• मंसिर १२ २०८१, बुधबार

‘मलाई गुलाब देऊ, म गुलाबी मुस्कान दिन्छु’

बैशाख ६ २०७८, सोमबार

ओठले मानिसको उमेर जनाउँछ । यसले उमेरको यथार्थता संकेत गर्छ । ओठ आफैमा बौद्धिक, शरीरिक, मनोवैज्ञानिक र भावनात्मक अभिव्यक्ति हो । शरीरको भाषा अर्थात् ‘बडी ल्याङ्वेज’ मा सबैभन्दा बढी भूमिका निर्वाह गर्ने भाग भनेको ओठ हो । यसले निर्देशन दिने, सहमति जनाउने, खिल्ली उडाउने, गंभीरता प्रकट गर्ने, अस्वीकृतिको संकेत गर्ने, रिस वा आवेग अभिव्यक्त गर्ने, थकाइ, अनिद्रा वा मनोविनोद आदिको स्पष्ट संकेत गर्दछ ।

प्रकृतिले ओठलाई शरीरका विभिन्न अंगहरुमा निकै आकर्ष, भिन्न र विशिष्ट आकृति र रङ दिएको हुन्छ । यो मानिसको अर्ध–बाह्य र अर्ध–आन्तरिक अंग हो । यो न बाहिरको छालाजस्तो हुन्छ, न त शरीर भित्रको छाला झैं । बरु यो बाहिरी र भित्री दुवैको समिश्रित तन्तुले बनेको हुन्छ ।

Flexibility

यो कडा हुँदैन, बरु अति लचिलो हुन्छ । यसमा तन्कने क्षमता अत्यधिक हुन्छ । यसको मांसपेशी पनि निकै क्रियाशील, बलिष्ठ र लिगामेन्ट प्रकृतिको हुन्छ । यो पूर्णपरिचालित र पूर्णरुपमा स्वचालित पनि हुँदैन, बरु अर्धपरिचालित र अर्धस्वचालित हुन्छ ।

त्यति मात्र होइन, ओठको जीवन्त सम्बन्ध शरीरको बाह्य तथा आन्तरिक भागसँग रहेको हुन्छ । यो आफैमा निकै सम्वेदनशील हुन्छ । ओठमा हुने स्पर्शले शरीरको भित्री तथा बाहिरी भागहरुका क्षणभरमै करेन्टरुपी सञ्चार प्रवाह गर्दछ । यो अति संवेदनशील ‘टावर’को भूमिकामा हुन्छ ।

पछिल्लो समयमा ओठलाई यसको भूमिकाका हिसाबले भन्दा पनि सौन्दर्यका हिसाबले लिन थालिएको छ । यो निकै ‘आर्टिफिलसियल’ मात्र हो, यसमा प्राकृतिकता पाइँदैन । तर पनि वर्तमान सौन्दर्य प्रशाधन प्रयोगको जमानामा यसलाई इन्कार गर्न सकिने अवस्था भने छैन । बरु के गर्दा ओठमा प्राकृतिक सौन्दर्य आउँछ, जो उमेर ढल्किंदासम्म पनि दीगो रहिरहन्छ, यसको बारेमा केही उपायहरुबारे जानकारी लिऔं :

१. ओठलाई गुलाबी, मुलायम र चिल्लो बनाउन ओठको कालोपन हटाउन, ताजा गुलाबका पातहरुलाई पिसेर त्यसमा ग्लिसिरिन वा स्थानीय घ्यु मिलाएर दैनिक रातमा सुत्नुभन्दा अघि ओठमा लागाउनु पर्छ ।
२. कागतीको रस र नरिबलको तेल लगाउनाले ओठको कालोपन हट्छ । ३. बदामको धूलोमा एक चिम्टी खाने सोडा मिसाएर सुत्नुभन्दा अघि लगाउनाले ओठमा चिल्लो र नरमपना आउँछ । यो लेपन नाभी र तालुमा पनि लगाउनु पर्छ ।

४. मैनलाई स्थानीय घ्युमा तातो बनाउँदै पगालेर लगाउनाले जाडोमा सुख्खा र पाप्रा निस्कने ओठमा नरम र ताजापन आउँछ ।
५. बदाम घोटेर लगाउनाले मात्र पनि ओठ चम्किलो हुन्छ ।
६. निमको बोक्रा पिसेर लेप लगाउनाले पनि ओठमा सौन्दर्य आउँछ ।
७. नुहाउनुपूर्व बदामको तेल लिएर हत्केलामा केही बेर रगडेर ओठ निकै हल्का किसिमले मालिस गरेर नुहाएमा ओठमा साबुन, स्याम्पु आदि परे पनि ओठको प्राकृतिकपन हराउँदैन ।

८. एकचम्चा दूधमा कागतीको रस र अलिकति दही मिसाएर ओठमा लगाएर पाँच मिनेटपछि धोएमा ओठ सफा र चम्किलो देखिन्छ ।
९. गुलाबका पात दिनदिनै नपाए पनि हप्तामा एक पटक मात्र भए पनि पिसेर ओठमा लगाएमा ओठमा प्राकृतिक चमक रहिरहन्छ ।
१०. टमाटरको रसमा नौनी मिलाएर लेपन गर्नाले ओठ फुट्दैन र ओठको लाली बसिरहन्छ ।

११. टमाटरको रसमा पानी मिसाएर मुख कुल्ला गर्नाले मुख गन्हाउने कम हु्ँदै जानुका साथैै मुखमा भएका खटिरा निको हुन्छ ।
१२. दिनमा सुत्नु अघि दुई दाना बदाम खाने बानी बसालेमा ओठमा चिल्लोपना रहिरहन्छ र घाँटीमा खटिरा आउँदैन ।
१३. स्थानीय घ्युलाई तताएर मनतातो अवस्थामा ओठमा लगाएपछि ओठमा आएका माम्रा उप्कन थाल्छन् ।


१४. चन्दन घोटेर नौनीसित ओठमा लगाउनाले ओठमा पुष्टता आउँछ, चाउरीपन हट्छ ।
१५. राती सुत्ने बेलामा नाभी र नाकमा सस्र्युको तेल मालिस गर्नाले ओठको सुख्खापन हट्छ ।