• मंसिर ११ २०८१, मंगलवार

कोरोना कहरकाबीच लोकश्रष्टा

बैशाख ७ २०७८, मंगलवार

लोक साहित्यका विविध विधामध्ये धेरैले मन पराउने र प्रयोग गर्ने लोकगीत शसक्त विधा हो । लोक जीवनले लोकमा रहँदा लोक भोगाइका आफ्ना अनुभूति दुःख, सुख, आँसु र हाँसोको अभिव्यक्ति लोकगीतमार्फत् आफ्नै भाका र भाषामा गाउँ, घर, वनजंगल, मेलापात र खासगरी आफूलाई जता पायक पर्छ त्यतै उपयुक्त स्थानमा व्यक्त गर्न पुग्दछन् । समाजमा घटेका घटना तथा परिघटना, सामाजिक कुरीति, अन्धविश्वास आदिले लोक सर्जकलाई प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । समाजमा घट्ने विभिन्न घटना तथा परिघटनामा लोकगीत सिर्जना हुन गएका हुन् । त्यसकारण लोकगीतमा सामाजिक परिस्थिति र सचेतना समेत दिनु पर्छ ।

त्यति मात्रै कहाँ हो र सर्जक वा साधकहरु आफ्ना भावभंगीयुक्त गीतबाटै समस्याको समाधानमा पनि सरिक हुन पुग्दछन् । यस्ता गीतबाट सामाजिक चेतना बढाउन र उद्वेलिन गर्न सहयोग पुग्दछ । यहाँ प्रस्तुत गरिएका लोकगीत कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरैजसो स्थान र त्यसक्षेत्रबाट अन्यत्र बर्सा सरेका मानिसहरुका जनजिब्रोमा झुन्डिएका देउडा वा ठाडीभाकाका गीतहरुका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । भाषिका एवम् स्थान विशेषका कारणले अन्यत्र क्षेत्रका मानिसहरुले सहज तरिकाले लोकगीत बुझ्न र आनन्द लिन केही समस्या पर्न सक्छ । यसक्षेत्रमा मात्र होइन लोक जीवनले विभिन्न क्षेत्रमा विभिन्न परिस्थितिले पारेका विविध समस्या एवम् समस्याबारे समाधान मात्र होइन, समस्यासँग सम्बन्धित राम्रा नराम्रा पक्षको जानकारी गीतबाटै लिने गर्दछन् ।

त्यसैले लोकले लोककै बारेमा बोल्दछ । जस्तो अनुभूति गर्यो त्यस्तै ओकल्यो । पश्चिम नेपालका यी गीतहरुमा पहिलो लाइनको टुक्का मिलाउन प्रयोग गरिए पनि भाव विचार सन्देश प्रवाह दोस्रो हरफले दिने गर्दछ । अहिले विश्वव्यापी प्रकोपको रुपमा देखा परेको कोभिड-१९ को प्रभाव नेपाल लगायत विश्वका धेरै देशहरुमा परिरहेको छ । उक्त महामारी फैलंदै गर्दा हाम्रो देशका गाउँघर समाजदेखि ठूला सहर बजारसम्म सबैतिर व्याप्त छ । हुनेखाने र हुँदाखाने सबै वर्गलाई यसले गिजोली रहेको छ । महामारी फैलिसके पछि यी दुवै वर्गका मानिसले महामारीको सामना गर्ने लडाइँमा आआफ्नै अनुभूति रहेका छन् ।

यस्तै स्वदेशमा बस्ने आम समुदाय र पेट पाल्नका लागि विदेशी श्रम बजारमा गएका नेपालीहरु स्वदेशमा फर्कन नसकेको अवस्था छ । श्रमजीवी नेपालीहरुका जीवन भोगाइका आफ्नै कथा व्यथा छन् । यही परिदृश्यमा सरकार र नागरिकका आआफ्नै गुनासा छन् । लकडाउन र निषेधाज्ञा एकातिर छ भने काम गरेर बिहान बेलुकाको छाक तार्न धौधौ पर्ने नेपालीको आफ्नै पीडा छन् । कोरोनाले विश्वव्यापी अर्थतन्त्रमा परेको प्रभावले नेपालमा पनि त्यसको असर पर्ने देखिन्छ । यहि बीचमा कोरोनाकै कहर व्यहोर्दै गर्दा औषधि उपकरण खरिदमा पारदर्शिताको माग गर्ने एउटा ठूलो जमात छँदैछ । यो महामारीबाट देशलाई निकास दिनु पर्नेमा सरकारमा बसेका पार्टीहरुको आन्तरिक झगडा बेमौसमको बाजा थियो को ? यसतर्फ किन सोचिएन ।

जनताको गुनासो आफ्नै ठाउँमा छँदैछ । यी सबै परिदृश्य देखे भोगेका जनताले यस्ता विकृति विसंगति विरुद्व जनतालाई सचेत गराउन स्रष्टाहरुले विभिन्न गीत सिर्जना गरी मनका भावना व्यक्त गरेको पाउछौं । वर्तमान समस्या नेपालको राजनैतिक वृत्तमा नेताजीहरु आफ्नो कुर्सीको बचाउको लागि विभिन्न प्राकरका अन्तर कलह हुने र नेपाली जनताहरुको समस्यामा ध्यान नदिएको कारण जनताहरुले सधैं दुःख पाइरहेको र जाली फटाहाले मनपरी गरिरहेको रोस प्रकट गरिन्छ । यहि कोरोनाकालमा वास्तवमा देशमा कहालीलाग्दो परिस्थितिमा नेताहरुले यी सबै बिर्संदै कसरी सत्तामा जाने र आफू शक्तिमा बस्ने मात्रै सोच्दा निरास भएका जनतामा यस्ता भावना आउनु अन्यथा होइन ।

माथिका गीतले वर्तमानको सत्तासिन राजनैतिक चरित्रको उजागर गरेका छन् । लोक सर्जक वर्तमानको तितो अथार्थ प्रस्तुत गर्दैगर्दा कोरोनाबाट बच्ने उपायको बारेमा पनि सन्देश प्रभाव गर्न पछि पर्दैन । तल उल्लेखित देउडा वा ठाडी भाकाका गीतमा सरकारले दायित्व बिर्से पनि आफ्नो सुरक्षा आफैं गरौं भन्ने सन्देश दिन पुग्दछन् । सर्जकले कोरोनाबाट बच्नको लागि साबुन पानीले हात धुने र मास्क प्रयोग गर्ने सन्देश पनि दिन्छन् । यसरी लोकगीत संसारमा घटेका विविध घटनामा प्रष्ट विचार सहित मनका भावना व्यक्त गर्ने माध्यम बन्दछ । जसबाट परिवर्तन र विषम परिस्थितिसँग सामना गर्ने क्षमताको निर्माण हुन्छ । जुन तलका गीतको भाव हो ।

बाघ बास्यो बिजुली डाँडा न्याउली बास्यो खोला
साबुन पानीले हात धुनु, माक्स लाउनु होला ।

न यताको न उताको क्याको मोला काज
सरकारको नपर्नु भर जनता ठग्ने राज ।

उभो जाने गौथलीको बेलौल्या कपाल
चलाउन जानेनन् देश बिग्रियो नेपाल ।