• मंसिर १७ २०८१, सोमबार

२० करोडको ज्यान लिने ‘ब्ल्याक डेथ’देखि ‘कोरोना’सम्म

बैशाख १० २०७८, शुक्रबार

जीवको सृष्टिपश्चात् उसलाई विविध आपत्ति, ब्याधि अवश्यंभावी नै रहेछ । कुन समय मा कुन ब्याधिले माहामारीको रुप लिने भन्ने मात्रै फरक हो । जुनसुकै जीवलाई पनि रोग ब्याधिले च्यापेको नै हुन्छ । त्यसबाट अछुत कुनै रहेको हुदैन । एक जीवाणुलाई अर्को जीवाणुले बाधा पुर्याएको हुन्छ नै । त्यसैले विषाणुमा पनि यो प्रकृतिको शाश्वत नियम नै हो । प्रकृतिको प्रलय महाप्रलय र उत्पातलाई कुनै पनि मानव निर्मित यन्त्र, संयन्त्रले केहि रोकथाम गर्न त सक्ला तर पूरै नियन्त्रण गर्न कठिन रहेछ ।

जीवमा उच्च मानिने मानवलाई विशेषतः दैहिक, दैविक र भौतिक गरी तीन प्रकारका तापले सताउने रहेछ । त्यस्तै आत्मिक, दैविक र भौतिक तीन थरिको प्रकोपले पनि सताउने गरेको पाइयो । आफ्नो शरीरमै उत्पन्न हुने शारीरिक र मानसिक रोगहरुलाई आत्मिक प्रकोप मानिन्छ । यस्तो प्रकोप खानपिन आहारविहार र आफ्नो पूरक बाट उत्पन्न हुने रोगव्याधिको रुपमा आउने हुँदा यसका लागि । जिम्मेवार पनि व्यक्ति विशेष नै हुन्छ । तर यहाँ दैविक आपतविपत व्यक्ति बिशेषको परिधिभन्दा धेरै टाढा हुन्छ ।

शारीरिक र मानसिक रुपमा ठीक छु भन्नेहरुलाई पनि बाढी, पहिरो, आँधीबेहरी, भूकम्पलगायत पृथ्वीमा देखिने प्रलय महाप्रलय कसैले रोक्न सक्दैन । समयसमयमा ठूलाठूला प्रलय भएर नै होला कति ठाउँमा उत्खनन् गरेर हेर्दा ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्री, वस्तुहरु भेटिने गरेका छन् । त्यस्तै भौतिक ताप र प्रकोप भने मानव निर्मित अस्त्र र राज्यसत्ता, अर्थ, राग, बासना, काम, क्रोध, मोह, अहमजस्ता कमजोरीका निम्ति प्रयोग गरिदा विश्वभर ठूला ठुला युद्ध भएका छन् । र, त्यसले विनाश नै भएको छ । तर इतिहासमा मानवको विनाश के कसरी महामारीबाट भएको रहेछ भन्ने विषयमा सामान्य उल्लेख गर्ने जमर्को गरिएको छ ।

चाइनाको हमिन माङ्घा भन्ने पुरातत्व इकाइले उत्तर-पश्चिम चाइनाको कुनै एक भूभागमा हजारौको संख्यामा मानव कंकाल भेटिएको र त्यसको पुरातात्विक अध्ययनले ती कङ्काल पाँचहजार वर्षभन्दा पुरानो हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यो । ती सबै नरकङ्काल एउटै खाडल भेटिएको थियो । त्यसैगरी ई. पु.१४०० वर्षअगाडि सिन्धु घाँटीको सभ्यता नै धराशायी हुनुमा त्यसबेलाको बेबिलोन मेसोपोटामियामा त्यसबेला देखिएको इन्फ्लुएन्जा भाइरस नै हो भन्ने दाबी गरिएको छ ।

 

त्यस्तै एथेन्स र स्पाटाको युद्धपछि इसापूर्व ४३० मा ग्रीकको एथेन्समा देखापरेको प्लेग एथेन्स जुन रोगले लिबिया इथियोपिया, ग्रीक र इजिप्टमा तात्कालिक जनसङ्ख्याको दुईतिहाईले मृत्युवरण गर्नु परेको थियो । ई. सं. १६५ देखि १८० सम्म इटलीको रोम र जर्मनमा विशेष देखापरेको एनोथाइन प्लेगका कारण करीब ५० लाख मानिसको मृत्यु भएको थियो र रोम मा मात्र पाँच लाख मरेका थिए भन्ने ‘द हिस्ट्री’ या ‘प्यान्डेमिक’मा देखिन्छ ।

रोमन बादशाह, आर्कस् औरेलिभ्स पनि यही माहामारीको सिकार भएको देखिन्छ । यो प्लेग रोगले हालसम्ममा माहामारीमा सबैभन्दा बढी प्रभाव पारेको देखिन्छ । ई सं. २५० देखि २७१ सम्म साइप्रियन प्लेग देखियो, जसले इथियोपिया, ट्युनिसिया, उत्तर अफ्रिका, इजिप्ट र रोममा धेरैले ज्यान गुमाए । त्यो बेला रोममा मात्रै दैनिक ५००० भन्दा बढीले ज्यान गुमाएका थिए ।

त्यसै गरी सन् ५४१-५४२ तिर इजिप्ट प्यालेस्टाइनमा जस्टेनियन प्लेग देखियो । यसमा ६ करोडको मृत्यु भएको भनिएको । यो प्लेगलाई बुबोनिक प्लेग पनि भनियो । प्लेग रोगको लक्षणमा ज्वरो आउने टाउको दुख्ने, झाडापखाला लाग्ने, छाला रातो हुने आदि पर्दछन् । त्यसपछि सन् १३४६ देखि १३५२ तिर ब्ल्याक डेथ प्लेगले करिब २० करोड मानिस मारेको र यसले पनि युरोपलाई नै बढी प्रभावित गरेको देखियो । विशेषगरी फ्रान्स र इंग्ल्याण्ड बढि प्रभावित भएको पाइयो । बेलायतको सामन्तवादी राज्यसत्ता धराशायी हुनुमा यो महामारीको पनि ठुलो भूमिका थियो भनिन्छ । सन् १६६५ तिर ग्रेट प्लेग अफ लण्डनको नामले चर्चित माहामारीले इंग्ल्याण्डको २०% जनसंख्या नै सखाप भएको अमेरिकाले गरेको एक अनुसन्धानले देखाएको । त्यस्तै १८५५ मा थर्ड प्लेग या प्यान्डेमिक नामले चर्चित माहामारीमा चाइना, इंडिया र हङकङमा गरी एक करोड पचास लाख मानिसको मृत्यु भएको देखिन्छ । ग्रेट प्लेग अफ मार्सेली (फ्रान्स १७२०- १७२९) मा एक लाख र रसियन प्लेग (१७७० देखि १७७२) ले रुसमा करिब एक लाख मानिस मरेको देखिन्छ ।

त्यसै गरी माहामारीको रुपमा सोह्रौ शताब्दीतिर बिफरले पनि यूरोपियन मुलुकलाई नै बढी प्रभावित पारेको देखिन्छ । सोह्रौ र सत्रौं शताब्दीमा अमेरिका र यूरोपमा ५ करोड ६० लाख जनसंख्याको मृत्यु भएको देखिन्छ । हैजाले सन् १५४५ तिर मेक्सिको र सेन्टर अमेरिकामा एक करोड पचास लाख र सन् १८१७ तिर रसियामा १० लाख मरे । यसरी प्लेग, बिफर, हैजा हुँदै सन् १८८९-९० बाट फ्लुको माहामारी सुरुआत भएको देखिन्छ । यो समयताका रसियामा मात्र फ्लु भाइरसका कारण १० लाख मानिसले ज्यान गुमाएका थिए । त्यसपछि विश्व चर्चित स्पेनिश फ्लुले युरोप, अमेरिका र एशियामा गरि ५ करोड मानिस को ज्यान लिएको थियो । एसियन फ्लुका कारण चीन, हङकङ, सिंगापुर र अमेरिकामा समेत गरि ११ लाख ले मृत्युवरण गरे ।

swine flue

सन् २००९-१० तिर चर्चित महामारी स्वाइन फ्लुले करिब ६ लाख मानिसलाई, मेक्सिको लगायत विश्वव्यापीरुपमा सखाप बनाउँदै, इबोला भाइरस (२०१४-०१६) ले लिबिया, सिरिया, नाइजेरिया सेनेगलमा करिब १५ हजार र जीका भाइरसले मध्य अमेरिका र दक्षिण अमेरिकामा असर पारेको नै देखिन्छ । एड्सबाट सन् १९८० देखि हालसम्म करिब दुई करोड बीस लाख मानिस मरिसकेका छन् । (स्रोत लाइभ साइन्स डट कम) त्यस्तै सार्सले विश्वव्यापी गरायो । हाल कोरोना भाइरसका कारण हुने कोभिड १९ ले विश्व माहामारीको रुप लिई सम्पूर्ण मानव जातिलाई नै त्राहिमाम परिरहेको छ । यसले एक वर्षको अवधिमा तेह्र करोड एकसठ्ठी लाख सतासी हजार संक्रमित भएको र २९ लाख ३९ हजारको मृत्यु भएको देखिन्छ । होप्किन्स, अमेरिकाको अप्रिल १३, २०२१ सम्मको आँकडा)

नेपालमा पनि हालसम्म तीन हजारभन्दा बढिको मृत्यु भइसकेको देखिन्छ । हालै सुरु भएको भनिएको कोभिड-१९ को दोस्रो लहरले साना बालबच्चासमेतलाई प्रभाव पारेको र यो झन् जटिल प्रकृतिको छ भनिएको छ । युके भेरियन्ट नाम दिइको यो भाइरसले अमेरिका, दक्षिण अफ्रिका र ब्राजिल हुँदै भारतलाई बढी प्रभाव पारेको देखिन्छ । हाल भारतमा करिब दुईलाख दैनिक संक्रमित भएका तथ्य आइरहेका छन् ।

यसरी इस्वी सम्बत् सुरु भएदेखि हालसम्मका माहामारीलाई सरसर्ती नियाल्दा सयदेखि एक सय बीस वर्षको अन्तरालमा एउटा न एउटा माहामारी फैलिएको देखिन्छ । ई. सं ४०० देखि ई. सं १३०० सम्म माहामारी अलि कम देखिए पनि सन् १३०० देखि यता त लगातार प्लेग, विफर र हैजा नै माहामारीको रुपमा रहेको पाइन्छ । अहिले पछिल्लो समयमा आएर फ्लु भाइरसको बढी प्रभाव देखिन्छ । मृत्युदरमा सबैभन्दा बढी हैजा त्यसपछि बिफर (३५%) प्लेग(१०%) र फ्लु (०.१-२.५%) सम्म देखिन्छ. हालसम्म प्लेगबाट मृत्यु हुनेको संख्या ३२करोड ३६ लाख, बिफर बाट ५ करोड ६० लाख एड्सबाट ३ करोड २० लाख फ्लुबाट ५ करोड २६ लाख (कोभिड बाहेक) रहेको छ । (स्रोत : लाइभ साइनस डट कम) यो तथ्यांकले फ्लु भाइरसको मृत्युदर कम रहेको देखाउँछ ।

नेपालको सन्दर्भमा किराँत र लिच्छविकालमा ‘छेरपटि’ अर्थात् हैजा फैलियो भने ईस्वी संवत् ८८०-८९० र ११०१ बिफरको फैलिएको देखिन्छ । अन्तर्राष्ट्रिय रुपमा सोह्रौ शताब्दीमा बिफर फैलदा नेपाल पनि अछुतो रहेन । रणबहादुर शाहको पालामा पनि बिफरका कारण बासठ्ठी हरण गर्नु परेको थियो । उपत्यकामा फैलिएको विशेष रोगहरुमा प्लेग, हैजा र बिफर देखिन्छ । डा. डिल्लीरमण रेग्मी का अनुसार मल्लकालमा कान्तिपुरमा मात्र प्लेग रोग बाट २० हजारको मृत्यु भएको थियो । भाष्कर मल्ल, भक्तपुरका भूपतिन्द्र मल्ल समेत प्रभावित भएका थिए भन्ने इतिहासकारको भनाइ रहेको छ । २०३२ सालतिर ह्युमतटोल र जैसीदेवलमा भेटिएका नर-कंकाललाई बुढापाकाको भनाइमा छेरौटी अर्थात् हैंजा लागेको मान्छेलाई डोरिले तानेर लगेर फालिन्थ्यो भन्ने पितापुर्खाको भनाइ छ ।

यसरी इतिहास केलाउँदा पनि प्रकृतिमा कुनै न कुनै बिग्रह भएर यस्ता रोगहरूबाट पशुपन्छी, जीवजन्तु र मानिस मरेको देखिन्छ । त्यसकारण समय-समयमा यस्ता माहामारी हुने नै रहेछ भन्ने बुझ्न सकिन्छ । तर पनि सतर्कर्ता, स्वास्थ्य मापदण्ड अनि स्वस्थ र स्वच्छ वातावरण कायम गर्नका सम्पूर्ण मानव जाति र सरोकारवाला सबै आ-आफ्नो ठाउँबाट जिम्मेवार हुनु नै पर्छ । प्रकृति र धर्ती माताको अत्याधिक दोहनबाट हुने जल, थल र वायु लगायतका प्रदूषण यस्ता रोग ब्याधिको कारक बन्दै गइराखेको छ ।

korona

स्वस्थ मन, स्वस्थ विचार र स्वस्थ जीवनशैली अपनाउन हामीले दैनिक आहारविहार जल, थल र वायु प्रदुषण नहुने वा कम हुने गरि कार्य गर्नुपर्दछ । शारीरिक रुपमा दैनिक व्यायाम, योग, प्राणायाम र ध्यान गर्ने, मानसिकरुपमा स्वच्छन्द, हासी-खुशी र सदैव सकारात्मक हुने तथा मानवीय रुपमा सबैलाई समान दृष्टिले व्यवहार गर्ने गरी हाम्रो जीवन शैलीलाई परिवर्तन गर्यौ भने रोगप्रतिरोधी क्षमता अवश्य बढाउन सकिने । समय, देश, काल र परिस्थितिलाई विश्लेषण गरेर चाडपर्व, संस्कार र संस्कृति पनि मानव हितको प्रतिकूल नहुने गरी परिमार्जित, परिस्कृत र विशिष्टिकृत गर्दै मनाउने गर्नुपर्दछ । कुनै पनि ब्याधिका तरंग एकपटक चम्कने हो, पछि क्रमशः मत्थर हुँदै जान्छ । त्यसैले, सबैले स्वास्थ्य मापदण्ड पालन गर्ने र अनुशासनमा बस्ने हो भने हामीले यस्ता माहामारीलाई परास्त गर्न सक्छौं ।