान, कवन्ध बध गरिएको स्थान, बालि बध गरिएको स्थान देखाउँदै गए । तत्पश्चात् किष्किन्धामा गएर श्री रामले राजा सुग्रीवसँग भेट गरे । राजा सुग्रीवसहित राज घरानाका सबै स्त्री पुरुष लगायत नगरका समस्त जनता समेतले श्री राम र भरतको बडो आदर गर्दै उत्साहपूर्वक स्वागत गरे ।
केही समयपश्चात् राजा सुग्रीवलाई समेत साथै लिई बिमानबाटै भरतलाई विभिन्न स्थान देखाउँदै त्यहाँका कथा सुनाउँदै लङ्का पुगे । विभीषणका दूतहरुले यो शुभ समाचार सुनाए । भगवान श्री रामको लङ्का आइपुगेको समाचार सुन्ने वित्तिकै विभीषण अत्यन्तै हर्षित भई सारा नगर तुरुन्तै सजाउन लगाई आफ्ना मन्त्रीहरुलाई साथै लिएर श्री रामको स्वागत गर्न गए ।
भगवान श्री रामलाई देख्ने वित्तिकै षाष्टाङ्ग प्रणाम गर्दै विभीषणले भने– ‘आज मेरो जन्म सफल भयो, आज मेरो सबै मनोरथ सिद्ध भयो, किनकि आज मैले दुबै स्वामीका चरण दर्शन गर्न पाएँ । मैले आज आफूलाई स्वर्गका राजा ईन्द्रभन्दा श्रेष्ठ सम्झिरहेछु ।’
सबै रत्नले सुशोभित लङ्काको त्यस उज्ज्वल भवनमा रहेको सर्वोत्तम सिंहासनमा भगवान श्री रामले विराजमान गर्नु भयो । राजा विभीषणले अर्घ दिंदै हाड जोडेर भगवान श्री राम, भरत र सुग्रीवको स्तुति गर्न थाले । लङ्काका सारा प्रजाहरु श्री रामको दर्शन गर्न भीड लाग्न थाल्यो ।
प्रजाहरुले आफ्ना राजा विभीषणलाई भने– ‘प्रभु हामीले भगवान श्रीरामको त्यस अनुपम रुप सौन्दर्यको दर्शन गरेको धेरै दिन बितिसक्यो । युद्धको समयमा हामीले राम्ररी देख्न पनि पाएनौं । आज हामीलाई दया गरेर हाम्रै कल्याण गर्न भगवान हाम्रै घरमा सवारी भएको छ । अतः छिट्टै हामीलाई उनको दर्शन गराइदिनुहोस् ।’ तब विभीषणले श्री रामसँगै सोधेर आज्ञा पाएर प्रजाका लागि दरबारको ढोका खोलिदिए । लङ्काका सम्पूर्ण प्रजा श्री राम र भरतलाई देखेर मुग्ध भए ।
श्रीराम र भरत विभीषणको दरबारमा बस्नु भएको तीन दिन बित्यो अनि चौथो दिनमा रावणकी आमा कैकसीले विभीषणलाई बोलाएर भनिन्– ‘पुत्र म पनि श्रीरामको दर्शन गर्न चाहन्छु । उनको दर्शन मात्रले पनि महामुनिगण पनि महापुण्यको भागिदार हुन्छन् । सीताजी स्वयम् लक्ष्मी हुन् । तेरो दाजु रावणले यो रहस्य जानेन् । तेरो पिताले भनेका थिए कि रावणलाई मार्नकै लागि भगवान विष्णु रघुवंशमा दशरथकोमा प्रादुर्भाव हुनेछन् ।’
तब विभीषणले भने– ‘माता हजुरले नयाँ बस्त्र पहिरिएर कञ्चन थालमा चन्दन, मधु, अक्षता, दही, दुबोको अघ्र्य सजाएर भगवान श्री रामको दर्शन गर्नुहोस् । सरमालाई अघि लगाएर तथा अन्य देवकन्यालाई पनि साथमा लिएर तपाईं श्रीरामको समीपमा जानुहोस् । म पहिला नै त्यहाँ गइराख्छु ।’
विभीषणले श्री रामकहाँ गएर त्यहाँका सबै मानिसहरुलाई हटाएर श्री रामसँग विन्ति गर्दै भने– ‘प्रभु, यहाँ रावण, कुम्भकर्ण र मेरी माता कैकसी हजुरको चरण कमलको दर्शनार्थ आउँदैछिन्, हजुरले कृपापूर्वक उहाँलाई दर्शन दिएर कृतार्थ गरिदनु होला ।’ श्रीरामले भने– ‘भाइ ! तिम्रो माता पनि मेरी माता हुन् । म आफै उहाँकहाँ जान्छु, तिमी गएर उहाँलाई भनिदिनु ।’
यति भनेर श्री राम उठेर जान लाग्दा कैकसीलाई देखेर मस्तक निहुराएर प्रणाम गर्दै भने– ‘तपाई मेरी धर्ममाता हुनु हुन्छ, म तपाईंलाई प्रणाम गर्दछु । अनेकौं पुण्य र तपस्याको प्रभावले मात्र तपाईंको विभीषणजस्ता भक्तकी माताको चरण दर्शनको सौभाग्य पाइन्छ । आज मलाई तपाईंको दर्शनले बडो प्रशन्नता भयो । जस्तो कौशल्या माता हुनुहुन्छ, त्यस्तै मेरो लागि तपाईं हुनुहुन्छ ।’
श्री रामका यस्ता कुरा सुनेर कैकसीले मातृभावबाट आशीर्वाद दिए । भगवान श्रीरामलाई विश्वपति सम्झेर उनको स्तुति गर्न थालिन् । यसपछि सरमाले भगवानको स्तुति गरिन् । भरतलाई सरमाको परिचय थाह पाउन इच्छा भयो, उनको सङ्केत बुझेर श्री रामले भरतलाई भने– ‘यी विभीषणकी धर्मपत्नी हुन् । यिनका नाम सरमा हो । यी महादेवी सीताजीकी प्रिय सखा हुन् र यिनमा मित्रता ज्यादै दृढ छ ।’
यसपछि श्री रामले सरमालाई समयोचित उपदेश दिए । फेरि विभीषणलाई पनि विभिन्न उपदेश दिएर भने– ‘देवताका प्रिय कार्य गर्नु, अपराध कहिल्यै नगर्नु, लङ्कामा मनुष्य आएमा कुनै पनि राक्षसले वध गर्न नपावस् ।’ वास्तवमा लङ्का राक्षसहरुकै राज्य थियो । त्यसैल श्री रामले यस्तो आज्ञा गर्नु परेको हो । विभीषणले पनि श्री रामको आज्ञाअनुसार चल्न स्वीकार गरे ।
त्यसपछि जब श्रीराम त्यहाँबाट फर्किन सुग्रीव र भरतसहित बिमानमा चढ्नु भयो, तब विभीषणले भने– ‘प्रभु यदि लङ्काको पुल जस्ताको तस्तै रह्यो भने अन्य सबै मानिसहरु यहाँ आएर हामीलाई दुःख दिइरहन सक्छन् । त्यसैले के गर्नु पर्ला ?’
भगवान श्री रामले विभीषणको कुरा सुनेर पुलको बीचमा भाँची दिए र दश योजनको बीचको टुकडालाई फेरि तीन टुक्रा पारी दिए । त्यसपछि एक एक टुक्रालाई फेरि ससाना टुक्रा पारी दिए र पुल पूरै टुक्राटुक्रा पारिदिए र लङ्का र भारतको बाटो बिच्छेद भइदियो । यो कथाको पद्म पुराणमा सबिस्तार उल्लेखित गरिएको छ ।