• मंसिर ११ २०८१, मंगलवार

बिसर्जन हुँदै त छैन कम्युनिष्ट आन्दोलन !

बैशाख १२ २०७८, आईतवार

२००६ साल बैशाख १० गते विदेशीभूमि कलकत्तामा नेपालको कम्युनिष्ट पार्टीको जन्म भयो । त्यति बेला राणा शासनविरोधी आन्दोलन चलिरहेको थियो । राणा शासनविरुद्ध मोर्चाबन्दीमा थिए पार्टीहरु । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी श्रेष्ठको अगुवाइमा कम्युनिष्ट पार्टी बन्यो । यसले सामन्तवाद, साम्राज्यवाद र विस्तारवादविरुद्ध संघर्ष गर्ने लाइन अख्तियार गर्यो । समृद्ध समाजवाद स्थापना यसको लक्ष्य बन्न गयो । राजनीतिक रुपमा देशलाई राणा शासकको पञ्जाबाट मुक्त बनाउने कार्यक्रम दियो । व्याप्त विभेद र असमानताको अन्त्य गर्ने प्रण लियो ।

विडम्बना पार्टी स्थापना हुने बितिकै पार्टीभित्र दुईलाइन संघर्ष सुरु भयो । २०१० साल माघ १७ देखि सम्पन्न पहिलो भूमिगत महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गरे पनि मनमोहन चिनियाँ कम्युनिष्ट पार्टीको आठौ महाधिवेशनमा भाग लिन चीन गएपछि पार्टीको जिम्मेवारीमा केशरजंङ्ग रायमाझी आए । २०१४ जेठ १५ देखि २५ सम्म चलेको दोस्रो अधिवेशनमा पुष्पलालले पेश गरेका कार्यक्रम त पास गर्यो, तर महासचिव केशरजङ्ग रायमाझी बन्न पुगे ।

त्यसलगत्तै राजा महेन्द्रको २०१७ सालको शाही ‘कु’ले भर्खरै संगठनमा लागेको कम्युनिष्ट पार्टीका लागि ठूलो प्रभाव पर्याे । रायमाझीले राजाको ‘कु’ लाई स्वागत गरे भने पुष्पलालले विरोध गरेका थिए । राजाको कदमलाई लिएर पुष्पलाल, रायमाझी र मोहनविक्रम सिंहको स्पष्ट मतभिन्नता देखियो । शाही ‘कु’समर्थन गरेको भनेर रायमाझीलाई महासचिवबाट हटाइयो । क्षेत्रगत आधारमा समिति गठन गरियो । तेस्रो अधिवेशन २०१९ सालको बैशाखमा त्यही समितिले सम्पन्न गरी तुलसीलाल अमात्य महासचिव चुनिए ।

कारवाहीमा परेका रायमाझीले २०२४ सालमा आफ्नो समुहको महाधिवेशन सम्पन्न गरे । त्यस्तै तुलसीलाल र पुष्पलाल समुहले पनि छुट्टाछुट्टै समुहको नेतृत्व गरि अघि बढे । २०२८ सालसम्म आइपुग्दा नेपाली कम्युनिष्ट आन्दोलनमा विभिन्न धारहरु देखापरिसकेका थिए । तिनै धारमध्ये झापा जिल्ला कमिटीले सशस्त्र संघर्ष गर्ने निर्णयका साथ अघि बढ्यो । जसको नेतृत्व सिपी मैनालीले गरेका थिए । जसलाई आजसम्म झापा विद्रोहका नायक भनेर चिनिन्छ । अहिलेका प्रधानमन्त्री एवम् नेकपा एमालेका वर्तमान अध्यक्ष पनि सोही झापा आन्दोलनको समुहमा आवद्ध थिए । झापा विद्रोहकै क्रममा २०२८ सालतिर रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुँइकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालिन पञ्चायत सरकारले सुखानीको जङ्गलमा लगेर हत्या गरेको थियो जेल सार्ने बहानामा ।

नेपालको कम्युनिष्ट आन्दोलन, यो अवस्थासम्म आइपुग्दासम्म, तहसनहस अवस्थामा पुगिसकेको थियो । अझ भनौ २०२३ सालतिरै आइपुग्दा करीब करीब कम्युनिष्ट पार्टी अवसानको बाटोतिर लागिसकेको थियो । एकातिर पूर्व मेची–कोशी प्रान्तीय कमिटी गठन भयो भने अर्कातिर केशरजङ्गको समुह छुट्टियो । पार्टीका अन्य प्रभावशाली नेता तुलसीलाल र पुष्पलाल पनि छुट्टिए । सीपी मैनाली र मोहनबिक्रम सिंहले क्रमशः झापाजिल्ला कमिटी र केन्द्रिय न्युक्लियसको नेतृत्व गर्थे ।

झापा विद्रोहमा ठूलो क्षति हुने भयले २०३१ सालतिर झापाली विद्रोही कमिटी र मोरङ्गको क्रान्तिकारी संगठनले २०३२ सालमा संयुक्त सम्मेलन गरी अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी गठन गरेको थियो । यो कमिटीमा अन्य विभिन्न कमिटीहरु पनि समेटिएका थिए । यहि कोअर्डिनेसन कमिटीले २०३५ सालको पुषमा राष्ट्रिय सम्मेलन गरी सीपी मैनालीको नेतृत्वमा नेकपा एमाले गठन गरेको थियो ।

२०३५ सालतिर पुष्पलालको निधन भएपछि पुष्पलालको पार्टी साहना प्रधान र बलराम उपाध्यायले चलाए । २०४३ सालतिर आएर मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीसँग पुष्पलालको पार्टी पनि एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) बन्यो । २०४६ सालको जनआन्दोलनमा सहभागी भएको मनमोहन अधिकारीको दल र सीपी मैनालीको दलबीच २०४७ सालमा एकीकरण भई नेकपा एमालेको जन्म भयो । मदन भण्डारी महासचिव रहेको एमालेले जनताको बहुदलीय जनवादलाई अङ्गीकार गर्दै अघि बढ्ने निर्णय गर्यो । उता अलग धारको रुपमा रहेको मोहनबिक्रम सिंह नेतृत्वको समुहभित्र पनि २०३६ सालको जनमत सङ्ग्रह हेर्ने दृष्टिकोणमा मत भिन्नता आउँदा उक्त समुहभित्र पनि गुटहरु सिर्जना भए ।

२०४० सालमा निर्मल लामाहरुले पार्टी फुटाएर नेकपा (चौम) बनाए । मोहनबिक्रम सिंह समुहले नेकपा (मसाल) राखे । मोहन वैद्य (किरण), पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताहरु पनि मोहनविक्रम सिंहसँगै रहे । मसाल पाँचौ महाधिवेशनसम्म आइपुग्दा फेरि अर्काे विभाजन देखा पर्यो । मभोहनबिक्रम सिंहमा गम्भीर सैद्धान्तिक विचलनको आरोप लगाउँदै प्रचण्डले प्रतिवेदन पेश गरेपछि मोहन वैद्य (किरण)लाई महामन्त्रीमा चयन गर्यो । २०४२ सालमा पाँचौ महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रिय सदस्यमध्ये ४ जनालाई लिएर मोहनविक्रम सिंहले नेकपा मसाल गठन गरे । यसलाई पातलो (मसाल)भन्न थालियो । २०४३ सालमा नेकपा मशाल अर्थात् मोटो मशालका तर्फबाट आक्रामक गतिविधि र पोष्टर टाँस्ने काम भयो, जसले पार्टीलाई ठूलो क्षति पनि पुर्याएको थियो ।

यसमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले पार्टीबाट राजीनामा दिए । २०४५ सालमा नेकपा मशालको सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गर्याे र माओवाद पास गर्याे । त्यसपछि दीर्घकालीन जनयुद्धको कार्यदिशा समेत पास गर्यो । २०४७ साल श्रावणमा प्रचण्ड नेतृत्वको नेकपा (मशाल), निर्मल लामा नेतृत्वको नेकपा चौम र रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठनविच एकता भई नेकपा एकता केन्द्र बन्यो । २०४७ सालतिरै हरिबोल गजुरेल र बाबुराम भट्टराई लगाएतको टिम मोहनविक्रम सिंहसँग विद्रोह गरि नेकपा एकता केन्द्रमा प्रवेश गर्यो । २०४८ साल मंसिर ४ मा एकता महाधिवेशनले प्रचण्डको दीर्घकालिन जनयुद्धको कार्यदिशा पारित गर्यो र पार्टीको नाम नेकपा (माओवादी) राखी २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्धमा होमियो ।

नेपालका कम्युनिष्ट पार्टीहरुको फुट र एकले अर्काेलाई कारवाहीको श्रृङ्खला यतिमा मात्रै सीमित छैन । २०४६ सालको राजनीतिक परिवर्तनपछि सबैभन्दा ठुलो कम्युनिष्ट शक्ति बनेको नेकपा (एमाले) पहिलो पटक महाकाली सन्धिको विषयलाई लिएर फुटेको थियो । अहिलेको नेकपा एमालेको उपाध्यक्ष वामदेव गौतमको अगुवाईमा पार्टी फुटाएर नेकपा (माले) बनाए । तर निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि पुनः एमालेमै फर्किए । सीपी मैनाली भने आजसम्म मालेकै नेतृत्व गरिरहेका छन् । २०६२⁄६३ को जनआन्दोलनपश्चात् कम्युनिष्टका दुईमुख्य धार नेकपा एमाले र नेकपा माओवादी अस्तित्वमा आए ।

नेकपा एमालेले संसदीय व्यावस्था रोजेको थियो भने नेकपा माओवादीले शान्तिपूर्ण राजनीतिक अवतरण रोजेको थियो । अन्य साना कम्युनिष्ट घटकहरु पनि आआफ्नै किसिमले जुट्दै फुट्दै गरिरहेका थिए । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भाग लिएको नेकपा माओवादीबाट मोहन वैद्य (किरण) फेरि पुष्पकमल दाहालबाट अलग भए । नेत्रविक्रम चन्द (विप्लव) ले पनि पुष्पकमल दाहालको नेकपा माओवादी छोडी सशस्त्र संघर्ष रोजे । दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा माओवादी तेस्रो स्थानमा खुम्चन पुग्यो । माओवादीको संगठन त्यसपछि कमजोर बन्दै गयो । निर्वाचनमा पराजय भोग्दै गएपछि २०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो ।

नेकपाले २०७४ को निर्वाचनमा करीब २ तिहाई जनमतको सर्मथन प्राप्त गरी एकल नेतृत्वको सरकार बनायो । तर एकता भएको तीन वर्ष नपुग्दै पार्टी फुटेर एमाले र माओवादीकै अवस्थामा फर्किए । ठूलो अपेक्षा र भरोसाले निर्वाचनमा सफलता प्राप्त गरेको दलभित्र अहिले चलिरहेको रडाकोले देशको राजनीतिक, सामाजिक, आर्थिक एवम् सम्पूर्ण क्षेत्रमा नराम्रो प्रभाव पारिरहेको छ । जनअपेक्षामा ठूलो आघात पुगेको छ । समाजवादको नाराले २०७४ सालमा सम्पन्न निर्वाचनमा दुईतिहाइ जनमत प्राप्त गरेको नेकपा आन्तरिक कलहले गर्दा विभाजित बन्नपुग्यो । विकास, समृद्धि र समाजवाद त केवल मृगतृष्णा मात्र बन्न पुुगेको छ । समृद्धि र समाजवादकै प्रलोभनले जनताले कम्युनिष्ट पार्टीलाई सत्तामा त पुर्याए । तर तीन वर्ष पनि पूरा हुन नपाउँदै व्यक्तिगत टकराव र गुटगत राजनीतिको प्रवृतिले सग्लो कम्युनिष्ट पार्टी विभिन्न समुहमा विभक्त हुँदा जनमतमाथि नै अपमान भएको छ ।

अहिले नेकपा एमाले भित्रको घिनलाग्दो जनभावना विपरित का गतिविधि पनि सत्ता, शक्ति,गुट र नेतृत्वमा हाली मुहाली गर्ने कुत्सित मानसिकताको उपज हो । विधि, पद्धति, संस्कार, सहमति, सहकार्य, एक अर्काको सम्मान जेजस्ता शब्द प्रयोग गरिए तापनि अहिलेको मुख्य समस्या भनेकै पार्टी कब्जा गर्दै सत्ता र शक्तिमा आफ्नो गुटलाई स्थापित गर्ने नै हो । पार्टी सुदृढीकरण र पुनर्गठनका नाममा चलाइएका समानान्तर गतिविधिले नेकपा एमाले कहाँ पुग्ने हो अनिश्चित छ । एक अर्काप्रति प्रयोग भएका गाली गलौजका शब्द र कारवाही हेर्दा लाग्छ । अब नेकपा एमाले एक ढिक्का हुने सम्भावना न्युन बन्दै गएको छ । आमकार्यकर्ता, समर्थक, शुभेच्छुकको एउटै चिन्ता छ, अब नेकपा एमाले कस्तो अवस्थामा पुग्ने हो ? कम्युनिष्ट आन्दोलन कहाँ पुगेर दुर्घटनाग्रस्त हुने हो ?