घोराही ७ वैसााख ।
टाँठै देखिने ठूल्ठूला धर्काबाट ह्वार्र ह्वार्रर्ती मानिसहरु हिंडेको दृश्यले नेपाल एग्रोभेट घोराहीका सञ्चालक काशी नेपाललाई नौलो अनुभूति दिएको छ । दामोदर चोक नजिक बनेका उक्त धर्काहरु जेब्रा क्रसिङ हुन् । यस्ता जेब्रा क्रसिङ घोराही बजार भरी ७० ठाउँमा बनेका छन् ।
उहाँले केही केहीले मात्रै उल्लंघन गरेको बताउनु भयो । उहाँका अनुसार केही आधा सडक पार गरेपछि नियम मिच्छन् । फट्याक गरेर जेब्रा क्रसिङ नभएको क्षेत्रबाटै हिंड्न थाल्छन् । तर धेरैजसो जेब्रा क्रसिङबाटै बाटो काट्न थालेका छन् । यसैगरी उनीहरुले सडक सभ्यता सिक्दैछन् ।
न्यूरोड र बैंकरोडमा सडकको फराक अवस्था अनुसार पहेंला रेखा कोरिएको छ । ती किनारका रोड लाइनले त्यसभन्दा बढि सडक नमिच्न सवारी साधनलाई सचेत गराएको छ । यसो त व्यस्त समयमा न्यूरोडको पूर्वी क्षेत्र लस्करै मोटर साइकलले भरिएको हुन्छ । कतिपय ठाउँमा कारहरु पनि पार्किङ हुन्छन् । सवारी साधन पार्किङले पसल भित्र पस्ने बाटै बन्द गरेको पल्लवी औषधालयका सूर्यमणि घिमिरेले बताउनुभयो । उहाँका अनुसार अण्डर ग्राउण्ड पार्किङ छैन । रोड लाइन हानेपछि त्यसभन्दा बाहिर राखे ट्राफिकले जरिवाना गर्छ । रेखा भित्र राख्दै जाँदा एक लाइन पुरै सवारी साधनले ढाक्ने खतरा बढिरहेको छ ।
घोराही बजारमा जेब्रा क्रसिङको लागि पहिलो पटक थर्मल प्लाष्टिक पेन्ट प्रयोग गरिएको उपभोक्ता समितिले जनाएको छ । उक्त पेन्ट ७० ठाउँमा गरिएको उपभोक्ता समितिका सदस्य हिमाल रसाइलीले बताउनुभयोे । यो रंगको टिकाउ सडकको आयुजति नै हुने उहाँको दावी छ । इमर्जेन्सी ब्रेक हान्ने क्रममा पनि खुइलिंदैन । सडक भत्कियो भने मात्रै हराउँछ । अति व्यस्त सडकमा बाटो काट्न पैदल यात्रुलाई कठिन हुँदै गएको थियो । स्पिडमा आउने सवारी साधनबाट जोगिन विकल्पको रुपमा जेब्रा क्रसिङलाई प्रहरीले प्राथमिकता दिएको थियो । बजारको पेन्टले पोत्ने र हप्ता दश दिन नहुँदै खुइलिएर जाने समस्याले सताएको थियो । कुन ठाउँबाट यात्रुले बाटो काट्छ भन्ने एकिन नहुँदा सवारी साधनपनि झुक्किन्थे । अहिलेको थर्मल पेन्टस जबसम्म पिच सडक रहन्छ तबसम्म नखुइलिने रसाइलीको भनाई छ । उहाँका अनुसार सडकको गिट्टी उध्रियो पिच बिग्रियो भने मात्रै पेन्ट जानेछ ।
थर्मल मेशिनबाट थर्मल प्लाष्टिक पेन्ट गरिएको छ । रंग भारतको राजस्थानबाट झिकाइएको हिमालको भनाई छ । उहाँले घोराहीको १४ र १५ का मुख्य बजार क्षेत्रमा पेन्ट लगाइएको जानकारी दिनुभयो । ठूला चोक, वडा प्रहरी तथा वडा कार्यालय, नेपाल बैंक आसपासमा रोड लाइन पनि दिएको छ । अन्य क्षेत्रमा जेब्रा क्रसिङ बनाएर पैदल यात्रुलाई बाटो काट्न सजिलो पारिएको छ । न्यूरोड तथा नेपाल बैंक अगाडि लगायत पहेंलो रोड लाइन भएका ठाउँमा रेखा नमिच्न प्रहरीले भनेको छ । रेखा मिचेर सवारी पार्किङ गरे जरिवाना गरिने जिल्ला टाफिक प्रहरी प्रमुख थम्मन जिसीले बताउँदै आउनुभएको छ । सवारी चालकपनि सजक हुँदै जथाभावी पार्किङ गर्न छोडेका छन् ।
बजार भरी धेरै ठाउँमा जेब्रा क्रसिङ बनाउन उपभोक्ता समितिका सदस्य रसाइली खटिनुभएको थियो । अनिल सेर्पाइलीको अध्यक्षतामा गठित समितिले घोराही उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिको बजेटबाट काम अघि बढाएको थियो । पकाएर रङ लगाउने डिबिएसटी सिष्टम हो, रसाइलीले भन्नुभयो, पहिलो पटक यो मेशिन आएको छ । अब रङ चाँडै उध्रिन्न । उहाँका अनुसार बजेटले धानेसम्म बजारका धेरै ठाउँमा बनाइएको छ ।
सेतो बीचको ठूलो धर्का पैदल यात्रुलाई बाटो काट्न बनाइएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै जसो चोकमा जेब्रा क्रसिंङ बनेका छन् र त्यसैबाट पैदल यात्रुले बाटो काट्नु पर्नेछ । वरपर हेरेर सवारी नचलेकाबेला पैदल यात्रु हिंड्नुपर्ने छ । त्यस क्षेत्रमा गुड्ने सवारीले गति सिमित पार्ने र पैदल यात्रु देखेपछि बाटो नकाट्दासम्म रोक्नुपर्ने छ । सवारी र पैदल यात्रु दुबैले अनुशासीत हुनुपर्नेछ ।
सडकको फराकिलो अवस्था अनुसार किनारामा पहेंलो रेखा कोरिएको छ । साँघुरोमा पार्किङ निषेध गरिएको छ । नेपाल बैंक अगाडि निषेध गरिएको प्रमुख जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल बैंकको पश्चिम तर्फको एक साइडमा साना गाडी तथा मोटरसाइकल पार्किङ गर्न मिल्ने बनाइएको छ । न्यूरोड फराकिलो भएकाले मोटर साइकल तथा साना सवारी साधन पार्किङ गर्न मिल्ने गरी रेखांकन गरिएको छ । यसैगरी राप्ती स्वाथ्य विज्ञन प्रतिष्ठान अगाडि मुलगेट नजिक पनि साना गाडी अड्याउन मिल्ने क्षेत्र छुट्याएको छ ।
लाइनिङपछि सडकमा गाडी चलाउन सजिलो हुनेभयो । प्रमुख जिसीले भन्नुभयो, ‘अब गलत पार्किङ गरेको भेटाएपछि कार्वाही गर्छौं ।’ उहाँका अनुसार अब रेखा भन्दा जथाभावी पैदल यात्रुले पनि बाटो काट्न पाइने छैन । रेखा कोरिएको भन्दा भित्र पार्किङ गर्न सवारीलाई पनि निषेध छ । गुडिरहेको सवारी रोक्ने पाइने छैन । लाइन हेरेर अनुशासित हुनुुपर्ने छ । त्यसो नगर्ने सवारीलाई नियम अनुसार ट्राफिक कार्वाही गरिने प्रहरीको भनाई छ । रेखांकनले अनुशासन सिकाउने छ । नियम पालना गरे दुर्घटना न्यूनिकरण हुने छ ।
घोराहीका सडकमा पटकपटक जेब्रा क्रसिङ बनाउने प्रयोगमा नआउदै मेटिने क्रमले लामै समय सतायोे । घोराही १५ ले अघिल्लो वर्ष मिलन चोक क्षेत्रमा झिलिमिली पारेको थियो । वडा सदस्य दीलिपकुमार डिसी लगायतले निकै मेहनत गर्नुभयो । त्यो रङ पनि लामो समय टिकेन । केही समय अघि घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेय सहितको टोलीले जिल्ला प्रहरी कार्यालय, शहिद गेट लगायत केही ठाउँमा जेब्रा क्रसिङ बनायो । त्यसमा जिल्ला प्रहरी प्रमुख गणश चन्दले निकै चासो दिनुभयो । वडा प्रहरी प्रमुख दिनेश रिमालको टिमले खुबै मेहनत गरेर बनायो । त्यो पनि छोटै समयमा मेटियो । वडा प्रहरी कार्यालय प्रमुख दिनेश रिमाल आफै खट्नु भएको थियो । यस अघि ट्राफिक प्रहरीले पनि पटक पटक प्रयास गरेको थियो । मानिसहरु सिक्दै गर्दा रेखा मेटिएर हराउने गरेको थियो ।
अहिले मेसिनबाट लगाइने राम्रो रङ प्रयोगमा ल्याएको उपभोक्ता समितिले जानकारी दिएको छ । घोराही उपमहानगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक एवं घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीले मेशिनबाट मात्रै काम गर्न भनेपछि केही समय ढिला भएकोे रसाइलीले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष डाँगीकै निर्देशन अनुसार काम थालिएको हो । दिर्घकाल टिक्ने र खर्च गरेको उपलब्धी देखिने बनाउने सोंच पुरा भएको छ ।
यसरी जेब्रा क्रसिङले दुर्घटना न्युनिकरण हुने र सडकमा सभ्यता बढ्ने संयोजक डाँगीको भनाई छ । घोराही १४ का अध्यक्ष समेत रहनुभएका डाँगीका अनुसार सवारी चालक तथा पैदल यात्रुले जेब्रा क्रस र रोड लाइनको पालना गर्ने छन् भन्ने विश्वास उपमहानगरपालिकाले लिइएको छ । आवश्यक परे अरु ठाउँमा पनि जेब्रा क्रसिङ बनाउने छ ।