अमेरिका र उसको समर्थन, गठबन्धनमा रहेका देशहरु उत्तर कोरियाबारे निकै भ्रामक र कपोलकल्पित समाचार सामग्रीहरु प्रसारण र प्रकाशन गरिरहेका हुन्छन् । कहिले उनीहरु उत्तर कोरियालाई तानाशाहको देश भन्छन् । कहिले उनीहरु त्यहाँ विकराल अनिकाल छ भनेर हल्ला गर्छन् । कहिले उनीहरु त्यहाँका नेता किमले आफ्ना जनतालाई सानो गल्तीमा पनि गोली हानेर हत्या गर्छन् भने अफवाह फैलाउँछन् । तर समय क्रममा यी सबै आरोपहरु मित्थ्या साबित हुँदै गएका छन् । हो, सन् १९५० देखि १९५३ सम्म चलेको युद्धमा उत्तर कोरियाको नेतृत्व गरेका किम इल सुङ नै उत्तर कोरियाका निर्माता र संरक्षक हुन् । उत्तर कोरियन अधिकारीहरुको दाबीमा उनीहरुले हाल पनि त्यहाँ समाजवादी व्यवस्था चलाइरहेका छन् ।
उनीहरुको भनाइमा समाजवादी व्यवस्थाको अभ्यास गरिहेका कारण त अमेरिकाले उनीहरुमाथि दमनको नीति अख्तियार गरिरहेको छ । किम इल सुङपछि लगातार किम जोङ उन (सुङका नाती) ले त्यहाँको शासनभार सम्हालिरहेका छन् । अमेरिकाले गरेको भीषण गोलाबारीको सामना गरेर उत्तर कोरियालाई बचाएका कोरियाली जनता आजसम्म पनि किमका सन्तानलाई आफ्ना अग्रज र संरक्षक मान्दछन् । भनिन्छ, कोरियाली युद्धमा अमेरिकाले ५ लाख कोरियालीको ज्यान लिएको थियो । त्यसकारण उत्तर कोरियालीहरु अमेरिकालाई ‘ज्यानी’ र ‘स्थायी’ दुस्मनको रुपमा लिन्छन् । आफूहरुमाथि बम बर्साइरहेको अमेरिकालाई जब कोरियनहरुले लखेटे, तब अमेरिकाप्रति उनीहरुको कहिल्यै पनि सकारात्मक बुझाइ रहेन । युद्धको समाप्तिपछि पनि अमेरिकाले उत्तर कोरियालाई बिघटन गर्न र सिध्याउन धेरै कोशिस गर्यो र गरिहेको छ पनि ।
अमेरिकी बम हमलाबाट देश बचाउन सफल भएका कोरियालीहरु आफ्नो समृद्धि आफै गर्न तम्सिए र अमेरिकाको इखले पनि आत्मनिर्भर बन्दै गए । भनिन्छ, उत्तर कोरियली जनता अमेरिकामा बनेका कुनै पनि सामान प्रयोग गर्दैनन् । जापानको अधीनमा रहेर अनिकाल, अभाव र नर्कको जीवन बाँचिरहेका कोरियालीे बिस्तारै कृषिमा आधुनिकीकरण गर्न थाले । बिस्तारै उनीहरुले कृषिमा आधारित उद्योग खोल्न थाले । आफ्नै देशका कुनाकन्दरामा रहेका खानीहरु खोज्न र उत्खनन् गर्न थाले । पश्चिममा विसाल चीन, रुस र पूर्वमा समुद्र पारी कुनै बेलाको साम्राज्यवादी जापानको बीचमा तथा दक्षिणमा अमेरिकाको नियन्त्रणमा रहेको दक्षिण कोरियाको आडमा रहेको १,२०,५४० किलोमिटर क्षेत्रफल रहेको सानो मुलुक हो, उत्तर कोरिया ।
अमेरिकाको उक्साहटमा उत्तर कोरियमाथि हमला गर्न आएका दक्षिण कोरियाली सैनिक माथिको प्रतिरोधबाट सुरु भएको कोरिया–युद्ध २५ जुन १९५० मा सुरु भई ३ वर्षसम्म निरन्तर चलेको थियो । दोस्रो विश्वयुद्ध पछिको शीत युद्धकालमा लडिएको पहिलो महत्वपूर्ण युद्ध थियो, कोरियाली युद्ध । कोरियाली युद्ध बिना निर्णय नै समाप्त भएको थियो । तर ठूलो जनधनको क्षतिका बीच २ कोरिया विभाजन भए । दोस्रो विश्वयुद्ध पछिको कोरियाली युद्ध लगत्तै १५ अगस्ट १९४५ मा जापानको उपनिवेशबाट उत्तर कोरिया मुक्त भयो । युद्धमा उत्तर कोरियालीलाई रुस, चीन लगायतका देशले समर्थन गरेका थिए भने दक्षिण कोरियालाई अमेरिका र उसका गठबन्धन देशहरुले ।
युद्धको समाप्तीसँगै दुवै कोरिया जापानी उपनिवेशबाट मुक्त त भए, तर दक्षिण कोरिया अमेरिकाको नियन्त्रणमा रह्यो (हालसम्म पनि) भने उत्तर कोरियालाई साथ दिएको रुसी सेना उत्तर कोरियाबाट फिर्ता भयो । भनिन्छ, दक्षिण कोरियामा हाल पनि ४० हजार अमेरिकी सेना रहेका छन् । उत्तर कोरिया तथा चीन, रुसविरुद्ध जासुसी गरिरहेको छ र उत्तर कोरियातिर हतियार तेस्र्याएर बसिरहेको छ । युद्धको समाप्तीपछि पनि अमेरिकी सेना हालसम्म दक्षिण कोरियामै बसेर उत्तर कोरिया, चीन र रुसविरुद्ध लागिरहनुले अमेरिका साँच्चिकै आफ्ना विरोधी देशहरुलाई सधैं दबाबमा राख्न चाहन्छ भन्ने पुष्टि भएको छ ।
अमेरिका किन यस्तो गर्छ त ?
जापानले आत्मसमर्पण गरेसँगै कोरिया युद्धको अन्त्य भयो । युद्ध अन्त्यपछि सोभियत संघले उत्तर तर्फको हिस्सा नियन्त्रणमा लियो भने अमेरिकाले दक्षिण तर्फको हिस्सा नियन्त्रणमा लिएको थियो । सोभियत संघले उत्तर कोरियाली नेता किम इल सुङलाई उत्तरको भूभाग जिम्मा दिएर फर्कियो भने दक्षिण कोरियामा हालसम्म पनि अमेरिका बसिरहेको छ । दक्षिण कोरियाली सरकार हाल पनि अमेरिकाको इशारा र नियन्त्रणमा चलिरहेको छ । कोरिया युद्धको समाप्तीपछि उत्तर कोरियामा किम इल सुङको नेतृत्वमा समाजवादी सत्ताको स्थापना भयो भने दक्षिण कोरियामा कम्युनिष्टविरोधी पुँजीपतिहरुको सत्ता स्थापना भयो । अमेरिकी बर्चस्वमा रहेको संयुक्त राष्ट्र सुरक्षा परिषदको अनुमोदनपछि उत्तर कोरियाबाट दक्षिणलाई बचाउन भन्दै दक्षिण कोरियामा सेना तैनाथ गरेपछि युद्ध झन चर्केको बताइन्छ । कोरियाली युद्धमा संयुक्त राष्ट्रमा आबद्ध अमेरिकासहित २१ देशका सेना उत्तर कोरियाविरुद्ध लड्न गएका थिए ।
हालको उत्तर कोरिया :
विगत ३६ वर्षदेखि अमेरिकाले उत्तर कोरियामा नाकाबन्दी गरिरहेको छ । खासगरी रुस र चीनको सहयोग र समर्थनमा रहेको स्वतन्त्र मुलुक उत्तर कोरियामाथि अमेरिकाले सधै गिद्दे नजर लगाइरहेको छ । अमेरिकी नाकाबन्दीका बाबजुद पनि उत्तर कोरियाली आफ्नै बलबुतामा बाँचिरहेका छन् र अमेरिकालाई नै टक्कर दिने गरी प्रविधि र हतियारको विकास गरिरहेका छन् । जब दुष्मनले सताउँछ, तब उसलै आफै र आफ्नै खुट्टामा उभिने प्रयास गर्छ, यस्तै गरेको हो उत्तर कोरियाले । अहिले त उत्तर कोरियाली यति विकास गरिरहेका छन् कि, उनीहरु अमेरिकाको होइन, आफ्नै इन्टरनेट प्रयोग गर्छन् । सामूहिक खेती प्रणालीमा रमाएका उनीहरु खाद्यान्नमा पनि आत्मनिर्भर भएका छन् । कोरिया युद्धको नेतृत्वको गरेका किम इल सुङका नाती किम जोङ उन त्यहाँका सर्वोच्च नेता छन् । कम्युनिस्टको नाममा उनीहरु पारिवारिक शासन चलाइरहेका छन् भन्ने आरोपको उनीहरु खण्डन गर्दै आएका छन् ।
उनकै नेतृत्वमा त्यहाँ अमेरिकालाई टक्कर दिने हतियार कारखाना पनि सञ्चालनमा छ । तानाशाहको देश भनेर हल्ला गरिहेका र अमेरिकालाई नै महान ठान्ने पश्चिमा र भारतीय केही मिडियाले पनि उत्तर कोरियामा अनिकाल लागेको, मानिसहरु रोगले मरिरहेका र आफ्नो विरोध गर्नेलाई किमले नै गोलीले उडाउने गर्छ भन्ने अफवाह फैलाइएको उत्तरमा शिक्षा प्रणाली वैज्ञानिक र प्रविधिमा आधारित रहेको, जनताको स्वास्थ्य राज्यले जिम्मा लिएको र सकेसम्म स्वदेशमै आफ्ना युवालाई रोजगारी दिइरहेको कुरा पनि प्रचारमा आएका छन् । खासगरी उत्तर कोरिया भ्रमणमा गएर आएका नेपाली बौद्धिकहरुको यस्तो भनाइ रहेको छ । हो, अमेरिकाको हस्तक्षेपविरुद्ध देश र जनतालाई बचाउनका लागि के के गर्नुपर्छ ती सबै उपाय उत्तर कोरियाले अपनाएको छ । उसले क्षेप्यास्त्र र मिसाइलदेखि सबै हतियार उत्पादन गरिरहेको छ । उसले पुरानो दुश्मन जापान र समुद्र पारिको दुश्मन अमेरिकासित पौंठेजारी खेलिरहेको मात्रै छैन, उनीहरुलाई तर्साएका छन् ।
सही विचार, सहासी नेतृत्व र नीति, कार्यक्रम र आत्मविश्वासी जनताको साथ पाएपछि जस्तोसुकै ठूलो दुश्मनलाई पनि परास्त गर्न सकिन्छ भन्ने कुरा उत्तर कोरियाले पुष्टि गरिदिएको छ । भनिन्छ, हाल त्यहाँका सर्वोच्च नेता किम जोङ उनलाई मार्नका लागि अमेरिकाले धरै जासुस परिचालन गरिरहेको छ । तर जनताको साथ, कर्मचारी र जनसेनाको कडा निगरानीका कारण उनलाई मार्न अमेरिकी प्रशासन असफल भइरहेको छ । अमेरिका उनीहरुको नीति, नेतृत्व र प्रविधिबाट अत्तालिएर किमसित वार्ता गर्न तयार भएको छ । गत वर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आह्वानमा भियतनाममा वार्ता गर्न पुगेका किमले अमेरिकालाई वार्तामा पनि हराइदिएका छन् । वार्तामा अरु सब मानिन्छ, तर हतियार बनाउने कारखाना नष्ट गर्न सक्दिन भन्ने जवाफ पाएपछि ट्रम्पसितको वार्ता भङ्ग भएको हो ।
हो उत्तर कोरियालाई महाशक्ति रुस र उदाउँदो चीनको पूर्ण समर्थन छ । अमेरिकाको बुझाइ रहेको छ, उत्तर कोरियालाई निशस्त्रीकरण गरिए चीन र रुसलाई कमजोर बनाउन सकिन्छ । तर उत्तरलाई निशस्त्रीकरण गर्न अमेरिकालाई निकै कठिन छ । र पहिले झैं हमलाबाटै उत्तरलाई सिध्याउन खोज्ने हो भने अमेरिका पत्तासाफ हुनेछ । किनकि प्रविधि र हतियारको विकास अमेरिकाले मात्रै गरेको छैन । अमेरिकालाई टक्कर दिनेगरी हतियारको उत्पादन उत्तरले पनि गरेको छ । विश्व राजनीतिको पछिल्लो अवस्थाको व्याख्या गर्नेहरुले अमेरिका राजनीतिक हिसाबले एक्लिदै गएको र आर्थिक हिसाबले पनि कमजोर बन्दै गएको बताइरहेका छन् । त्यसकारण ओरालो लागेको अवस्थामा अमेरिकाले उत्तर कोरियालाई नजिस्क्याएकै राम्रो हुनेछ । किनकि यदि उनीहरुका बीचमा झडपको अवस्था आयो भने त्यो घटनाले विश्वलाई नै २ भागमा विभाजित गरिदिन्छ र त्यसको परिणाम सकारात्मक भन्दा पनि नकारात्मक हुन आउने देखिन्छ ।
कोरोनासित लडेको उत्तर कोरिया :
संसारभर आतङ्क मच्चाइरहेको नोभेल कोरोना भाइरसले उत्तर कोरियामा असर नगरेपछि यसबारेमा अनेकन चर्चापरिचर्चा भैरहेको छ । कतिपयले चीनबाट उत्पत्ति भएको कोरोनाले छिमेकी उत्तरलाई किन असर गरेन भनिरहेका छन् । त्यहाँको सरकारले कोरोनाले मान्छे मरेको घटना गुपचुप राखेको छ भन्ने आरोपसम्म पनि लगाए । सूचना र प्रविधियुक्त जमानामा त्यसरी घटना गुपचुप रहनु सम्भव थिएन र छैन पनि । तर विद्यार्थीदेखि कर्मचारी, सेना, जनता समेत अनुशासनमा रहने र हरेक कुरा विधि र प्रक्रियामा चल्ने भएकाले त्यहाँ मानिसको आउजाउलाई व्यवस्थित गर्न सम्भव भयो । दैनिक कामकाज सुचारु रहे तर मानिस सभ्य र व्यवस्थित हुँदै कोरोनासम्बन्धी निमयको पूर्ण पालना गरे । फलस्वरुप कसैमा पनि कोरोनाको संक्रमण देखिएन ।
यदि कोरोना देखिएका खण्डमा पनि उनीहरुले उपचारको व्यवस्था गरिसकेका थिए । कोरोना भाइरसको सर्न नदिनका लागि उनीहरुले चीनसितका मुख्य नाकाहरु बन्द गरेका थिए । अघिल्लो वर्ष चीनबाट फैलिएको भनिएको कोरोनाले संसारभर उधुम मच्चाइरहँदा उत्तर कोरियाका अधिकारीहरु अन्तराष्ट्रिय समाचार एजेञ्सीसितको कुराकानीमा आफ्नो देशमा कसैलाई पनि कोरोना संक्रमण नभएको बताइरहेका थिए । ती अधिकारीका भनाइमा संक्रमण रोक्नका लागि उनीहरुले सुरुदेखि नै सक्रियतापूर्वक वैज्ञानिक कदमहरु चालिरहेका थिए । विदेशबाट आएकाको स्वास्थ्य जाँच र क्वारेन्टाइनमा राख्नु, सबै सामानलाई पूर्णरुपमा सेनिटाइज गर्नु, जल सिमाना, स्थल सिमाना र वायु सीमाना बन्द गर्नुजस्ता कार्यलाई उनीहरुले पूर्वसावधानीको रुपमा लिएका थिए ।
गत वर्ष बीबीसी सितको एक अन्तरवार्तामा दक्षिण कोरियामा रहेका अमेरिकी सेनाका एकजना अधिकारीले उत्तर कोरियामा त्यसरी कोरोना संक्रमण नभएको भन्ने हल्ला सत्य नभएको बताएका थिए । तर उत्तरमा कोरोनाले संक्रमण गरेको समाचार हालसम्म पनि आएको छैन । हो, उत्तर कोरियाले कोरोना संक्रमण रोक्नका लागि अन्य देशको तुलनामा प्रभावकारी कदम चालेकै थियो । र त्यो कदम हाल पनि लागु भएकै अवस्थामा छ । उत्तर कोरियाले २०२० को जनवरीमै चीन लगायतका देशसितका सीमा नाका बन्द गरेको थियो । त्यतिमात्र होइन, राजधानी प्योङयाङमा आउने विदेशीलाई पनि त्यतिबेला देखि नै क्वारेन्टाइनमा राख्न सुरु गरेको थियो ।
जति बेला चीनमा कोरोना भाइरसको सङ्क्रमण तीब्ररुपम फैलिइरहेको थियो । एनके न्युज रिपोर्टका अनुसार उत्तर कोरियाले आफ्ना १० हजारभन्दा बढी नागरिकलाई आइसोलेशनमा राखेको थियो । उत्तर कोरियाविरोधी सञ्चार माध्यमहरुमा उसका बारेमा आएका समाचारहरु जस्तै के उत्तर के तानाशाहले चलाएको विभत्सतायुक्त देश हो ? त्यसो होइन । उत्तर कोरियाका मानिसहरु शिक्षित छन् । उनीहरु पनि मानिस हुन् । उनीहरु पनि खाना खान्छन् । उनीहरुको पनि विवेक छ । विवेक छ र त अमेरिकी दादागिरीबिरुद्ध मिसाइल तस्र्याएर स्वीच हातमा लिएर बसेका छन्, होइन र ? हो त्यसकारण अकन्टक भनेर दुष्प्रचार गरिएको उत्तर कोरियाली धेरैलाई कोरोना भाइरसको बारे राम्रैसँग जानकारी छ । हो, उत्तर कोरियाली जनतालाई अमेरिका दुश्मन ठान्दछ, त्यहाँका नेता किमलाई ‘यमराज’ झैं ठान्दछ ।
कोरियालीहरु समृद्ध जिन्दगी बिताइरहेका छन् र पनि कसैको सुखी जिन्दगीमा अमेरिकालाई किन डाह हुन्छ ? किन छाती पोल्दछ ? किनकि अमेरिका आफू बाहेकका सबैलाई कमजोर कमसल ठान्दछ । विशेषज्ञहरु भन्छन्, उत्तर कोरियामा अन्य देशको तुलनामा स्वास्थ्य सुविधा राम्रो छ । अन्तरराष्ट्रिय समाचार विश्लेषक फ्योडरका अनुसार उत्तर कोरियाले ठूलो संख्यामा आफ्ना डाक्टरहरुलाई तालिम दिएको छ, र ती डाक्टरहरु पश्चिमी देशको तुलनामा कम योग्य छन्, उनीहरुले कम सेवा सुविधा पाउने गर्छन् तर यसका बावजुद पनि उनीहरु आफ्ना नागरिकको रेखदेख एकदमै राम्रोसँग गर्न सक्छन् । उत्तर कोरियाको स्वास्थ्य सुविधाको बारेमा फ्योडरको भनाइमा आलिव हाटम पनि सहमत छन् । उत्तर कोरियाका डाक्टर सक्षम भए पनि कोरोना भाइरससँग लड्न मेडिकल उपकरणको विकासलाई बढाउनु पर्ने हाटमको भनाइ रहेको छ ।
दोस्रो लहर पनि जित्ला कोरियाले ? :
विश्वले नोभेल कोरोना भाइरससित जुध्न थालेको १ वर्षभन्दा बढी भएको छ । स्वास्थ्य, शिक्षा, सुरक्षा लगायतका अतिआवश्यकीय वस्तुहरुमा अब्बल मानिएको कोरियाको राज्य प्रणालीले यसवर्ष पनि संसारमा फैलिएको कोरोना संक्रमणविरुद्ध जुध्न सक्ला वा संक्रमण फैलिएर जाला ? यो प्रश्न अरुको जस्तै उसका सामु पनि उभिएको छ । यस वर्ष पनि बेलायत लगायतका पश्चिमा मुलुक तथा भारतमै पनि कोरोना दोस्रो लहरका रुपमा फेरि आइसकेको छ । नेपालमा पनि यसको प्रभाव देखिइसकेको छ ।
तिब्ररुपमा कोरोना फैलिरहेको भारतसित नेपालको सिमा जोडिएको छ । त्यसकारण फेरि पनि पोहरसालको जस्तै कोरोनाको लहर आएका विश्वका गरिब देशहरुको हालत के होला ? प्रश्न उठिरहेका बेला कोरोनासित विजय प्राप्त गरेको उत्तर कोरियाले अब पनि त्यसैगरी कोरोनासितको लडाइँ जित्ला ? प्रश्न खडा भएको छ ।