काठमाडौं । यो साता नेप्से परिसूचक ८७ दशमलब ३३ अंकले घटेको छ । तर कारोबार रकममा भने ९ अर्ब ४० करोड रुपैँयाले सुधार देखिएको छ ।
साताको पहिलो दिन कारोबार शुरु हुनु भन्दा अघि नेप्से २ हजार ७ सय ३५ दशमलव ३१ अंक रहेकोमा अन्तिम दिन घटेर २ हजार ६ सय ४८ दशमलब शून्य ८ अंकमा खुम्चिदा परिसूचक ८७ अंकले घटेको हो । कारोबार रकम तर्फ भने अघिल्लो साता २३ अर्ब ३९ करोड रुपैँयाको शेयर कारोबार भएको यो साता ३२ अर्ब ७९ करोड ४० लाख रुपैँयाको कारोबार भएपछि सुधार देखिएको छ ।
लगानीकर्ताको सम्पत्ति भने १ खर्ब २० अर्ब ८० करोड ९० लाख ८८ हजार रुपैँयाले घटेको छ । गत साता ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख ७ हजार रहेको लगानीकर्ताहरुको कुल बजार पूँजीकरण रकम साताको अन्तिम दिन ३६ खर्ब ६६ अर्ब ६९ करोड ९० लाख १९ हजारमा झरेको थियो ।
साताको पाँचौ कारोबार दिनमा ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार बराबरको ७ करोड २९ लाख १८ हजार ९६६ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक रकमको शेयर कारोबार एनआईसी एशिया लघुवित्तको भएको छ । एनआईसी एशिया लघुवित्तको सातामा १ अर्ब २९ करोड ५० लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको अन्तिम शेयरमूल्य बिहीबार प्रतिकित्ता १ हजार ८ सय ३७ रुपैँया कायम भएको थियो ।
जलविद्युत् कम्पनीको शेयरमा बृद्धि
जलविद्युत् कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण बढेपछि शेयर मूल्यसमेत बढ्न थालेको छ । लगानीकर्ताको आकर्षण बढेसँगै अधिकांश जलविद्युत् कम्पनीका सेयर मूल्य पछिल्लो समय सयदेखि डेढ सय प्रतिशतसम्म बढेका हुन् ।
चालू आर्थिक वर्षको पहिलो कारोबारका दिन दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १७ वटा जलविद्युत् कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेको थियो । तर, अहिले सबै कम्पनीका शेयर मूल्य बढेर अंकित मूल्यभन्दा निकै माथि पुगीसकेको नेप्सेको तथ्याकंले देखाकएको छ ।
बजार निरन्तर बढेर अन्य समूहका शेयर मूल्यमा सुधार आएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर आकर्षित भएको आकलन गरिएको छ । नेप्सेमा ३८ वटा जलविद्युत् कम्पनीको शेयर सूचीकृत छन् । यीमध्ये अपर तामाकोसी हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक ८ सय ७५ मा कारोबार भइरहेको छ । त्यस्तै माउन्टेन इनर्जीको ७ सय ८२, चिलिमे हाइड्रोपावरको ६ सय ४४, राधी विद्युत् कम्पनीको ४ सय ८७, रसुवागडी हाइड्रोपावरको ४ सय ७४, सान्जेन जलविद्युत् कम्पनीको ४ सय ५७, बुटवल पावर कम्पनीको ४ सय १९ रुपैयाँमा शेयर कारोबार भएको छ । ३ सयभन्दा माथि कारोबार गर्ने नौ कम्पनी छन् । चालू आर्थिक वर्षको सुरुवातमा १७ वटा कम्पनीको शेयर मूल्य अंकित मूल्य भन्दा निकै कम रहेका थिए ।
पछिल्लो १० महिनाको तथ्यांक हेर्ने हो भने समग्र बजारकै विकास भएको छ । बजार बढिरहँदा प्रति शेयर आम्दानी ३० प्रतिशत बढी रहेका कम्पनीको शेयर मूल्य समेत अंकित मूल्यभन्दा कम रहेको थियो । यसरी अस्वाभाविक रूपमा घटेका कम्पनीको शेयरमा बजार बढ्न थालेपछि लगानीकर्ताको आकर्षण बढेको शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको भनाई छ । सरकारले नेपालको पानी जनताको लगानीअन्तर्गत जलविद्युत् आयोजना निर्माण गर्ने नीति लिएको छ । केही महिनाअघिसम्म दयनीय बन्दै गएको जनताले लगानी गरेको जलविद्युत् क्षेत्रमा अहिले आएर यस क्षेत्रमा लगानीकर्ता लगानी गर्न इच्छुक देखिएका छन् ।