काठमाडौँ। राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि शानदार जित निकालेको छ। सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको हो । जितका लागि ११० रनको लक्ष्य पछ्याएको नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै ११३ रन बनायो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । कुशलले ६१ रन प्रहार गरे । आसिफले ४२ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ६ रन बनाए । मलेसियाका लागि भिरनदिपसिंहले एक विकेट लिए ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा १० विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।
मलेसियाका लागि साद आजिजले २७ रन बनाए । अनवार अर्दिनले ८, अहमद फाइजले ३, भिरेनदिप सिंहले ६, शार्विन मुनियान्डीले २०, शाफिक शारिफले १५ रन जोडे । यस्तै, अमिनुद्दीन राम्लीले ५, खिजार हायातले ४, साजरुल उर्दिसुले ८, अनवार रहमानले १ र पवनदिप सिंहले शून्य रन बनाए ।
नेपालका लागि करन केसीले सर्वाधिक तीन विकेट लिए । सन्दिप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एक/एक विकेट लिए ।
शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।