कति कठिन छ, अन्तरीक्षको यात्रा ! एक त कैयौं दिनको यात्रा, त्यो पनि अन्तरीक्षको । रकेट पड्काएर अन्तरीक्षमा पुग्ने । त्यो पनि पुगिन्छ कि पुगिन्न, फर्केर आइन्छ कि आइन्न । अनिस्चित, बिल्कुल अनिस्चित !
जमाना थियो शीत युद्धको । पुँजीवादी–साम्राज्यवादी अमेरिका एक ध्रुवमा, अनि अर्को ध्रुवमा समाजवादी सोभियत । कसले कसलाई जित्ने प्रतिस्पर्धा पृथ्वी कसको भन्ने मात्र थिएन, अन्तरीक्ष कसको भन्नेसम्म थियो । विज्ञान र प्रविधि प्रतिस्पर्धाको उचाइमा जाँदै थिए ।
रुसले बाजी मार्यो । रुसी नागरिक युरी गागरिन अन्तरीक्षमा पुगे र सकुशल पृथ्वीमा फर्किए । उनी अन्तरीक्ष मानव बने । अमेरिकाका लागि एक ठूलो धक्का दिए । तर अन्तरीक्ष यात्रा उनकै लागि एक ठूलो धक्का थियो । उनी दुई मिटर व्यासको सानो अन्तरीक्ष यानमा अन्तरीक्षको यात्रा गरेका थिए ।
उक्त यानमा गागरिनको हातमा केवल कन्ट्रोल गर्ने ब्रेक थियो । यानको ‘क्याप्सुल विन्डो’ बाट हरियो पृथ्वीको गोलो नक्सा देख्ने उनी पृथ्वीका पहिलो र निकै सौभाग्यशाली मानिस थिए । बादलको पछ्यौराले आफ्नो छायासहित घपक्क ढाकेको पृथ्वीको सुन्दर दृश्य देख्ने उनी नै पहिलो मानव थिए ।
गागरिनले इतिहास त्यसै बनाएका होइनन् । उनको अदम्य साहसलाई मान्नै पर्छ । जमाना यस्तो थियो– उनलाई यानमार्फत् अन्तरीक्षमा पठाइएको कसैलाई जानकारी नै थिएन । यानमा केही गडबडी भएमा बाँच्नसक्ने आधार नै थिएन ।
उति बेलाका इन्जिनियर बोरिस चेरटोक ५० वर्ष अघिको कुरा स्मरण गर्दै ‘रकेट्स एण्ड पिपुल’ नामक पुस्तकमा लेख्छन् : गागरिनले त्यसबेला प्रयोग गरेको अन्तरीक्ष यानलाई आज वैज्ञानिकका सामु राख्ने हो भने यो मिसनलाई कसैले पत्याउन पनि पत्याउँदैन र यसका पक्षमा कोही पनि हुनेछैन । यसको अर्थ हो तात्कालीन सोभियतको स्वाभिमान र गौरवका लागि उनीहरुले अकल्पनीय जोखिम उठाएका थिए ।
यो अन्तरीष यानलाई अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलको सहयोगमा प्रक्षेपण गरिएको थियो । यसका साथै यही वर्ष १०६१ म एक कृत्रिम उपग्रह स्पुतनिक–१ को प्रक्षेपण पनि यही आर–७ ब्यालेस्टिक मिसाइलद्वारा गरिएको थियो ।
खुसीको कुरा, गागरिनसँग भएको ब्रेकले काम गरिरहेको थियो । उनी जमिन नजिकै आइपुग्दा प्यारासुटको सहारा लिएर बोल्गा नदीको किनारमा हाम फालेका थिए । उनको सुरक्षित अवतरणले रेकर्ड नै बनाएको थियो ।