प्रकृतिले सिंगारेको नेपाल देश हाम्रो
वसन्तको आगमनले झनै भयो राम्रो
हामीलाई माया गर्ने नेपाल आमा हुन्
तोरी फुल्यो पहेंलपुर धर्ती बन्यो सुन ।
मुला फुली चाँदी जस्तै हेर कति राम्रो
हिमाल झैं टल्किने धर्ती बन्यो हाम्रो
लहराका माला पैरी बस्छन् रुख हेर
गुराँस फुली रातै भयो लाली चढ्यो धेर ।
जोडाजोडी मिली नाँच्ने डाँफे मुजुर पनि
आफ्नोआफ्नो जोवानीको चक्चक बढ्ने अनि
वनमा बस्ने पशुपंछी घुम्छन रनवन
तिनले पनि जोडीखोजी हिंड्ने गर्छन् मन ।
बगैचामा ढकमक फूल पनि फुल्छन्
रस लिन भमरा त त्यतैतिर डुल्छन्
बुढारुख वनका पनि सबै मुना फेर्ने
सोह्र वर्षे जोवानीका कुरा सम्झी हेर्ने ।
वसन्तको आगमनले सबको मन छुने
प्रकृतिका सबैलाई मन चञ्चल हुने
आउने वाला वसन्तमा राम्रै सन्देश आवस्
माया प्रिती सबैतिर छरेर नै जावस् ।
पूर्व सेनानी, काभ्रे, नाला