• आश्विन ५ २०८१, शनिबार

रंगभेद विरोधी नेता नेल्सन मण्डेला

बैशाख ८ २०७८, बुधबार

नेल्सन मन्डेलाको जन्म दक्षिण अफ्रिकाको ट्रान्स्की क्षेत्रमा पर्ने उमटाटा गाउँमा भएको थियो । उनी एकजोमा जनजातीय परिवारमा जन्मेका थिए र साधारण काला परिवारमा जन्मेका थिए । उनका पिता हेनरी थेम्बु थिए । सानैदेखि गोराले कालामाथि गर्ने अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव देखेर उनले रङ्गभेदविरूद्ध सङघर्ष गर्ने अठोट गरे । अल्पसङख्यक गोराहरूद्वारा कालाहरूमाथि गरिएको अन्याय, अत्याचार र थिचोमिचोले उनमा एक किसिमको विद्रोह उत्पन्न भयो ।

सन् १९५० मा अश्वेतहरूको प्रतिनिधिमूलक दल अफ्रिकन नेशनल पार्टीको राजनीतिक क्रियाकलापमा उनी सक्रिय हुन् थाले । उनी पेशाले शिक्षक तथा वकिल थिए । तर सन् १९५६ मा हतियार उठाई सङघर्षको मैदानमा उत्रे । सन् १९५८ मा प्रथम श्रीमती एवे लिनसँग पारपाचुके गरी बिन्नीसँग बिहे गरे । यसै वर्ष उनीमाथि देशद्रोहको मुद्दा लाग्यो र जेल परे । सन् १९६१ मा उनी जेलमुक्त भए ।

आन्दोलनकै क्रममा सन् १९६२ मा डरवन नगरमा गिरफतार भए र पुनः जेलमा परे त्यहाँ उनले सत्ताईस वर्ष लामो जेल जीवन बिताए । उनले जम्माजम्मी जीवनको २८ वर्ष जेलमा बिताए । ११ फेब्रुअरी १९९० मा सम्मानपूर्वक उनको रिहा भयो । जसबाट उनी झन् लोकप्रिय भए । त्यसपछि पुनः कालाजातिका मुक्तिको सङघर्षमा लागे । गोराहरूले सत्ता त्याग्नै पर्यो र २७ अप्रिल १९९४ मा अफ्रिकामा सम्पन्न बहुजातीय निर्वाचनमा विजयी भई राष्ट्रपति पदमा निर्वाचित भए ।

दक्षिण आफ्रिकाका राष्ट्रपिता घोषित मण्डेलाले सन् १९८० मा नेहरू शास्त्री पुरस्कार, सन् १९९० मा भारत रत्न, सन् १९९३ मा नोवेल शान्ति पुरस्कार पाए । यसबाहेक थुप्रै देशबाट पुरस्कार, पदक र सम्मान प्राप्त गरेका छन् । उनी अफ्रिकी नेशनल कङ्ग्रेसका आजीवन अध्यक्ष र पार्टी सैनिक प्रकोष्ठका संस्थापक हुन् ।

उनी सुरुमा कम्युनिस्ट विरोधी थिए, तर पछि समर्थक बने, दश हजार दिनको काराबासबाट मुक्त हुँदा राष्ट्रको मुक्तिका लागि समर्पित पार्टीहरूसँगै दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीलाई समेत मूल रूपमा अभिनन्दन गर्ने मन्डेलाले वर्णभेदी शासनबाट मुक्त भएको दक्षिण अफ्रिकामा ऐतिहासिक निर्वाचन सम्पन गरे ।

नेल्सन मन्डेला एक देश भक्त, स्वाधीनताका सेनानी र सफल राजनीतिज्ञ हुन् । आफुमा रहेको बौद्धिक न्यूनता, आफ्नो दुर्बलता र कमजोरीलाई सहर्ष स्वीकार्न उनी हिच्किचाउँदैनन् । अफ्रिकी जनतालाई मुक्त गर्ने मन्डेला कम्युनिस्ट होइनन्, तर उनी शोषित, उत्पीडित तथा विभेदबाट मुक्ति चाहने जनताका असल मित्र भने हुन् ।

(स्रोत : श्यामकृष्ण खुलीमुलीको संकलन ‘संसारका चर्चित व्यक्तित्वहरु’)