(चर्चित मानवशास्त्री डोरबहादुर बिस्ट हामी माझ छैनन् अहिले । तर उनले नेपाल र नेपालीको मानव शास्त्रीय इतिहासलाई निकै यथार्थपरक ढंगले नजिकैबाट नियाल्छन् । आजसम्म जे इतिहास लेखिएको छ नेपालको बारेमा, त्यो यथार्थ नभएको उनको तर्क छ । नेपालको नृशास्त्रीय इतिहासलाई सही र यथार्थ परक ढंगले लेखिनु पर्ने उनको दाबी रहँदै आएको छ । प्रस्तुत छ, खस र किरात जातिका सन्दर्भमा २०५२ जेठ २० गते पत्रकार गुणराज लुइटेलले जनआस्था साप्ताहिकका लागि लिएको अन्तवार्ताको मुख्य अंश-सम्पादक ।)
१. खस र किरात जाति बीचको भिन्नताबारे प्रष्ट्याइदिनोस् न ?
मानिसले जातीय कुरा गर्नु अति स्वाभाविक हो । नेपालका दुई जाति खस र किरातमध्ये खस बढि बसाइ सरेको जाति हो । खस–आर्यहरु पशुपालन गर्ने घुमन्ते जातिका मानिस हुन् । उनीहरुले छिटो हिँड्ने जनावर गाई, घोडा, भेडाबाख्रा, कुकुरजस्ता जनावर लिएर हिँड्दा घाँसे मैदानमा धेरै चाँडो हिँडे ।
किरात चाहिँ हाम्रो हिमालको पुछार, दक्षिण चीन, बर्मा, थाइल्यान्डजस्तो बढी पानी पर्ने, घनाजङ्गल भएको ठाउँमा बस्ने भएकाले उनीहरूको जीवनशैली छिटो नहिँडेर ढिलो भयो । त्यही भएर उनीहरूले भैंसी, सुंगुरजस्ता ढिलो हिँड्ने जनावर पाले । किरात जातिको पश्चिमतिर बढ्ने प्रवृत्ति ढिलो हुँदै गएको देखिन्छ । खस पूर्वतिर लाग्दा छिटो हिँड्ने हुनाले बाटामा भेटिएका सानातिना समूहलाई पेल्दै मिच्दै आफ्नो आधिपत्य कायम गर्दै अगाडि बढ्ने वर्ग पर्न गयो । किरात भनेको ढिलो जाने भएकाले काठमाडौं आएर केही पश्चिमतिर गएको देखिन्छ ।
२. आर्थिक जीवनशैलीकै कारण यसो हुन गएको हो त ?
हो, आर्थिक जीवन शैलीकै कारण खस-आर्यहरुको दबदबा बढ्दै गएको हो । इतिहासमा को, कसरी अगाडि बढ्यो भन्ने कुरा नसिकाइएपछि, हाम्रा विद्यालयमा यो कुरा नपढाइएपछि नाक चुच्चे (सेतो धोती लाउने) ले पेलेर खायो भन्ने कुरा देखा परेको हो । धेरै नै युवा बाहुनले यो कुरा बुझ्न थालेकाले म अहिले असाध्यै खुसी छु । मैले ‘बाहुनवाद’ भनेपछि बाहुनलाई गाली गर्यो भन्ने अर्थ लगाए । अनि बाहुनलाई गाली गरेपछि हिन्दू धर्म पनि बच्दैन, हिन्दूहरू नबाँचे हामी बाँच्दैनौं भन्ने सोचाइ पुरानो वर्गमा रह्यो । तर त्यसो होइन, नेपाली भएर बाँच्नुपर्यो ।
नेपाली मान्छे भएपछि मन लागेको धर्म पछ्याउनोस्, मन लागेको दाल, तरकारी खानोस्, मन लागेका ठाँटको घर बनाउनोस्, मन लागेको पार्टनर छानेर बिबाह गर्नोस् र मन लागेका कम्पनीको मोटरसाइकल चढ्नोस्, कसले के भनेको छ र ?
३. के कुराले पारेको छ त यसमा असर ?
ब्राम्हणवाद भनेको यस्तो कुरा हो, जसले निरन्तर भाग्यवादको प्रचार गरिरहन्छ । अहिले जे जति भएको छ अघिल्लो जन्मको कमाइले भएको हो, अहिले तिम्रो पौरखले केही गर्दैन । सबै कुरा ईश्वरले गरिसकेको छ भनेर जबसम्म भाग्यवादी सिद्धान्तलाई विश्वासमा लिन्छौं, हामी पौरखहीन हुन्छौं । पौरख नगर्ने हामी कहिले खुसी हौंला त ?
अर्काले कहिले दिन्छ र खाउँला भनेर सहायताको ठूलो थैलो लिएर संसारभरि घुम्ने चलन जुनसुकै सरकार आए पनि त्यो गरिरहेको छ, त्यो लाजमर्दो कुरो हो, पौरख शून्य नेपाली भएकाले त्यसो भएको हो । संस्कृतमा समाचार दिनुपर्ने कुनै आवश्यकता थिएन । गलत परम्परा तोड्ने माक्र्सवादी सरकार आएको बेलामा पनि संस्कृतको प्रतिरक्षा गर्ने काम भयो । केही अदूरदर्शी पण्डितले संस्कृतलाई कतै न कतै झुन्ड्याइदिए बाहुन वर्गको कल्याण र हिन्दू धर्मको रक्षा हुन्छ कि भन्ने सोचाइ राखे । त्यो गलत सोचाइको कारण संस्कृतमा समाचार दिन थाले । संस्कृत भाषा आज विकास गर्न बाँकी भाषा होइन ।
४. खसजाति जनजाति हो र ?
खस जाति जति शोषित, गरिब र उपेक्षित कुनै पनि वर्ग नेपालमा छैन । खस सबैभन्दा ठूलो समूह भएको जनजाति हो । आजको नेपाली भाषा (खस कुरा) धेरै भाषाको सम्मिश्रणले आदिकालको ‘खस’ कुरासँग मिल्दैन । त्यसकारण आफ्नै भाषा भएको, आफ्नै भौगोलिक क्षेत्र भएको, आफ्नै चालचलन भएको, देवीदेवता कुनै पनि पूजा नगर्ने, बाहुन पुरोहित हुँदै नभएको ‘खस’ लाई जनजाति नभने कसलाई भन्ने ?
अहिले मैले जुम्लामा बसेर गरिरहेको काममध्ये एउटा खसहरूलाई जनजाति हौ भनेर चिनाउनु पनि हो । अहिले पूर्वतिर धमाधम जनै लगाएर किरातीलाई बाहुन बनाउने काम डा. प्रपन्नाचार्य र पं छविलाल पोख्रेलजस्ता विद्वानले गरिरहनुभएको छ । जनजातिलाई कसरी भविष्यमुखी बनाउने भन्ने आजको समस्या हो । तर मान्छेहरू दुई सयको जनै लगाउन हुरुरु कुँदेका छन् । आज त यो स्थिति छ भने आजभन्दा ६ सय वर्षअघिका बाहुनलाई कस्तो भयो होला ?
५. खस त आफैमा विभाजित छ त ?
पहिले विशाल साम्राज्यका शक्तिशाली खसहरूलाई ‘तिमी ठकुरी हौ’ भन्दै जनै लगाइदिँदा तिनै खस बडा सम्मानित भए । पछि बाँकी खसलाई ‘शुद्र हौ’ भनिरहे । जनै लाउनेले आफ्नै खस दाजुभाइलाई तल्लो जातको ठान्न थाल्यो । पूर्खाले ठगेको त्यही कुरालाई सच्याउन नै म त्यहाँ गएको हुँ । बाहुनले कहिल्यै परिस्कृत कुरा गरेनन् । सधैं मलाई दान देऊ, तिमी बैकुण्ठ जान्छौ भन्ने मिथ्या प्रचार गरिरहे । बैकुण्ठ छ भन्ने विश्वास भएको भए ती बाहुनहरू आफैं जान्थे ।
भाग्यवादले गर्दा हामी पौरखशून्य भयौं । बाहुनवादले मानिसको प्रतिभालाई कुण्ठित बनाइदियो । त्यो कुण्ठित पारिएको वर्गमा खसभन्दा बढी कसैलाई नोक्सान भएन । त्यसकारण खसहरूलाई उठ्न असाध्यै गाह्रो पर्यो । ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ लेखिसकेपछि पूर्वतिर जाउँ कि भन्ने सोचें । तर पूर्वतिर एउटा सकसकी आइसकेको छ, किरात वर्गमा । त्यसैले म खसान क्षेत्रतिर गएँ । योगी नरहरिनाथ पनि खस हुन् । उनी आफू बाहुन भएर हिँड्छन् तर मैले खसको जुन कुरा गरेको छु उनले त्यो कुरा गरेका छैनन् । योगी नरहरिनाथमा पनि हिन्दू धर्मको वर्णाश्रम व्यवस्थालाई हेर्ने कमजोरी छ ।
६. के फरक छ तपाई र योगी नरहरिनाथको सोचाइमा ?
खसमा किन अवन्नति आयो भन्ने कुरालाई योगीले राजनीतिक ढंगले मात्र हेरेका छन् । ऐतिहासिक ढङ्गले हेरेका छैनन् । तर मैले सामाजिक, आर्थिक, सांस्कृतिक ढङ्गले किन खसलाई लात्ती हानियो भनेर हेरेको छु । जबसम्म खसभित्र हामी पनि उठ्नुपर्छ भन्ने चेतना हुन्न, त्यतिञ्जेल नेपाल ज्यान गए पनि बन्ने छैन । बरु नेपाललाई जनजातिको राजनीतिले जर्जर बनाइरहनेछ ।
मेरो उद्देश्य साम्प्रदायिक होइन । खसहरूलाई जनजाति बनाउनु हो । गाई खाने वा नखाने मुद्दा कुनै मुद्दा होइन । पद्मरत्न तुलाधरले पहिले बोल्दा र पछि माफी माग्दा दुवैपटक राजनीतिक बोली बोलेका हुन् । यथार्थ कुरा के हो भने नेपाल आदिकालदेखि गाईखाने देश पनि हो ।
७. गाईखाने कुरा किन यसरी चर्केको हो ?
अहिलेसम्म पनि हामीले गाई खाइरहेको देखिरहेका छौं, खान्छन् । नेपालभित्र गाई काटेर खाने परम्परा नभएको होइन । नेपाल हिन्दू अधिराज्य बन्यो र कानुनका हिसाबले गाई काट्नु हुन्न, काटे सजाय हुने भन्ने कानुन बनेपछि त्यो कामले अन्डरग्राउन्ड हुनुपर्यो । राणा शासनमा राजनीतिले अन्डरग्राउन्ड जानुपथ्र्यो, पञ्चायती व्यवस्थामा दलीय कुरामा विश्वास गर्नेले अन्डरग्राउन्ड जानुपरे जस्तो गाई काटेर खानेकुरा अन्डरग्राउन्ड भएको थियो ।
यथार्थमा मूल कारण गाई होइन, गाईखाने कुरा पनि अहिले यही मौकामा भन्यो भनेर साम्प्रदायिक हिसाबले पद्मरत्नलाई लेखट्ने एउटा वर्ग निस्कियो । यही मौकामा हामीले पनि कति लुकेर खानु भनेर उनीहरु पनि बढ्ता उपद्रो गर्न थालेका छन् । स्याङ्जा, दोलखामा गाई खाएका कुरा आएका छन्, त्यो पद्मरत्नको भाषण सुनेर होइन, गाई खाइरहेकै मानिसले खाएका हुन् । यो झगडा गर्ने एउटा निहुँमात्र हो, यो नभए अर्को निहुँ निस्कन्छ । म भए त्यसरी उछाल्ने थिइनँ । जेसुकै कुरालाई पनि बढी उछाल्नुको अर्थ हो, बढी दंगा मच्चाउनु । दंगा भोलि हिंस्रक पनि हुन सक्छ ।
८. यसको हल के होला त ?
व्यक्तिले दीर्घकालीन कुरा गर्नुपर्छ । एकै छिनलाई पनि नहुने कुरा गर्न हुँदैन । त्यसकारण पुरोहितका छोराहरूलाई भन्ने गरेको छु, तिमीहरूको पुरानो पुस्ता बदलिन सक्दैन । त्यसैले सिदा बटुलेर खानुभन्दा पौरख गरेर खान सिक । पुराण भनेर र फटाहा कुरा गरेर ‘दान देऊ, तिमी भुर्रर उडेर स्वर्ग जान्छौं’ भन्नुभन्दा उत्पादनशील काममा लाग्नुपर्छ ।
नेपालका एकीकरण गर्ने राजा क्षेत्रीय नै हुनुपर्छ भन्ने व्याख्या पढाइ नभएका बाहुनहरुले गरेका हुन् । राजालाई राज्य जोगाउनुछ, जे नाउँ राखे पनि पुगिहाल्यो । म विकासको इतिहास हेर्छु राजसत्ता र सत्ता परिवर्तनको इतिहाससँग मलाई चासो छैन । हाम्रो राजाका पुर्खामा मिचा, खान्चा भन्ने थिए । नाम देख्नेबित्तिकै यहाँ मुस्लिम भने ।
९. के हो त भाषिक रुपमा यी शब्दको अर्थ ?
तर मगर भाषामा ‘मिचा’ ‘खान्चा’ को अर्थ ‘जेठा’, ‘कान्छा’ हो । पछि मुस्लिम प्रभाव परेपछि सिंह, खाँ, आदि राखे । चितौनगढबाट भागेर आएका हुन् भनेर हिन्दुस्थानका राजपुतले किन आफ्नो छोरालाई जेठा (मिन्चा), कान्छा (खन्चा) भन्नुपथ्र्यो ? पृथ्वीनारायण शाहका मावली दिग्वन्धन सेन मगर हुन् । उनकी आमा पनि मगर हुन् । नेपालमा तीन देवीका मन्दिर छन्, पाल्पाको लसगीदेवी, गोरखाको गोरखकाली र मनकामना । त्यहाँका पुजारी मगरमात्र छन्, अरुले प्रवेश गर्न पाउँदैनन् ।
पाल्पाको लसगीदेवीमा सुँगुर काट्नुपर्छ र जाँडरक्सी पनि जान्छ । अहिले सुँगुरको साटो बनेल जान्छ । यहाँ आएर राजा भएको भनेर लंगडो तर्क दिइएका छन् । राजपाठ छोडेर भागेर आएको कुनै व्यक्तिलाई आउनासाथ यहाँ कसले ‘ओ हो.. तँ आइछस्, राजा हो’ भन्छ ? न त यहाँ आएर नेपालको राजालाई परास्त गरेको छ । यसकारण नै मैले अहिलेका राजाका पुर्खा मगर हुन् भनेको हुँ । मैले कुनै नयाँ कुरा गरेको होइन ।