• असार १३ २०८१, बुधबार

सन यात्सेनको अगुवाइमा चीन यसरी विदेशी हस्तक्षेपबाट मुक्त भयो

बैशाख १० २०७८, शुक्रबार

सन यात्सेन पेसाले डाक्टर थिए । तर मान्छेको रोग निदान र चिरफारमा लगेनन् । उनको सिंगो जीवन चीनलाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउने संघर्षमा बित्यो । उनी चीनभित्र रहेका खराब मानिस, तिनका गतिविधि, साम्राज्यवादका पिछलग्गु मञ्चु वंशजस्तो खतरनाक तत्वलाई चीनबाट निकालेर फाल्न लागि परे । उनी जुन तत्वलाई निकालेर फाल्न लागिपरेका थिए, आखिर त्यसैको आँखाको कसिङ्गर साबित भए । मञ्चु वंशले उनको टाउकाको मोल तोक्यो ।

उनको टाउको ल्याउनेलाई पुरस्कृत गर्ने घोषणा गरियो । मञ्चुवंशद्वारा टाउकाको मोल तोकिएका सन यात्सेनको जन्म मकाउ र हङकङ नजिकको गाउँमा एक गरिब किसान परिवारमा भएको थियो । उनका बाबुआमा यति गरिब थिए कि आलुमात्र खाएर बाँच्थे । त्यो बेला चामल साह्रै महङ्गो थियो । उनीसँग लगाउनका लागि एकजोर जुत्ता पनि थिएन ।

उनी तेह्र वर्षको उमेरमै होनुलुल पुगे । त्यहाँ बसेर तीन वर्ष पढेपछि हङकङमाउच्च शिक्षा हासिल गरे । त्यही सन् १८९३ मा चिकित्सक भएर काम पनि सुरू गरे । हङकङ जानुपूर्व नै उनको बिहे भएको थियो । तर उनले श्रीमतीलाई आमाकहाँ नै छोडेर गएका थिए । विदेशमा रहँदा उनको सम्पर्क क्रान्तिकारीसित भयो । उनी राष्ट्रवादी भए अनि निरङकुश राजतन्त्रका विरोधी र गणतन्त्रका समर्थक बने । उनी साम्राज्यवादको पनि विरोधी भए ।

सन् १८९४ मा निरङकुश मञ्चुवंशविरुद्ध होनुलुलमै बीसजना चिनियाँ पसलेहरू र खेत–मालिकसँग मिलेर चिनियाँ समाज सुधार गठन गरे । यो चीनको पहिलो बुर्जुवा क्रान्तिकारी सङ्गठन थियो । अनि त्यसको नारा तय गरे- ‘चीनलाई पुनर्जीवन देऊ र राष्ट्रिय स्वाधीनताको रक्षा गर । सन् १८९५ मा उनको नेतृत्वमा ‘क्यान्टन विद्रोह’ भयो । तर असफल भयो । उनी ज्यान जोगाउन जापान पुगे । सन् १८९६ मा उनलाई लन्डनमा चिनियाँ राजदुतावासका कर्मचारीले चीनमा फिर्ता ल्याएर मृत्युदण्ड दिने उदेश्यले एकान्तमा समातेका थिए । धन्न हङकङ मेडिकल कलेजका भू.पू.डिन जेम्स क्यान्टलीको सहयोगले उनलाई छुटाइदिए । उनी जेम्स क्यान्टलीका छात्र पनि थिए ।

उनको रौँ-प्राणले ज्यान बच्यो । यसबाट उनलाई देशमा परिवर्तन ल्याउन र समाज रुपान्तरणमा लाग्न थप प्रेरणा मिल्यो ।
उनले सन् १९११ मा निरङ्कुश मञ्चु वंशविरुद्ध क्रान्ति गरे । चीनको दुईहजार वर्ष पुरानो राजतन्त्र खत्तम गरिदिए । त्यही वर्ष गठन भएको अस्थायी सरकारको राष्ट्रपति चुनिए । उनी राष्ट्रपति भएपछि कोमिङताङ र चिनियाँ कम्युष्टि पार्टी मिली राष्ट्रिय मोर्चा गठन गरे । सन् १९१३ मा बिहे भएको संसदीय चुनावमा जितेर पनि उनको पार्टी प्रतिबन्धित भएपछि उनी पुनः जापानतर्फ लागे ।

जापानमा नै आफुभन्दा छब्बीस वर्ष कान्छी सुङचिङ लिङसँग सन् १९१४ मा बिहे गरे । त्यसपछि सन् १९१६ मा मात्र दुवै चीन फर्के । चीन फर्केपछि पुनः चीनलाई पूर्णगणतन्त्र बनाउन सक्रिय भए । उनले सन् १९१२ मा चीनको भविष्य समाजवाद हो भनेर भाषण गरेका थिए । सन् १९२४ मा राष्ट्रपति साओ कुङलाई भगाएपछि उनी पेकिङ पुगेका थिए । त्यहाँ उनलाई लाखौँ जनताले स्वागत गरे । उनी चीनमा एघार वर्षपछि राष्ट्रपति भए । त्यसपछि त्यो पद सेनापति यु आन सेकाइलाई सुम्पे ।

तर उनी आफ्नो व्यक्तिगत लाभको लागि विदेशीहरूको खेलौना बने । विदेशीको सहयोगमा पुनः राजतन्त्र स्थापना गरी आफै, राजा बन्ने षड्यन्त्र गर्न थाले । आफैलाई सम्राट घोषणा पनि गरे । यसले सन यात्सेनलाई फेरि गणतन्त्र स्थापित गर्न लड्न बाध्य बनायो ।
राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका उनका तीन जनसिद्धान्त थिए । उनलाई ‘सक्वेन’ भनेर बोलाउँछन् । उनी कोमिन्ताङ पार्टीका संस्थापक थिए । सन् १९२५ मा उनी अस्वस्थ हुन थाले ।

साम्राज्यवादीको नियन्त्रणबाट चीनलाई मुक्त गर्ने क्रममा उनी भन्थे- ‘मेरो लक्ष्य खतरापूर्ण छ, तर जबसम्म मेरा जनताले बुझिरहन्छन्, मलाई कुनै डर छैन ।’ उनी चिनियाँ क्रान्तिका पिता थिए ।  जसले छिङ राजवंशलाई फयाँक्ने र चीनमा जनवादी गणतन्त्र स्थापनाको वकालत गरे, त्यसैले त आज पनि चिनियाँ जनता उनलाई सम्मान गर्दछन् । चीनका प्रथम राष्ट्रपति तथा राष्ट्रवादी नेता डा.सन यात्सेनले जीवनको अन्तिम क्षणमा भनेका थिए ‘चीनलाई बचाऔँ !’