काठमाडौं । नेकपा (एमाले)ले सङ्घीय सांसद र प्रदेश सभा सदस्यलाई पदबाट किन नहटाउने भनेर सोधिएको स्पष्टीकरणको सम्बन्धमा जवाफ दिने क्रम शुरु भएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले वरिष्ठ नेता झलनाथ खनालसहित नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ तथा कर्णाली प्रदेशका अमरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र देवी वलीले स्पष्टीकरणको जवाफ दिएका छन् ।
आज स्पष्टीकरणको जवाफ पठाउने अन्तिम दिन भए पनि केहीले मात्र जवाफ पठाएका हुन् । केहीलाई दुई दिन र केहीलाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न भनिएको थियो । पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको पत्र वैशाख ७ गते ती नेतालाई पठाइएको थियो ।
यही वैशाख ६ गते बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लङ्घन गरेको आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको थियो । उनीहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) (१) देखि (७) र (१२) र (१४) मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम सङ्घीय सांसद र प्रदेश सभा सदस्यलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको थियो ।