• आश्विन १३ २०८१, आईतवार

म कति भाग्यमानी !

बैशाख ६ २०७८, सोमबार

भाग्य पूर्वजुनीमा पनि हुँदैन । भाग्य पुनर्जुनीमा पनि हुँदैन । भाग्य यही जुनीमा हुन्छ । किनकि, यसको खोजी र उपयोग यही जुनीमा गर्न सक्नु पर्छ । भाग्य विचारमा हुन्छ, सोचमा हुन्छ, भावनामा हुन्छ र यही पार्थिव शरीरमा ।

भाग्य कर्ममा हुन्छ । कर्म सकारात्मक सोचले मात्र संभव हुन्छ । कर्म भनेको काम हो, यो कुनै पनि पूर्वजन्मको लिखत होइन । यो जन्मदाको दिन भावीले निधारमा लेखेको लेखोट पनि होइन । यो मानिसमा रहेको सोच, विचार र मनोभाव अनुरुपको मनुष्य कर्म हो । यसका लागि मनुष्यको सोच र तदनुरुपको कर्मसिद्धिका लागि साधनका रुपमा शरीर हुनु मात्र पर्याप्त हुन्छ ।

यसका लागि निम्न कुरा मनन् गरौं :

१. यो संसारमा अल्पायुमा मर्नेहरु धेरै छन्, म त हालसम्म बाँचेकै छु ।

२. यो संसारमा आँखा नदेख्ने कति छन् कति, तर मेरा दुबै आँखा सद्दे छन् ।

३. यो संसारमा केही त बोल्न नसक्ने पनि छन्, तर म बोल्न सक्छु ।

४. यो संसारमा बिकलांग पनि छन्, तर म सबलांग छु ।

५. यो संसारमा पढ्न र लेख्न नपाउने धेरै छन्, तर मैले पढ्न र लेख्न पाइरहेको छु ।

६. यो संसारमा घर नहुने धेरै छन्, तर मेरो आफ्नो घर छ ।

७. यो संसारमा पेटभर खान नपाउने धेरै छन्, तर मैले दैनिक पेटभर खान पाएको छु ।

८. यो संसारमा मुटु, कलेजो, फोक्सो, मृगौला आदिमा रोग लागेर दुःख पाइरहेका धेरै छन्, तर मेरा ती सबै अंग सद्दे छन् ।

९. मेरा साथीभाइ, छरछिमेक, इष्टमित्र सबै छन् ।

१०. मेरो इच्छाशक्ति छ, काम गर्न सक्ने ताकत र साहस छ, अनि मेरा लक्ष्य र उद्देश्यहरु छन् ।

११. म दैनिक योजनामा काम गरिरहेको छु अन्यथा सोच्ने मलाई फूर्सद नै छैन ।

१२. मैले कामहरु पूरा गर्ने समय नै पाएको छैन । दिनदिनै मेरो दिमागमा हरिया लहरा लहराउने गर्छन्, फूलहरु फूल्ने गर्छन् र दैनिक नयाँ संसारलाई मैले चियाइरहन्छु ।

१३. काम गर्दागर्दै मैले भुलेको छु म कति वर्षको भए भनेर, बरु एउटा काम सकेर अर्को गर्न समय नै पुगिरहेको छैन ।

१४. मैले पारिवारिक कलह के हो थाह पाएको छैन, छिमेकी त मसँग हाँसीखुशी रहेका छन् ।

१५. संसार सिर्जना रहेछ, संसार फूल्दो रहेछ, यिनै काममा मेरा सारा अंगप्रत्यंग, सिंगो शरीर र मन लगाउन पाइरहेको छु ।

म कति भाग्यमानी !