• मंसिर १७ २०८१, सोमबार

वेश्यावृत्ति गर्न बाध्य पार्ने देउकी प्रथा : एक खोज

बैशाख ९ २०७८, बिहीबार

नेपाली समाजमा हजारौं वर्षदेखि विभिन्न प्रकारका प्रथा र परम्पराहरु चल्दै आएका छन् । ती प्रथामध्ये पश्चिम नेपालमा प्रचलित देवकी प्रथा पनि एक हो । कुनै बेला स्वभाविक लाग्ने ती प्रथाहरु आजभोलि अमानवीय र अस्वभाविक लाग्ने बन्दै गएपछि ती प्रथाहरुलाई कुप्रथाको रुपमा मानी बिस्तारै त्याग्दै जान थालिएको छ । तर जुनस्तरमा यस्ता कुप्रथाहरुको अन्त्य हुनु पर्ने हो त्यो स्तरमा भने भएको मानिंदैन । फलस्वरुप समाजमा आज पनि ती कुप्रथाजन्य घटना घटिरहेका छन् । शिक्षित र वैज्ञानिक भनिएको २१औं सताब्दीमा पनि यस्ता प्रथाहरु मानिसका मनमा गढेर रहनुलाई सभ्यताको विकास मान्न सकिने अवस्था रहेन । नेपाली समाजमा जसरी जात व्यवस्थाले मानिसका मनहरुमा नकारात्मक पर्खाल खडा गरिदिएको छ, त्यसैगरी पश्चिम नेपालमा जारी रहेको देवकी प्रथाले पनि मानिसको मानवीयतालाई विभाजित गरिदिएको छ । बरु मानिसले चिनियाँ पर्खाल छिचोलिसक्यो तर समाजमा रहेको जात व्यवस्थाले खडा गरेको विभेद र देउकी प्रथाले निम्त्याएको अमानवीयतालाई छिचोल्न सकेको छैन ।

कुप्रथाहरु किन जीवितै छन् ?

मानिसहरु केही समय अघिसम्म त्यस्ता प्रथालाई स्वभाविक मान्दथे । जुन लामो समयको जबरजस्तीपछि लयमा आएको अवस्थालाई स्वभाविक मानिएको मात्र हो । तर जब शिक्षाको विकास नेपालमा पनि छाउँदै गयो, तब मानिसहरु देउकी प्रथालाई कुप्रथाका रुपमा लिन थाले । कुनै जमानाको अशिक्षित र अन्धकार युगमा धर्म गुरुहरुले भनेका कुराहरुलाई नियमका रुपमा मानेर समाज सञ्चालन हुने अवस्था थियो । त्यो जमानामा मन्दिरमा राखिएका भगवानका नाममा कसैकी छोरी चेलीलाई चढाउने र उसको जिन्दगी बर्बाद पार्ने जस्तो कार्यलाई प्रथा मानिन्थ्यो होला । तर आजको चेतनशील युगमा त्यस्तो परम्परालाई प्रथा होइन, कुप्रथा मान्नु पर्छ र त्यसलाई मानिसको दिमागबाट हटाइदिनु पर्दछ । हजारौं वर्षदेखि समाजमा चल्दै आएका यस्ता कुप्रथालाई मेटाउन समाजमा विज्ञानसम्मत चेतनाको विकास र प्रचार गर्नु आवश्यक छ ।

त्यसका लागि राज्यस्तरबाटै त्यसको पहल थाल्नु पर्छ । तर नेपालमा राज्यको तहबाट जुनस्तरको पहल गर्नु पर्ने हो, त्यो भएको छैन । यसरी राज्यका विभिन्न संरचनामा रहेर काम गरिरहेका र आफूलाई बडो दिग्गज ठान्नेहरु पनि यस्ता प्रथा अन्त्यका लागि जनचेतना अभियान चलाउने र पीडितलाई क्षतिपूर्ति दिनेमा अग्रसर देखिन्नन् । बरु चलिआएको चलन हो भन्दै सोही प्रथालाई कायम राख्ने, घरमा कमैया राखेर शारीरिक, श्रम शोषण गर्ने गरेको पाइन्छ । पछिल्लो १०, १५ वर्षमा यस्ता खराब चलनविरुद्ध अभियान चलाउने र संगठित हुने क्रम जारी छन् । माओवादी जनयुद्धले पनि यी र यस्ता प्रथालाई कमजोर बनाउन सफल भएको हो । तर जब माओवादी जनयुद्धले ठीक तरिकाले समाज, राजनीति र अर्थतन्त्रमा नयाँ पहल लिन सकेन, तब यस्ता प्रथाहरु कुप्रथाको रुपमा फेरि सलबलाएका छन् । १५, १६ सय वर्षको सामन्ती व्यवस्था र खासगरी झण्डै २५० वर्ष लामो राणा-शाही सामन्तहरुले चलाएको बर्बर युगलाई समाप्त पार्दै लोकतान्त्रिक पुँजीवादी युगमा देश प्रवेश गर्यो ।

तर पनि यस्ता कुप्रथालाई समाप्त पार्दै नयाँ चेतना दिने शिक्षा प्रणाली, राजनीतिक प्रणाली र उत्पीडितलाई उचित व्यवस्थापन गर्नुपर्नेमा गणतान्त्रिक भनिएको व्यवस्था र त्यसका सञ्चालकका चेतना नै नबदलिएको पाइयो । नबदिलएको मात्रै होइन, हिजोका सामन्तवादले उब्जाएका र बोकेर हिंडेको यस्ता कुरिति, कुप्रथा र अमानवीयतालाई सर्लक्कै बोकेर आजको लोकतान्त्रिक समाज हिंडिरहेको छ । र त दाइजोका नाममा, जातका नाममा आज पनि नवराजहरु मारिएका छन् र दाइजो नदिएको भन्दै तराईका सयौं चेलीहरु जीउँदै जलाइएका छन् । गणतन्त्र भनिएको व्यवस्थाले नै पुराना, सडेगलेका र कलंकित चलनलाई बोकेर हिंड्छ भने यो प्रणालीलाई सभ्य मान्न सकिन्छ त ? शिक्षा सामग्रीहरुमा परिवर्तन नगरिनु, समाजमा रहेका यस्ता कलंकित प्रथाका बारेमा नपढा्इनु, पढाएपनि थोरै र व्यवहारमा लागु गर्नेमा जोड नदिइनु, समाजमा यस्ता कुप्रथाका बारेमा जानकारी नदिनु, बरु लागु गर्नेमा प्रोत्साहन गरिनु, जानकारी दिइए पनि औपचारिकतामा सिमित गर्नु, राज्यले परिवर्तन गर्नुपर्ने एक अनिवार्य विषयका रुपमा नलिइनु, आदिजस्ता कुराहरुले देउकीजस्ता प्रथाहरु नेपालमा जरा गाडेर बसेका छन् ।

के हो देउकी प्रथा ?

पश्चिम नेपालको सेती र महाकाली क्षेत्रका मन्दिरहरुमा देवी देवताको सेवा गर्न कन्या (विहे नगरिएकी) केटी चढाउने प्रचलन छ । यसरी चढाइएकी कन्यालाई देउकी नामले पुकारिने प्रचलन देउकी प्रथा हो । कुनै पनि महारोग लागेमा सञ्चो गरिदेऊ भन्दै भाकल गर्ने, छोरा नभएमा छोरा देऊ भनी भाकल गर्ने, मुद्दा जित्नु परेमा तथा आफ्नो मनोकांक्षा पूरा गर्नुपरेमा र गरिएको कुनै भाकल छ भने पूरा होस् आफ्नै छोरी वा गरीब परिवारकी अबोध बालिकालाई किनेर देवी र देवताको मन्दिरमा चढाउने गरिन्छ । यसरी चढाइएका कन्याहरुको विवाह गर्न नहुने चलन चलाइएको छ । विवाह गर्न नपाएपनि उनले मन पराएको कुनै पनि पुरुषसित यौन सम्पर्क गर्न भने पाउने चलन रहेको पाइन्छ । यसरी बिहे गर्न नदिने तर यौन सम्पर्क गर्न पाउने चलन चलाइदिएपछि उनीबाट सन्तान त हुने नै भए । यसरी देउताका नाममा चढाइएका चेलीहरु घरजम गरी बस्न नपाउने भएपछि छाडारुपमा हिंडेको जस्तो भएन त ? अनि यसरी आफूलाई छाडा देउकीको रुपमा सबैले चिनेपछि उनले देहव्यापार गर्न अप्ठ्यारो मान्नु पर्ने अवस्था रहेन । बैतडी जिल्लाको मेलौली देवीको मन्दिर यो प्रथाको केन्द्रविन्दु मानिन्छ । त्यसरी मन्दिरमा चढाइएकी चेलीले मन्दिरमा चढाएको सामग्रीहरुबाट मात्रै जीविकोपार्जन गर्नु पर्ने र बिहे गरी घरमा जान नपाउने भएकाले देउकीहरु देहब्यापार गर्न बाध्य भएका छन् । आजको विकसित भनिएको समाजमा यो प्रथा निकै ठूलो विकृतिको रुपमा रहेको छ । अधिकारकर्मीहरु यो प्रथालाई बालअधिकार विपरीत कार्य हो भनिरहेका छन् । तर उनीहरु भनाइमा मात्रै सिमित रहेका छन् । उनीहरुले यो प्रथा अन्त्य गर्न न कुनै सामाजिक जनचेतना जगाउनमा भरपूर भूमिका निभाउन सकेका छन् न त राज्यलाई झक्झक्याउन सकेका छन् । शिक्षाको विकास र चेतनामा भएको वृद्धिका कारण यो प्रथामा केही कमी आएपनि पूरै निर्मूल भने हुन सकेको छैन ।

कसरी प्रचलनमा आयो देउकी प्रथा ?

पुरानो डोटीमा जुम्लाको रैका मल्ल राजाका वंशज नागी मल्लले कत्युरी राज्यका राजाको राज्य कब्जा गरेपछि चलाएको ‘देउकी’ प्रथा र इतिहासकारका भनाइअनुसार प्रा.डा.सूर्यमणि अधिकारी बाइसे राज्यको इतिहास (वि.स.२०६०) पेज २७८ देखि २७९ का अनुसार डोटी राज्यमा राजा नाग मल्लका पालादेखि देवदासी चढाउन थालिएको बताइन्छ । स्थानीय जनताका विश्वास अनुसार भागेश्वर देवता र राजा नागी मल्ल बीचमा ठूलो भन्ने विवाद थियो । झगडाकै बीचमा नागी मल्लले भागेश्वरलाई तुरुन्त पानी वर्षाउने चुनौती दिए । क्षणभरमा चारैतिर बादल मडारिइ घनघोर वर्षा भयो । नागी मल्लको कोट काम्न लाग्यो । उनका रानीहरु मूर्छा परे, नागी मल्लले पराजय स्वीकार गरी निम्नानुसार भाकल गरे :

ए…..सुन जनै तोइव दिउँलो भागेश्वर

ए…..चेली चाकर दिउँलो भागेश्वर

ए… वेद रुद्री दिउँलो भागेश्वर

ए….जालो गावडी दिउँलो भागेश्वर !

जुम्लाको रैका मल्ल राजा नागी मल्लले भागेश्वरलाई चढाएकी केटी नै डोटी राज्यकी प्रथम देवदासी अर्थात् देवकी रहेको भनाइ रहिआएको छ । त्यसबेला उनले रावल थरका दुई कन्या किनेर भागेश्वर देवतालाई चढाएको बताइन्छ । डोटेली समाजमा अहिले पनि नेगी, नायक, भुल, खत्रीजस्ता थरका कन्यालाई मनोकामना सिद्धिका लागि संकल्प गरी देवकी बनाई मन्दिरमा अर्पण गर्ने चलन छ । त्यसरी चढाइएकी देवकीले आफूलाई चढाएका देवदेवीको मन्दिरमा लिपपोत र सरसफाई गरी आजन्म अविवाहित रहनुपर्दछ । पुरानो डोटी राज्यमा जुम्लाको रैका मल्ल राजा नागी मल्लका राज्यकालदेखि देवकी, द्यौकी, देवदासी, देउकीको चलन चलेको चलन अझैपनि कायम छ । डोटेली सामाजमा नेगी, नायक, भुल, पुजारा, खत्री जस्ता थर भएका मानिस पनि बस्छन् । उनीहरूका गोत्र एक आपसमा फरक हुन्छन् तापनि उनीहरूले भाकल गरी छोरी देवी देवतालाई चढाउँछन् । त्यति मात्र होइन, अन्य व्यक्तिले पनि उनीहरूका कन्या किनेर देवी देवतालाई चढाउँछन् । द्यौकी पनि दुई प्रकारका हुन्छन् : चढाएकी देउकी र ती देउकीबाट जन्मेकी (बाबुको निर्णय नभएको) खेलुवा देउकी हुन्छिन् । तर ती खेलुवा देउकीले भने विवाह गर्न पाउँछिन् । खेलुवा देउकीबाट जन्मिने केटो देउको हुन्छ । त्यस्ता देउकाहरूले आफ्नी आमालाई चढाउनेका घरमा कामधाम गरिदिनु पर्ने चलन रहेको छ । त्यसरी काम गरिदिए वापत ‘खलो’ भनेर एक सुप्पो अन्न दिने चलन छ ।

विवाह र ब्रतबन्ध पर्वमा निजलाई बकसस्वरुप ‘थितो’ भनेर दिने चलन छ । ती देउका तथा देउकालाई कहीँ नायक, कहीँ नेगी, भूल, खत्री र देउचेलो भन्ने चलन छ । देवकी प्रथा दक्षिण भारतको तमिलनाडुमा पनि छ । त्यहाँ कन्या केटीलाई मन्दिरको हेरविचार गर्न लगाउने चलन पहिलेबाटै छ । उनीहरूले पनि परपुरुषसँग संसर्ग गर्दछन् । त्यसो गरे वापत् उनीहरूले रकम वा कुनै वस्तु माग्दैनन् । मानौं त्यो उनीहरूको आतिथ्य हो । उनीहरूबाट जन्मेको सन्तानलाई उच्चजातमा लिने परम्परा छैन । ती नारीहरूले विवाह गर्दैनन् र उनीहरूलाई देवदासी भनिन्छ । देवदासीहरूले त्यहाँ राम्रा राम्रा गीत गाउँछन् र नाच्छन् । उनीहरूको मुख्य काम मन्दिरको सुरक्षा गर्नु, सरसफाइ गर्नु तथा लिपपोत गर्नु हो । त्यस्तालाई मानिस देवताका दासी मान्दछन् । हाल भारतमा देवदासीको परम्परा कानुनले उन्मूलन गरेको भएपनि कर्णाटक राज्यको बेलगाउँ भन्ने ठाउँमा एकै वर्षमा हजारौं केटीहरु धलम्मादेवीलाई चढाउने चलन अहिले पनि त्यहाँ छ । लता मङगेसकर, उषा मङगेसकर जस्ता गायिकाका थर बन्नुको कारण देवदासीका सन्तान भनेर नै हो ।

नेपालमा पनि बुद्ध धर्मावलम्वीमा आफ्ना माहिलो छोरालाई लामा (ढावा) र माहिली छोरीलाई झुमा (झोवा) राखी गोम्पो (गुम्बा) हरुमा पठाउने र विवाह नगराई राख्ने चलन अद्यापि छ । काठमाडौंको शाक्यकी छोरीलाई कुमारी बनाएर सिंगारपटार गरिन्छ । ती कुमारीले विवाह गर्न हुँदैन भन्ने परम्परा छ । तर ती कुमारीलाई लुकाएर विवाह गर्ने गरिन्छ । कुमारीको विवाह खुलस्त रुपमा गर्ने चलन छैन । माथिका उदाहरणबाट के बुझिन्छ भने बुद्ध धर्म मान्नेहरूमा गुम्बा वा देवीका नाममा कन्यालाई प्रयोग गरी समर्पण गरिने चलन रहेछ । अब अर्को प्रश्न उठ्छ कि पश्चिम नेपालको डोटी र कुमाउमा देवदासी प्रथा कसरी सुरु भयो ? पश्चिम नेपालको पूर्व मध्यकालीन इतिहासको अध्ययनबाट त्यहाँ खस मल्ल राजाहरूले शासन गरेको प्रमाणित हुन्छ । उनीहरु बुद्ध धर्मावलम्वी थिए र पछि उनीहरुले हिन्दू धर्म अङ्गीकार गरे ।

उनीहरुमा पनि देवदासी प्रथा हुनुपर्ने भन्ने अनुमान हुन्छ तर त्यस विषयक प्रमाणहरु पाइएका छैनन् । त्यति भएर पनि पश्चिम नेपाल र भारतको उत्तराखण्डमा उनीहरूले स्थापना गरेका मन्दिरहरुमा देवकी वा देउकीहरु पाइन्छन् । यो विचित्रको कुरा हो । अर्कातिर राजा निरयपालले डोटीमा राज्य गर्दा देवकी प्रथाको चलन भए नभएको थाहा पाइएको छैन, तर उनका उत्तराधिकारी नागी मल्ल, खस मल्ल राजाहरुका सन्तान हुनेले देवकी प्रथा सुरु गरेका त होइनन् भन्ने जस्ता शंका र अनुमानहरु उब्जन थालेका छन् । डोटीमा देवकी प्रथाको आरम्भ नागी मल्लले गरेको भनिन्छ । डोटीमा प्रचलित भागेश्वर देवताको ढुस्को (वर्णन)मा जुम्लाको रैका मल्ल राजा वंशज राजा नागी मल्ल र भागेश्वर देवताको बीचमा शक्ति संघर्ष भएको कुरा छ । त्यो तनावमा राजा नागी मल्ल सामाजिक परम्परा र संस्कृतिसँग बुझ्न नसक्दा भागेश्वर देवतालाई दण्डस्वरुप देवकी चढाउने कबोल गरे ।

‘सुन जनै तोइव दिउलो भागेश्वर

चेली चाकर दिउलो भागेश्वर

वेदरुद्री दिउँलो भागेश्वर

जोलो गावकी दिउँलो भागेश्वर !’

देवकीहरु माडौं (थान) मा चढाउने खास समय देजाँत, चैतको नवरात्र, आश्विन नवरात्र अवसर पारेर गाउँका मुखियाले गाउँका ठुलाठालु भेला गरी माडौंमा पूजारीसमक्ष साक्षी राखी जात्रा, उत्सव गरी विधिवत् देवकी बनाइन्थ्यो । आजकाल कानुनी बन्देज हुनाले घरभित्र सामान तयार गरी सम्बन्धित माडौंको प्रसाद ल्याई देवकी बनाउने चलन अद्यपि छँदैछ । देवकी बनाउनलाई छोरी बेच्ने पेशामा नायक, विष्ट, नेगी, पुजारा र देउका थर भएका मानिसहरु सम्मिलित छन् । वि.स.२०५० सालसम्मको तथ्याङ्क खोजी गर्दा डोटी क्षेत्रमा दार्चुला शिखरपुर गाविसको मालिकार्जुनमाडौं, बैतडी तल्लो सोराडस्थित मेलौली देवीको माडौं, बैतडीको बासुलिङ्गमाडौं, बैतडीको त्रिपुरासुन्दरी मन्दिर, बैतडी पाटन ठाकुर उदयदेवको माडौं, डडेल्धुरा पिपलकोटको अर्धनारीश्वरी माडौं, डोटी शिलगडीकी शैलेश्वरी (शीलादेवी) गरी जम्मा १० वटा माडौंमा २,५०० देवकी जीवितै छन् । बैतडी मेलौली देवीको माडौंमा ३०० देवकी अहिले पनि छन् । बैतडी जिल्लामा मात्र विभिन्न माडौंमा चढाइएका विभिन्न उमेरका १,५०० देवकी जिउँदै छन् । मेलौली देवीमाडौं गाविसको वार्ड नं ६ मा ३४ महिला देवकी बस्तछन् । यी कुराहरु नेपालका इतिहास विभाग निर्देशक डा.राजाराम सुवेदीको प्रकाशनमा उल्लेख छ ।

कसरी हटाउने यस्ता कुप्रथा ? :

नेपाली समाजमा देउकी, कम्लहरी, कुमारी, छाउपडीजस्ता कुप्रथाहरु धेरै नै छन् । यी प्रथाहरु कानुनी मान्यता प्राप्त छैनन् । कानुनले बन्देज गरेको भएपनि प्रथाका रुपमा समाजमा यी प्रथाहरु रहेकै छन् । ती प्रथा मान्नु पर्ने मानसिक अवस्थामा नयाँ विचार नभरिंदासम्म यस्ता प्रथा समाजमा रहन्छन् । खासगरी यी प्रथाहरु परापूर्व कालदेखि चल्दै आएका हुन् र यिनीहरु कुनै न कुनै रुपमा राजा वा देउतासित जोडिएका छन् । अझ त यस्ता परम्पराहरु लोककथामा पनि जोडिएर आएको पाइन्छ । लोक कथामा राजा, राजकुमार र रैती उपस्थित हुन्छन् । सामन्ती युगमा राजाहरुले समाज चलाउँदा देवीदेउताको आशिरवाद र शक्तिले राजा बनेका प्रसङ्गमा मानिसका एक समूहले अर्को समूहलाई दास बनाउने चलनहरु थिए । सोही सेरोफोरोमा समाज विस्तारै पुरुषप्रधान बन्न जानेक्रममा महिलालाई आफ्नो स्वार्थपूर्ति गर्ने साधन बनाउँदै लगियो । देउताका नाममा चढाइएकी महिलालाई देउकी बनाई पुरुषले मनोरञ्जन लिनका लागि यो प्रथा तयार पारिएको त होइन ? विभिन्न कोणबाट यस्ता प्रश्न गर्न सकिन्छ ।

हो, नेपालमा हजारौं वर्ष पुरानो सामन्तवादको अन्त्य भएको छ । सामन्तवादको सञ्चालन, प्रयोग र विकास गर्ने जिम्मा राजाहरुलाई हुन्छ । उनीहरुले अदृश्य शक्तिको आडमा जनतामा शासन गर्छन् र जनतालाई अधिकारबाट बञ्चित गर्छन् । सामन्तवाद भनेको सोच्ने तरिका, अर्थतन्त्र, समाज व्यवस्था, मानिसको अवस्था, शासकको मनोविज्ञानको अवस्था, राजनीति, शिक्षा प्रणाली आदि समग्र चिज हुन् । त्यसकारण आजको विश्वमा र नेपालमा पनि यी सबै कुरामा हजारौं वर्षदेखि एकजना वा एक परिवारले मात्रै निर्णय गर्ने र जनताको अधिकारको फैसला जनताले गर्न नपाउने प्रणालीको अन्त्य भएको छ । युग र समाज विकासको हिसाबले नेपाल पनि पुँजीवादी स्वतन्त्रता भएको युगमा प्रवेश भएको त छ तर हजारौं वर्ष लामो राजाले निर्णय गर्ने र जनताले आशा गरेर बस्ने शासनको नकारात्मक असर भने बाँकी नै छ । त्यसकारण नेपालमा देउकी प्रथा, कम्लहरी प्रथा र खासगरी जात व्यवस्थाको असर अझै पनि नेपाली समाजमा ज्यूँका त्यूँ छ । बरु देउकी प्रथा कम हुँदै जाला तर जात प्रथा भने सजिलै कम हुनेवाला छैन ।

कम हुने होइन यो त झन नयाँ तरिकाले ब्युँझिएको र लागु गरिएको छ । हो, नेपालमा ०७ सालमा प्रजातन्त्र आयो, समाज केही खुला भयो । तर त्यो प्रजातन्त्रले यस्ता प्रथा र यस्तै प्रथाहरुले उत्पीडनमा पारेमा समुदायलाई मुक्त गर्ने योजना बनाएन । संघर्ष चल्दै जाँदा ४६ को परिवर्तनले सार्वजनिक स्थानमा छुवाछुत नगर्नु भन्यो, ६२,६३ को परिवर्तन र खासगरी माओवादी जनयुद्ध, विभिन्न समयमा भएका उत्पीडित जातिका आन्दोलनका दबाबमा ७२ को संविधानमा छुवाछुतजन्य प्रथाको अन्त्य गरेको घोषणा त गरियो । तर त्यही संविधान लागु भएपछिको यो छोटो समयमा नै धेरै दलितहरु मारिए । उनीहरु मारिनुको कारण जातीय छुवाछुत नै थियो । त्यसकारण समाजको विकासको गतिको सुई सुल्टोभन्दा उल्टोतिर छिटोछिटो दौडिरहेको प्रतित हुन्छ । यसले समाजलाई विकासतिर होइन, विनाशतिर लगिरहेको छ ।

बाटो बन्नु, मोटर गाडीहरु थपिनु, अर्बौंका भ्यूटावरहरु बन्नु, खाडी गएर कमाएर भएपनि मीठोमसिनो खानु, विदेशीले पठाइदिएको भएपनि राम्रै लाउनु मात्रै विकास हो त ? यसरी भौतिक विकासको भव्यता ठडिनुलाई विकास भन्न सकिएला । तर मानवको चेतनाको विकास भने किनकिन उल्टो दिशातिर चक्कर लगाइरहेको छ । यसो हुनुको कारण के हो ? यसको खोजी गर्नु आजको आवश्यकता हो । परिवर्तित युग, विज्ञान र प्रविधिको विकास अनुसारको मानिसले आफूलाई बदल्न नसक्नु यसको एक कारण हो । स्वतन्त्रताको नाममा पुँजीवादले एक्ल्याएको मानिसको मानवतालाई जित्ने योजना बन्न नसक्नु, सामुहिक हितमा होइन व्यक्तिगत हितमा राज्यका संरचना बनाइनु र लागु गरिनु, हजारौंदेखि सताइएका समुदायका मुक्तिका लागि कार्यक्रम बनाउन चासो नराख्नुजस्ता कुराहरुले देउकी र जात प्रथाजस्ता क्रुर चलनहरु जस्ताको तस्तै छन् र अझ नयाँ तरिकाले लागु भइरहेका छन् । त्यसकारण अब जनताले लामो अभ्यासबाट बनाएका ठीक संस्कारलाई अङ्गाल्ने र तिनलाई थप वैज्ञानिक बनाउने तथा समुदायमा रहन, बाँच्न र रमाउन सिकाउने सामुदायिक राज्य प्रणालीको विकास गर्नु पर्छ । जहाँ मानिसले मानिसलाई अपमान, घृणा होइन, सम्मान र माया गर्ने संस्कारको विकास गर्न सकियोस् ।

स्रोतः १. सुर्यमणि अधिकारीको ‘बाइसे राज्यको इतिहास’
२.विकिपिडया