• मंसिर १३ २०८१, बिहीबार

अध्यक्ष ओलीलाई नेता पाण्डेको लिखित जवाफ

बैशाख ९ २०७८, बिहीबार

काठमाडौँ। नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीलाई लिखित जवाफ बुझाएका छन् । उनले संसदीय दलको कार्यालयमा स्पष्टीकरण पत्र बुझाएका हुन् ।

‘म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित व्यक्ति भएकोले यस पार्टीको नाम, झण्डा, नीति र कार्यक्रमको प्रतिरक्षा गर्दै सो प्रयोजनका लागि विभिन्न कार्यक्रममा क्रियाशील हुनु मेरो दायित्व हो। गत चैत्र ४ र ५ गते ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी  (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला पनि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता र हितमा उक्त प्रयोजन र उद्देश्यका लागि आयोजित कार्यक्रम थियो। उक्त भेलाले पार्टी एकतालाई मजबुत बनाउने कुरामा नै जोड दिएको थियो । त्यस भेलाबाट कुनै पार्टी खोल्ने वा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को उद्देश्य, कार्यक्रम र विधान विपरीतको कुनै काम भएको छैन,’ नेता सुरेन्द्र पाण्डेले दिएको स्पष्टीकरणमा भनिएको छ,‘सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पार्टी कमिटीहरु तथा जनसंगठनका सबै संरचनाहरुलाई पूर्ववत् क्रियाशील तुल्याउनु पर्छ भन्ने मान्यता राख्दै श्री सर्वोच्च अदालतको फैसलाबाट पुनर्जिवित भएका ती पूर्व कमिटीका गतिविधिमा मेरो संलग्नता रहनु हाम्रो पार्टीको विधान सम्मत गतिविधि हो।’

‘अन्त्यमा, म के पनि यहाँ उल्लेख गर्न साँदर्भिक ठान्दछु भने पार्टी अध्यक्ष कमरेड केपी ओलीले हाल चालिरहेका कदमहरु पार्टी विधान विपरित त छन् नै, सो भन्दा पनि वढि नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका भएकाले यो सबै प्रकृया अविलम्व रोकी पार्टीलाई एकतावद्ध गर्न आवश्यक पहल गर्न समेत आह्वान गर्न चाहन्छु । अन्यथा, यसले निम्त्याउने दुष्परिणामको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्ने छ ।’ पत्रमा भनिएको छ ।